Harsamaya
अस्थायी भवनमा सारियो बागमती प्रदेशको ६ मन्त्रालय

हेटौँडा - बागमती प्रदेशका ६ वटा मन्त्रालयलाई अस्थायी भवनमा सारिएको छ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेका मन्त्रालयहरूको सेवा प्रवाह र विकास निर्माणको कामलाई निरन्तरता दिन प्रदेशका मन्त्रालयहरूलाई अस्थायी भवनहरूमा स्थानान्तरण गरिएको हो । 

आगजनीबाट क्षति पुगेका८ वटा  मन्त्रालयमध्ये ६ वटालाई अस्थायी रूपमा कार्य प्रारम्भ गर्न सरकारी स्वामित्वका भवनहरूमा स्थानान्तरण गरिएको छ । 

हेटौँडाको चौकी टोलस्थित एउटै भवनमा सञ्चालित ४ वटा मन्त्रालयलाई विभिन्न सरकारी भवनहरूमा सारिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई हेटौँडा–१ स्थित चाइना क्वाटरमा रहेको कृषि निर्देशनालयमा सारिएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको चौरमा निर्माण गरिएको उद्योग, वाणिज्य तथा उपभोक्ता हित निर्देशनालयको नवनिर्मित उद्योग उपज प्रदर्शनी केन्द्रको भवनमा स्थानान्तरण गरिएको छ । 

खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयलाई सिँचाइ डिभिजन कार्यालयको क्वाटरमा सारिएको छ भने भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सहरी विकास तथा भवन कार्यालयको नयाँ भवनमा सारिएको छ । 

चार मन्त्रालय रहेको उक्त भवनमा आगलागीका कारण क्षति पुगेकाले विज्ञ टोलीले ‘पहेँलो स्टिकर’ टाँसेर मध्यम जोखिमयुक्त घोषणा गरेको छ । उक्त भवनलाई पुनर्स्थापना गर्न ‘रेट्रो फिट’ गर्न सुझाव दिइएको छ ।

नागरिकको सेवा अवरुद्ध हुन नदिन सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय रहेको पुरानो भवनबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य मन्त्रालयलाई हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको चौरमा निर्माण गरिएको उद्योग, वाणिज्य तथा उपभोक्ता हित निर्देशनालयको नवनिर्मित उद्योग उपज प्रदर्शनी केन्द्रको भवनमा सारिएको छ ।

आन्दोलनमा क्षति पुगेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई पहिलेकै भवनमा मर्मत गरेर सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ भने सामाजिक विकास मन्त्रालयलाई नजलेका कोठा र पुराना साना भवनमा सार्ने काम भएको छ । हाल ती भवनहरूमा मन्त्रालयका लागि आवश्यक फर्निचर, बिजुली र पानीजस्ता अत्यावश्यक पूर्वाधार व्यवस्थापनको काम भइरहेको छ । 

 

प्रकाशित मिति: बिहीबार, असोज १६, २०८२  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update