अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाँट कुरुलेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ भने २७ जना घाइते भएका छन् । सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्डअन्तर्गत पाणिनी ८ को कुरुलेफाट नजिक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै, एक जनाको उपचारका क्रममा अर्घाखाँची अस्पताल र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक दिवसबहादुर जिसीले बताए ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
राजनीति : नेपाली कांग्रेसले कर्णालीको विकास, समृद्धि, सुशासन र जनसेवालाई केन्द्र भागमा राख्दै २१ बुँदे ‘कर्णाली सङ्कल्प पत्र’ जारी गरेको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सुर्खेत वीरेन्द्रनगरमा सञ्चालन भएको प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि र पार्टी नेतृत्वबीचको अन्तक्र्रिया कार्यक्रम सम्पन्नपश्चात् आज सङ्कल्प पत्र जारी गरिएको हो । यता, राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले आज एक विज्ञप्ति जारी गरी राईलाई सचिवको पदबाट हटाइएको बताएका हुन् । यस्तै, नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले सरकारले ल्याएको नीति तथा कार्यक्रम खारेज गर्दै पूर्णलेखन गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले सरकारको नीति तथा कार्यक्रम रास्वपाको वाचापत्रको नवीन संस्करण र निरन्तरता भएको भन्दै पूर्णलेखन गर्न माग गरेका हुन् । यता, नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणामभन्दा पनि ठूलो उपलब्धि ठानेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले क्रान्ति, बलिदान र लामो संघर्षको जगमा प्राप्त भएको यो प्रतिनिधित्वलाई ‘रगतले लेखिएको कथा’को संज्ञा दिए ।
अपराध : नेपाल प्रहरीको ‘साइबर ब्यूरो’को टोलीले सामाजिक सञ्जालमार्फत परीक्षा अगावै प्रश्न पत्रसँगै उत्तरसमेत सार्वजनिक गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ सुविधानगर बस्ने ३७ वर्षीय निराजन शाही तथा धादिङको नीलकण्ठ नगरपालिका–३ घर भई हाल काठमाडौँ, बूढानीलकण्ठ नगरपालिका–१० कपन बस्ने ३० वर्षीय प्रेमकुमार श्रेष्ठ रहेको साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । कमला ढल्केबर बागमती सडक निर्माण खण्डमा माटो तथा ‘ग्राभेल फिलिङ’ कार्यमा प्रयोग हुने सवारीसाधन रोक्ने तथा ‘फिल्ड’मा माटो झार्न नदिई सेवाग्राहीसँग रु ४० हजार घूस लिँदै गरेको अवस्थामा पक्राउ गरी अभियोग पत्र दायर गरिएको हो । यता, सिरहामा भएका दुई छुट्टाछुट्टै गोली प्रहार घटनामा भारतीय सुटर प्रयोग गरिएको तथ्य प्रहरीले सार्वजनिक गरेको छ । लामो अनुसन्धानपछि दुवै घटनामा पारिवारिक रिसइबी मुख्य कारण रहेको खुलेको हो ।
समाचार : सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरूको नयाँ कार्यतालिका कार्यान्वयन गर्न निर्देशन दिएको छ ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गरेको परिपत्रमा शैक्षिक सत्र २०८३ देखि विद्यालयहरूले स्वीकृत पाठ्यक्रमअनुसार कार्यघण्टा मिलाएर पठनपाठन सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ । उक्त परिपत्र शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तह तथा सबै विद्यालयहरूलाई पठाइएको छ । यता, करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–७ मलई निवासी ४१ वर्षीय पूर्णबहादुर वली रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए । यता, अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाँट कुरुलेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ भने २७ जना घाइते भएका छन् । सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्डअन्तर्गत पाणिनी ८ को कुरुलेफाट नजिक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै, एक जनाको उपचारका क्रममा अर्घाखाँची अस्पताल र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक दिवसबहादुर जिसीले बताए ।
खेलकुद : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको हो ।
विश्व : दक्षिणी भारतीय राज्य तमिलनाडुको स्थानीय सरकारले मङ्गलबार ७१७ वटा सरकारी मदिरा पसल बन्द गर्न आदेश दिएको छ । तमिलनाडु सरकारले दिएको जानकारीअनुसार तमिलनाडु स्टेट मार्केटिङ कर्पोरेशनद्वारा सञ्चालित यी रक्सी पसलहरू पूजा स्थलहरू, शैक्षिक संस्थाहरू र बस स्टेशनहरूको ५०० मिटर भित्र अवस्थित रहेको भन्दै उनीहरूलाई तत्काल बन्द गर्न भनिएको हो । यता, मध्यपूर्व युद्ध सुरु भएदेखि नै अवरुद्ध गरेको ‘स्ट्रेट अफ होर्मुज’ लाई खाडी मुलुकलाई ब्ल्याकमेल गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने कतारका उच्च अधिकारीले मङ्गलबार बताएका छन् । प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले दोहामा टर्कीका विदेश मन्त्री हाकान फिदानसँग पत्रकार सम्मेलन गर्दै इरानले खाडी देशहरूलाई दबाब दिन (ब्ल्याकमेल गर्न) यो स्ट्रेटलाई हतियारको रूपमा प्रयोग गर्न नहुने बताएका हुन् । यता, हमास र यसका सहयोगीहरूले सन् २०२३ अक्टोबर –७ मा भएको आक्रमण पछि गाजामा बन्धक बनाएका बन्दकहरू विरुद्ध चरम यौन हिंसा गरेको स्वतन्त्र इजरायली अनुसन्धान आयोगले मङ्गलबार जारी गरेको रिपोर्टमा उल्लेख गरेको छ । सन् २०२३ अक्टोबर –७ मा हमासद्वारा नियन्त्रणमा लिएका महिला र बालबालिका विरुद्ध गरेको अपराध सम्बन्धी नागरिक आयोगको प्रतिवेदनले गाजा पट्टीमा युद्धको क्रममा बन्दक बनाएकाहरू विरुद्ध भएको यौन हिंसाको स्तर निर्धारण गर्न संयुक्त राष्ट्र सङ्घसहितका अनुसन्धान निकायहरुमा आग्रह गरेको छ ।

