
विष्णु प्रसाद शर्मा त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्रोफेसर हुन् । उनी हाल अवकाश जीवन बिताइरहेका छन् । उनको बुबा (हरिप्रसाद शर्मा)को चित्रकलालाई समय दिन उनले अवकास लिएका हुन्। आफ्नो बुबाको चित्रकारितालाई प्रोत्साहन गर्न शर्मा हर तरहले प्रयासरत छन् । बुबााका लागि चित्र बनाउने ब्रसदेखि थिम सम्मबारे उनी छलफल गर्छन् । बुबालाई सल्लाह सुझाव दिन्छन् । बुबाका रंगहरुसँग खेल्ने कला नमरोस् भनेर हर सम्भव बुबालाई प्रेरणा दिन्छन् । भलै ब्रस हरि शर्माको चल्ला त्यसलाई चलाउने बनाउने सम्मको काम छोरा विष्णुले गरेका छन् । चित्रकारिताबाट दिक्क भएर ब्रससँग खेल्न ३०औं वर्षसम्म छाडेका हरिलाई महान् कलाकार बनाउन छोरा बिष्णुले के के गरे त ? उनकै शब्दबाट ।
बुबा ८८ वर्षको हुनुभयो। यो उमेरमा उहाँलाई अलि सघाउ भनेर अवकास लिएँ । म चित्रकलाको खाशै रुचि नभएको मान्छे । बुबाले २०२७/२८ सालतिर चित्र बनाउनुभएको देखे । २०३० सालमा उहाँलाई एउटा एक्जिविसन गर्नुपर्नेरहेछ । त्यो क्रममा घरमा उहाँ बिहान बिहान उठेर २/३ घण्टा समय निकालेर कलेक्सन बनाउनुहुन्थ्यो । उहाँको एक्जिविसन गर्नुरहेछ । त्यो एक्जिविसनको परिणाम त्यति सन्तोषजनक भएन । पेन्टिङहरू पनि कस कसले खाइदिए । त्यसपछि उहाँ फस्ट्रेस (निराश) हुनुभयो।
२०५२ सालमा आमा बित्नुभयो । त्यो बीचको २०/२२ वर्षामा खाशै चित्रकारिता गर्नुभएन । त्यो एकल जीवन उहाँको कसरी व्वयस्थापन गर्ने होला भन्ने चिन्ता मलाई थियो । त्यहीँ क्रममा उहाँले एउटा कोठा बनाउन लगाउनुभयो । त्यहाँ धार्मिक चित्रहरु कृष्ण, बुद्ध र उपनिषदका चित्रहरू बनाउनुभयो । त्यसपछि मलाई लाग्यो बुबासँग त अझै यत्रो क्षमता बाँकी रहेछ । बुबालाई मैले आग्रह गरे, नेवारी संस्कृति, सभ्यता हराएर गएको जनजीवनको केही चित्र उतार्न पाए हुन्थ्यो भनेर । म सबै कुरा जुटाउँछु बुबा १/२ वटा चित्र बनाउनु भने । तर, बुबाको जवाफ आयो, बाबु त्यो के काम छ र ? कसले अर्थ गर्छ र यी चीजको ?
यस्तो हैन होला मेरै लागि भएपनि बनाइदिनुन् बुबा भने । १/२ वटा चित्र बनाउन लगाए । उहाँको चित्रमा खासगरी ओएल पेन्टिङ चित्रमा चमत्कार देखेपछि म त धेरै उत्साहित भए । हैन बुबा अलिकित गर्दै जाउ थप गर्दै जाउ भने । इतिहास, जनजीवन, संस्कृति त्यो विस्तारै क्रमैसँग गर्दै गएपछि २०५९ साल सम्ममा २५ वटा चित्र तयार भए । त्यो समयमा हिमाल एसोसिएसनले एउटा एक्जिविसन गरिदियो । मेयर केशव स्थापितले एउटा बुक नै निकाल्दिनुभयो । त्यसपछि हाम्रो पनि उत्साह बढ्यो । हामीलाई आत्मविश्वास पनि बढ्यो । यो ३० वर्षको कालखण्डमा अहिले १०० वटा चित्रहरू बने ।
बुबाको त्यो हातमा लिने चित्रकलाको ब्रसमा जुन जादू छ, त्यो जादूले म पनि एकदमै बसीभूत भएको छु । उहाँको हातबाट सकेसम्म एक से एक कालजायी चित्रहरू कसरी बनाउने र नेपाली समाजलाई त्यो चित्रकलाको माध्यमबाट सुसंस्कृत जानकारी र पछिल्ला पुस्ताहरू २००/३००/४०० वर्ष सम्मपनि मान्छेले हामी कुन जगबाट आएका छौं ? कुन जराबाट आएका छौं ? त्यो बुझ्ने कुरा बनाउन सकिन्छ भनेर निरन्तर ३० वर्षदेखि बुबासँग लागिरहेको छु ।
उहाँले काम लगातार गर्दै जानुभएको छ । हामीले लगातार ५/६ वर्षमा एक्जिविसन गर्दै आएका छौं । ७६ सालमा एउटा एक्जिविसन भएपछि बीचमा कोभिड भयो । त्यो बेलामा पनि बुबाले निरन्तर कला साधना गर्नुभयो । १५/१६ वटा जति चित्र तयार भए ।
अब अहिले ८८ वर्षको हुनुहुन्छ । उमेरले एकदम कमजोर । अब कतिबेला के हुन्छ भन्न पनि नसकिने छ । त्यसैले मैले बुबा तपाईंको एउटा एक्जिविसन गरौं तपाईंको चित्रहरुको एक्जिविसन गर्ने इच्छा छ । सायद यो अन्तिम पनि हुन सक्छ । तपाईंले काम गर्न नसक्ने अवस्था पनि हुन सक्छ भनेर मैले एकदम हतारोमा डराइ डराइ यो एक्जिविसन गरे (काठमाडौं बबरमहलस्थित आर्ट ग्यालरीमा हरिप्रसादका चित्रहरुको प्रदर्शनी भइरहेको छ)। बुबालाई यो ठाउँसम्म ल्याउन सकिन्छ कि सकिदैंन भनेर यो एक्जिविसन गरे ।
चित्रहरू थिए । धेरै चित्रहरू हामीले आफैले संरक्षण गरेर राखेका छौं । थोरै चित्रहरूचाहि एउटा व्यवहारका लागि बिक्री गर्ने गर्छौ तर महत्वपूर्ण चित्रहरू अहिले पनि हामीले राखेका छौं । यही क्रममा ६० वटा चित्र भएको श्रृङ्खला यो प्रदर्शनीमा राखेका छौं । दर्शकहरूबाट साह्रै उत्साहजनक प्रतिक्रियाहरू पाइरहेका छौं । बुबाको चित्रकला एकदम गहन गम्भीर खालका छन् । हरिप्रसादको चित्र भनेपछि एक किसिमको ब्राण्ड जस्तो पनि छ । त्यो हुनाले ४ लाखबाट सुरु हुन्छ चित्रहरू । २०/२२ लाख सम्मका चित्रहरू छन् । ४/५ वर्षमा एक्जिविसन गरिरहेने हुनाले कलाकारहरूलाई बुबाको पेन्टिङबारे थाहा छ । त्यो हुनाले धेरैले भन्नुहुन्छ ओ हो! यो त सब म्युजियममा राख्नुपर्ने खालका चित्र छन् । पहिलो पटक आउने दर्शकले त जीवनमा यस्तो चित्रकला पनि हुँदोरहेछ भनेर एकदम विस्मित भएर असाध्यै भावुक भएर हेर्नुभएको , प्रतिक्रियाहरू दिनुभएको हेर्दा खेरि म भावविह्वल हुन्छु ।
यो चित्रकलाहरू पनि `एउटा समयक्रममा छः नेपाल´ भन्ने शीर्षकमा छ । यसले लुम्बिनीमा अशोक स्तम्भ गाडेको देखि लिएर लिच्छवि कालका विभिन्न खण्डहरू हुँदै भृकुटीको तिब्बबतको सङचङगम्पोसँगको साक्षात्कार हुँदै हुँदै त्यसपछि अंशुबर्माको कैलाशकुट भवन, मल्लकालको ६०० वर्षको घटनाक्रमहरू, कोतपर्व त्यसपछि शाहकालसम्म चित्रमा देख्न सकिन्छ । पृथ्वी नारायण शाहको सक्रियतापछि शाहकाल सुरु भयो । पृथ्वी नारायण शाहकै ८/१० वटा चित्र छन् । त्यसपछि कोतपर्व राणाशासनसम्म त्यसरी यो पुरै नेपालको इतिहासको एउटा समग्र दृश्च चित्र एउटा भिजुअल हेर्न पाइन्छ । भविष्यको पुस्ताहरूलाई भिजुअल एउटा डकुमेन्टेसनको रुपमा त्यसलाई प्रस्तुत गर्ने र नेपाली युवा पुस्ता देखि नै एउटा इतिहास अध्ययन सामग्रीको रुपमा यसलाई प्रयोग गर्नुपर्छ भन्ने लाग्छ ।
बुबाका हामी तीन जना सन्तान छाैं । दुई जना छोरी र एक छोरा । व्यवहारिक हिसाबले आमा बितेपछि जिम्मेवारी म मा आयो । जिम्मेवारीलाई मैले बुबाको चित्रकलाको सिर्जनासँग जोडेर त्यो जिम्मेवारी निर्वाह गरेको छु । मलाई यस्तो लाग्छ मेरो घरमा मेरो बुबा मात्रै होइन् महान कलाकार हुनुहुन्छ । भविष्यका पुस्ताले पनि मलाई धन्यवाद दिने गरेर मैले उहाँलाई कसरी सहयोग गर्न सक्छु भन्ने तरिकाले मैले आफ्नो बल बुता बुद्धिले भ्याएसम्म त्यसरी काम गरिराछु ।
म ९/१० वर्ष हुँदाखेरि बुबाले चित्रकला गर्नुभएको थियो । अनि म ११ वर्ष हुँदा उहाँले त्यो एक्जिविसन गर्नुभयो । त्यो एक्जिविसनबाट अत्यन्तै निराशाजनक परिणाम आएपछि त उहाँले बाबु यो चित्रकारितामा भविष्य छैन यो काम गर्नुहुँदैन यो दुख पाउने काम नगर भनेर उहाँले त्यतिबेलाको अनुभवको आधारमा हामीलाई त्यो कुरा भन्नुभयो । फेरि यो चित्रकारिता उहाँमा पनि उहाँको बुबाबाट, हजुरबुबाबाट आएको हैन । यो बिल्कुल उहाँमा अनौठो यो सिप आयो । यो कसैले सिकेर जानिने कुरा पनि हैन । उहाँचाहि यो १६/१७ वर्षको उमेरमा आइपुग्दा खेरि नै उहाँले चित्रकारिताको पुरै व्याकरण त्यसका सीप शैली पुरै परिपूर्ण भइसक्नु भएको रहेछ । खाली चित्र बनाउन मात्रै बाँकी थियो । त्यो अहिले निरन्तर गरिरहनु भएको छ । त्यो अद्भूत गुण उहाँले जन्म जातै क्षमता आफैले लिएरै आउनु भएको रहेछ । सिकेर जानेको कुरा हैन यो ।
आमा बित्नुभएपछि बाबु मलाई आफ्नो आत्मशान्तिका लागि धार्मिक चित्र बनाउनका लागि एउटा कोठा बननाइदे भन्नुभयो । म कोठाको भिताभरि चाहि धार्मिक चित्र बनाउँछु भन्नुभयो । अध्यात्मिक खालका सन्देशहरूसहितका चित्रहरू बनाउँछु भनेर बुबाले भनेपछि मैले त्यो चित्र बनाउन कोठा बनाइदिए । त्यो कोठामा सबै चित्र बनाइसकेपछि उहाँले त्यसको नाम ‘राधाकुटी धार्मिक आर्ट ग्यालरी’ भनेर राख्नुभयो । अब अहिलेचाहि त्यो ग्यालरी पनि छैन । त्यही ठाउँमा हामीले अहिले भत्काएर घर बनायौं । त्यो चित्रहरूको फोटोग्राफ मात्रै छ । त्यसको संरक्षण गर्न सकेनौं किनभने त्यो सिमेन्टमा बनाइएको थियो । तर त्यही ठाउँमा अहिले हाम्रो घर छ घरको नाम चाहि ‘राधा चित्र शाला’ बनेर राखेका छौं ।
त्यो हाम्रो घरै एउटा म्युजियमको रूपमा छ । त्यहाँ जो कोही आउने चित्रकला हेर्ने, बुबाले काम गरेको कोठा हेर्ने, बुबाले काम गरिरहेको हेर्ने, बुबालाई भेट्ने त्यो वातावरण हामीले बनाएका छौं ।
यो ३० वर्षसम्म उहाँसँगको अन्तरंगको कला यात्राले गर्दा बुबा त बुबा नै हो फेरि उहाँको चित्रकारिता हेरेपछि ओहो उहाँ त कस्तो महान् कलाकार म त कस्तो महान् कलाकारसँग बसिरहेको छु, मैले कस्तो सौभाग्य पाएको छु भन्ने पनि भयो । उहाँको हातबाट अझै राम्रा राम्रा एकसे एक कालजय चित्रहरू कसरी बनाउने ? भन्ने कुरामा म सधैं घोत्लिन्छु । धेरै चित्रकलाहरूचाहि मैले आफैंले त्यसको थिमहरू कम्पोजिसन गर्ने, त्यसमा राख्ने कम्पोनेन्ट हरू इन्टरनेट देखि लिएर विभन्न ठाउँबाट संकलन पनि गरि राखेको छु । कुन के के मा काम लाग्छ भनेर त्यसको आधारमा म नयाँ नयाँ थिम बनाउँछु र बुबासँग छलफल गरेर यसलाई यो रुपमा प्रस्तुत गर्ने भनेर त्यो चित्र गरेर म नै प्रत्यक्ष सहभागी भएर मेरै पहलमा बनेका पनि ३०/३५ वटा चित्रकला भइसके ।
मेरो दुईटा छोराहरू छन् । अहिलेको समयले गर्दा जेठोले अलिकति पेन्टिङ गर्ने रहर गर्थ्यो तर उ पढ्न भनेर अमेरिका गयो त्यहाँ अहिले उ वैज्ञानिक छ । उसले उताबाट रङ क्यानभासहरू पठाइदिन्छ । प्रसिद्ध चित्रकारहरूको किताबहरू पठाइदिन्छ । कान्छो छोरा कम्प्युटर इन्जिनियर छ । इन्डियामा पढेर आएर नेपालमै एउटा कम्पनीमा काम गर्छ । घरको वातावरण राम्रो छ । हामी छोरा बुहारी नातिनातिना सबै सँगै बस्छौं । हाँसो ठट्टा गर्छौं । पारिवारिक माहौल एकदम राम्रो खुशीयाली छ । त्यसले बुबालाई उर्जा दिन्छ ।
चित्रकला बनाउनेसम्म म एकदम खटिएर लागे । बुबाको हातबाट नयाँ चित्रहरू बन्ने सम्भावना अलि कम छ भएको चित्रकला जुन छ यो नयाँ पुस्तामा कसरी हस्तान्तरण गर्ने र यो चित्रकला मार्फत् व्यक्त भएको नेपालको इतिहासको महत्वपूर्ण पक्ष कसरी पुर्याउने हो ? त्यसलाई संस्थागत हिसाबले कसरी नयाँ पुस्तामा पुर्याउन सकिन्छ त्यसका लागि स्थानीय सरकारलाई मनाएर लागि पर्छु ।
राजा वीरेन्द्रको समयमा वीरेन्द्र विदेश पढेर आएका । अनि त्यो पुस्तक उपहार दिनुपर्छ भन्ने उनलाई चेत भएको रहेछ । उनले बजारबाट टोनी हेगनले लेखेको नेपाल भन्ने किताब किनेर ल्याएर त्यसमा साइन गरेर उपहार दिन्थे रे त्यसपछि पुस्तक उपहार दिने संस्कृति हराएको थियो । अहिले विद्यादेवी भण्डारीको पहलमा बुबाको इतिहासको चिहरू छ त्यसलाई एउटा समयक्रममा मिलाएर क्रोनोलोजिकल्ली राखिएको छ । त्यसपछि संस्कृति र जनजीवन राखिएको त्यो एउटा उच्चस्तरीय प्रिन्टमा भएको करिब तीन किलो ताैलको त्यो किताब अहिले विदेशी पाहुनाहरूलाई, राजदूतहरूलाई, राष्ट्रपति र प्रधानमन्त्री विदेशबाट आउनेहरुलाई नेपाल सरकारको सरकारी गिफ्टको रुपमा दिने गरेको छ । त्यसले एउटा राज्यको तर्फबाट कलाकारको सम्मान गरेको लागेको छ । त्यो किताब २४ हजारमा बजारमा किन्न पाइन्छ । ठूला पुस्तक पसलहरूमा छ।
(हर समयले विष्णु प्रसाद शर्मासँग गरेको कुराकानीमा आधारित।)