कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संवैधानिक सर्वोच्चता र विधिको शासनमाथि कुनैपनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताएकी छिन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले संविधानको कार्यान्वयनका लागि उपयुक्त वातावरण निर्माण गर्नुको विकल्प नभएको बताइन् ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
राजनीति : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधनलाई अत्यन्त संवेदनशील, जटिल र दीर्घकालीन प्रभाव पार्ने प्रक्रिया भन्दै यसलाई हतार र सीमित स्वार्थका आधारमा अघि बढाउन नहुने बताएका छन्। उनले संविधान कुनै पनि देशको आधारभूत कानुनी दस्तावेज भएकाले यसलाई समय, परिस्थिति, राजनीतिक शक्ति सन्तुलन, सामाजिक चेतना र विकासको गतिसँगै परिमार्जन गर्दै लैजानुपर्ने आवश्यकता रहेको उल्लेख गरे। यस्तै, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो पार्टीको साथ र सहयोग रहने बताएका छन् । पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय’ सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा उहाँले शासन र अर्थतन्त्रमा सुधार तथा राष्ट्रिय हितका विषयमा सरकारलाई पूरा सहयोग रहने बताए ।
समाचार : दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी–तिङ्कर सडकअन्तर्गत शून्य विन्दु तुसारपानीदेखि दुम्लिङसम्मको १२ किलोमिटर सडक निर्माण सम्पन्न गरेपछि शुक्रबारदेखि यातायात सञ्चालनमा ल्याइएको हो । यता, नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप प्रभावकारी बन्ने भएको छ । अभिलेख व्यवस्थापन र अनलाइन प्रणालीको अभावका कारण प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको भारतीय सवारी व्यवस्थापन प्रणाली अहिले डिजिटल माध्यमबाट कडाइका साथ लागू गर्न थालिएको हो । यस्तै, स्वास्थ्यमन्त्री निशा मेहताको राजीनामा माग गर्दै जनकपुरधाममा स्वास्थ्यकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् । शनिबार धनुषाका विभिन्न नीजि तथा सरकारी अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मी (हेल्थ ऐसिस्टेन्ट, अनमी, ल्याब ऐसिस्टेन्ट)ले मन्त्री मेहताविरुद्ध प्रदर्शन गरेका हुन् । यता, प्रदर्शनरत नेपाली चलचित्र लालीबजार बन्द गर्नुपर्ने माग गर्दै शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागीहरूले ‘लालीबजार फिल्मलाई बन्द गर’, ‘वादी जातिको सम्मान कायम गर’, ‘चलचित्र विकास बोर्ड मुर्दावाद’ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए । यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना७ख ५८२० नम्बरको यात्रुवाहक बस बस आज साँझ अनियन्त्रित भई सडकको दाँहिने किनारातर्फ पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले बताए ।
अपराध : सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरेलाई पक्राउ गरिएको छ । सहकारीले बचतकर्तालाई चार वर्षदेखि पैसा फिर्ता नगरेको भनी वाग्मती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेपछि सोही पत्रका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले घिमिरेलाई पक्राउ गरेको हो । यस्तै, काठमाडौँ उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत आज जथाभावी हर्न बजाउने २०० भन्दाबढी सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । उपत्यकाका विभिन्न मुख्य सडक, व्यस्त चोक तथा सवारी चाप बढी हुने क्षेत्रमा ट्राफिक प्रहरीले विशेष निगरानी सञ्चालन गर्दै ट्राफिक नियम उल्लङ्घन गर्ने तथा अनावश्यक रूपमा हर्न बजाउने चालकलाई नियन्त्रणमा लिइ कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए । यता, नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्दियाबाट चार, सुनसरी र झापाबाट तीन/तीन, काठमाडौँ र ललितपुरबाट दुई/दुई तथा कञ्चनपुर, तनहुँ र बाँकेबाट एक/एक जनालाई पक्राउ गरिएको हो । यस्तै, जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा लिने विषयमा भएको विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ । आज दिउँसो स्थानीय रामजानकी सामुदायिक वन क्षेत्रबाट काठ दाउरा लिने विषयमा भएको विवादपछि सोही गाउँपालिका–४ सन्तपुरुवाका इच्छाकुमार रैदासको आक्रमणबाट एक जनाको मृत्यु भएको हो ।
अर्थ : मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युत्का आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । यता, कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनमा पोल ढले पछि कर्णालीका सबै जिल्लाहरुमा विद्युत प्रशारण बन्द भएको छ । निर्माण सम्पन्न भई सञ्चालनमा आएको तीन महिना नबित्दै सुर्खेत–कोहलपुर १३२ कभी प्रशारण लाईनका दुई पोल ढलेपछि विद्युत अवरुद्ध भएको हो ।
खेलकुद : सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको उपाधि धीर बूढाले प्राप्त गरेका छन् । आज सम्पन्न प्रतियोगितामा जुम्लादेखि मुगुको रारातालसम्म ५४ किलोमिटर दौडमा जुम्लाको कनकासुन्दरी गाउँपालिका-१ का बूढा पहिलो भएका हुन् । यस्तै, इरानको फुटबल सङ्घले सन् २०२६ को विश्वकपमा पुरुष राष्ट्रिय टोलीले भाग लिने शनिबार बताएको छ । इरानी टोलीले मध्यपूर्वमा रहेको युद्धलाई सङ्केत गर्दै आयोजकलाई आफ्ना केही सर्तलाई सम्बोधन गर्न तयार हुनुपर्ने पनि बताएको छ। यता, चौथो संस्करणको कोहलपुर गोल्डकपको उपाधि आयोजक रेसिङ साहारा क्लबले प्राप्त गरेको छ । कोहलपुर–२ स्थित फुटबल मैदानमा आज सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई ३–४ अन्तर गोलले हराउँदै रेसिङ साहाराले सो ट्रफी हात पारेको हो ।
विश्व : तमिलनाडुमा सरकार गठनका लागि शक्ति सङ्घर्ष शनिबारदेखि समाप्त भएको छ । विधान सभामा विदुथलाई चिरूथाइगल (भिसिके)ले तामिलगा भेट्री कझागम (टिभिके) प्रमुख जोसेफ विजय (विजय थलापति) लाई समर्थन प्रदान गर्ने आफ्नो आधिकारिक घोषणासँगै राज्य सरकार गठनको अनिश्चितता टुङ्गिएको छ । यता, नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा यसै हप्ता भएको झडपमा कम्तीमा ५० जिहादी विद्रोहीको मृत्यु भएको जनाएको छ। सन् २००९ देखि देशले बोको हराम र यसको विभाजित गुट इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्त (आइएसडब्ल्युएपी) सँग लडिरहेको छ । उनीहरूले यस क्षेत्रमा इस्लामिक खलिफा स्थापना गर्ने बताउँदै आएका छन् । यस्तै, ओमानको बन्दरगाह सहर खसाब नजिकै छ वटा इरानी कार्गो र माछा मार्ने जहाजमा अमेरिकी लडाकू जेटहरूले गरेको आक्रमणमा कम्तिमा छ जना घाइते भएको र अन्य छ जना बेपत्ता भएको मेहर समाचार एजेन्सीले शनिबार रिपोर्ट गरेको छ । जहाजहरू दक्षिणी होर्मोजगन प्रान्तको बन्दर लेङ्गेह काउन्टीका गाउँलेहरूका थिए, काउन्टी गभर्नर फोड मोरादजादेहलाई उद्धृत गर्दै एजेन्सिले जनाएको छ ।

