Harsamaya
सिन्धुपाल्चोक २ मा क्षेत्रीय सभापतिका कारण चुनाव हारेको वंशलालको प्रतिवेदन

सिन्धुपाल्चोक - गत फागुनको  प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारहरू देशैभर पराजित भए । नेपाली काँग्रेसका पार्टी सभापति गगन कुमार थापाले समेत पराजय भोग्नुपर्यो । काँग्रेस ३६ सिटमा खुम्चियो । चुनावमा पराजित भएसँगै नेताहरूबीच एकअर्काविरुद्ध आरोप प्रत्यारोप श्रृंखला चलिरहेको छ । निर्वाचनको सम्मुखमा पार्टीमा आन्तरिक विवाद बढेपछि धेरै स्थानमा काँग्रेस उम्मेदवारले पराजय खेप्नुपर्यो भने अर्को तर्फ रास्वपाको लहरका कारण पनि काँग्रेस उम्मेदवार पराजित भए ।  

सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ मा भने नेकपाका युवराज दुलाल सबैलाई पछार्दै निर्वाचित भएपछि सिन्धुपाल्चोक काँग्रेसको आन्तरिक विवाद सतहमा आएको छ । काँग्रेसबाट पराजित उम्मेदवार वंशलाल तामाङले आफू पराजित हुनुको मुख्य दोष क्षेत्रीय सभापति आइतमान तामाङलाई लगाएका छन् । उनले तामाङको कार्यशैली उम्मेदवार सिफारिसदेखि सन्तुलित नरहेको आरोप लगाएका छन् । केन्द्रीय कार्यालयमा कारवाही सिफारिस गरेको लामो पत्रमा तामाङले यसअघि पार्टीले पाएको मत र अहिले पाएको मतको पनि तुलना गरेका छन् । 

काँग्रेसले पहिलेको मत र अहिलेको मत तुलना गर्नै नसकिने छ । पहिलाको मतको भरमा ढुक्क हुँदा धेरै काँग्रेस उम्मेदवार ठूलो संख्याको मतअन्तरसहित पराजित भएका थिए । सिन्धुपाल्चोकको सन्दर्भमा भने मतमा धेरै फरक नभएको र काँग्रेसको आन्तरिक किचलोका कारण अन्य उम्मेदवारले खेल्न पाएको कारण पराजित भएको तामाङको ठहर छ । क्षेत्र नम्बर १ मा काँग्रेसका प्रभावशाली नेता मोहन बहादुर बस्नेतको क्षेत्र हो । मतका आधारमा यहाँ बस्नेतको व्यक्तित्वले पनि प्रभाव पार्द्थ्यो भने क्षेत्र नम्बर २ मा भने काँग्रेसको मत नै एमाले पछि थियो । हुन त धेरै मत भएको एमाले तेस्रो स्थानमा रहदा काँग्रेस दोस्रो स्थानमा छ । त्यो भन्दा पनि चकित पार्ने काम तेस्रो रहेको नेकपा भने पहिलो हुँदै जित निकाल्न सफल भयो । त्यसैले पनि काँग्रेसकै असहयोगका कारण आफू पराजित हुनुपरेको तामाङको निष्कर्ष छ ।

उनले केन्द्रमा बुझाएको प्रतिवेदनमा क्षेत्रीय सभापतिको कारण आफू हारेको उल्लेख गरेका छन् भने काँग्रेसका नेताहरू रहेको वडामा आएको मतप्रति उनले असन्तुष्टि देखाएका छन् ।   तामाङले क्षेबीय सभापति आइतमान तामाङलाई निर्वाचन प्रचारप्रसार संयोजक भएर प्रचार प्रसारमा राम्रोसँग नखटेको, खटिएका स्थानमा एक्लै गएको, निर्वाचन अवधिभर चालक नबोकी एक्ला एक्लै काठमाडौं गइ नेकपाका उम्मेदवारलाई भेटेको, हरेक पटकको बैठकमा पैसा कति खर्च गर्न सकिन्छ भनेर उम्मेदवमरलाई हतोत्साहित गरेको, निर्वाचन रणनीतिका कुरा सार्वजनिक स्थानमा बोल्ने गरेको आरोप लगाएका छन् । यस्तै, फागुन ८ देखि १८ गतेसम्म निर्वाचनको मैदान छाडी विदेश गएको, विदेश जाँदा क्षेत्रीय सचिवलाई कार्यवाहक दिएको, कार्यवाहक सभापतिले सवारी साधन र इन्धन मागेको तर सवारी साधन र इन्धन दिएपछि काठमाडौंको आफ्नो चिया पसलमा गएर बसेको, पार्टीका महाधिवेशन प्रतिनिधि र पार्टीका जिम्मेवार व्यक्तिलाई काठमाडौं बोलाइ उम्मेदवारले ६० लाख पैसा विदेशबाट ल्याएको पनि दुष्प्रचार गरेको जस्ता आरोप लगाएका छन् । 

यस्तै तामाङले सभापतिका भाई नेपाल तरुण दलका क्षेत्रीय अध्यक्ष बुद्ध तामाङलाई पनि निर्वाचनमा हराउन भूमिका खेलेको आरोप लगाएका छन् । उनले पार्टीलाई धोका दिने जतिलाई कारबाही गर्छु भनेपछि बुद्धले ५० लाख खर्च गरेर सिध्याउँछु भनेर धम्की दिएको म्यासेज आफूलाई लेखेको उल्लेख गरेका छन् । उनले क्रियाशील सदस्य भन्दा पनि कम मत हेलम्बु गाउँपालिका-१,  चौतारा नगरपालिका १,५,१२,१३ र १४ र मेलम्ची नगरपालिका-१ मा आएको पनि उल्लेख गरेका छन् । उनले चौतारा -१ मा टंक कार्कीको वडा भएको, मेलम्ची - ३ वसन्त गुरुङ र सविता गुरुङको वडा भएको, मेलम्ची-४ बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङको वडा, मेलम्ची -५ मधुसुदन सिग्देल र गणेश सिग्देलको वडा, मेलम्ची-६ रामशरण गिरीको वडा भएको, मेलम्ची-९ आइतमान तामाङको वडा र मेलम्ची -११ सागर श्रेष्ठको वडा भएको पनि उल्लेख गरेका छन् । जिल्लाका प्रभावशाली नेताहरूको वडा भएपनि भनेजति भोट नआएको उनले आरोप लगाएका छन् ।

यातायातको साधनको व्यवस्था
तामाङले ५ वटा पालिका सभापतिहरूलाई निर्वाचन अवधिभर स्कर्पियो गाडी र इन्धन खर्चको व्यवस्थापन गरेका थिए । यस्तै, केन्द्रीय सदस्य शिव सुनार, वरिष्ठ नेताहरू राजेन्द्रमान ताल्चाभडेल, क्षेत्रीय सचिव केशव श्रेष्ठ, महिला नेतृहरू सविता गुरुङ, लक्ष्मी सुनार, जुनुना माली, सजिना श्रेष्ठ लगायतलाई पनि स्कर्पियो गाडी र इन्धनको व्यवस्था गरेका थिए । चुनावी खर्च पुर्याउन नसक्दा उनले काठमाडौंमा रहेको घर बैना गरेको समेत चर्चा चुनावी समयमा चलेको थियो ।

मतदातालाई बसको व्यवस्था
तामाङले काठमाडौंबाट मतदाता ल्याउन १०६ वटा बस रिजर्भ गरेको दाबी गरेका छन् । फाल्गुन २० गते मतदाताहरूलाई सुरक्षित रूपमा घर जाने व्यवस्थाको लागि १०६ वटा बस तथा मिनी बस र खानाको व्यवस्था समेत गरेको उनले काँग्रेस केन्द्रीय कार्यालयमा बुझाएको प्रतिवेदनमा उल्लेख छ । साथै केही दुर्गम ठाउँमा फर्किने बसको समेत व्यवस्था गरिएको थियो । तामाङले खुला कार्यक्रम गर्न र प्रचारप्रसार सामग्री गाउँ गाउँ पुर्याउन ५० हजार प्रति वडा खर्चको व्यवस्था समेत गरेका थिए ।

मत कति पाए ?
तामाङले निर्वाचनमा १९ हजार १ सय ४६ मत पाएका थिए । विजयी युवराज दुलालले २१  हजार ६ सय ९९ मत  पाए । यस्तै एमालेका शेरबहादुर तामाङ १५ हजार ९ सय २६  र रास्वापाका झलककुमार श्रेष्ठ १४ हजार ९  मत पाए । यता, समानुपातिकमा भने रास्वपा पहिलो बनेको छ । रास्वपाले  २५ हजार ८७० मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। नेपाली कांग्रेसले १४ हजार ४९१ मत प्राप्त गरेको छ भने एमालेले १३ हजार २५७ मत ल्याएको छ। प्रत्यक्षतर्फ निर्वाचित नेकपा भने समानुपातिकतर्फ १२ हजार ८९७ मतसहित चौथो स्थानमा सीमित भएको छ। समानुपातिकमा काँग्रेसको मत अझ कम छ । निर्वाचनमा सबैभन्दा धोका रास्वपालाई भएको देखिन्छ ।

क्षेत्र नम्बर १ मा कसलाई कारवाही सिफारिस ?
क्षेत्र नम्बर १ का काँग्रेस उम्मेदवार तथा पार्टी सभापति जंग बहादुर लामाले पूर्वकेन्द्रीय सदस्य मोहनबहादुर बस्नेत सहित ११ जना नेतालाई कारबाहीको सिफारिस गर्दै केन्द्रमा पत्र पठाएका थिए । उनले  बाह्रबिसेका मेयर बालकृष्ण बस्नेत, प्रदेश सांसद मसिना खड्का भण्डारी, पूर्व गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसीलगायत प्रभावशाली नेताहरूको नाम कारबाहीका लागि सिफारिस गरेका छन् । क्षेत्र नम्बर १ मा रास्वपाका भरत पराजुली विजयी भएका थिए ।

केन्द्रमा कति पर्यो उजुरी ?
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गर्ने ५०७ जनाविरुद्ध उजुरी परेको जनाएको छ । निर्वाचनका क्रममा अनुशासन उल्लंघन गरेको भन्दै विभिन्न जिल्ला र उम्मेदवारहरूबाट हालसम्म ५०७ जनाविरुद्ध उजुरी परेको हो। उनीहरूलाई सात दिने स्पष्टीकरण सोधिएको थियो । केहीलाई अनुशासन समितिले भइरहेको पद निलम्बन गरेर अनुसन्धान गररिरहेको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update