सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउने सक्ने चेतावनी दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै निजामती कर्मचारीलाई निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
राजनीति : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सत्तारुढ दलले संसदलाई मनपरी ढंगले सञ्चालन गरिरहेको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठक बहिष्कार गरेर संसद भवन बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनबाट निरन्तर टाढा रहेको भन्दै असन्तुष्टि जनाए । यस्तै, प्रतिनिधि सभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री बालेन शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरु निरन्तर विरोध जनाएपछि संसद बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको हो । यता, नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पूर्ण महासमितिको बैठक आयोजना गर्नु आवश्यक रहेको निष्कर्ष निकालेको छ । बुधबार काठमाडौंमा आयोजित सो पक्षको बागमती प्रदेशस्तरीय भेलाले पार्टीको बृहत एकता, संगठनात्मक पुनर्जागरण, विधान संशोधन,आन्तरिक लोकतन्त्र र आगामी राजनीतिक दिशाका विषयमा गम्भीर छलफल गर्न शीघ्र पूर्ण महासमितिको बैठक आयोजना गर्नु आवश्यक रहेको निष्कर्ष निकालेको कांग्रेस नेता डा प्रकाशशरण महतले जानकारी दिए । यस्तै, नेपाल विद्युत् प्राधिकरणको कायम निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आज मन्त्रिस्तरीय निर्णयमार्फत श्रेष्ठलाई सो पदमा नियुक्त गरेका हुन् ।
समाचार : रौतहटको कट हरिया नगरपालिका-५ कट हरिया बजार क्षेत्रबाट तीन जना बालक एकैसाथ बेपत्ता भएका छन् । त्रिशक्ति इङ्ग्लिस बोर्डिङ स्कुलको एकै कक्षामा अध्ययनरत विद्यार्थीहरू बेपत्ता भएपछि परिवारजन र स्थानीय बजार क्षेत्रमा त्रास फैलिएको छ । बेपत्ता हुनेहरूमा कट हरिया-५ का सम्सुदिन अन्सारीका १४ वर्षीय छोरा सकील अन्सारी, सुरेन्द्र साह सोनारका १४ वर्षीय छोरा कुन्दन साह सोनार र भरत दास सरभंगका १२ वर्षीय छोरा पवन कुमार दास सरभंग रहेका छन् । यता, रौतहटको गौर नगरपालिकाले नगर क्षेत्रलाई व्यवस्थित र स्वच्छ बनाउने अभियान अन्तर्गत अवैध रूपमा निर्माण गरिएका घर, टहरा र अन्य संरचनाहरू भत्काउन सुरु गरेको छ। सार्वजनिक सडक, नाला र ऐलानी जग्गा मिचेर बनाइएका संरचनाहरूका कारण नगरको स्वरूप बिग्रिएको र आवागमनमा ठूलो बाधा पुगेको भन्दै नगरपालिकाले डोजर चलाउन थालेको हो। यस्तै, सर्लाहीको मलङ्गवामा घरको छतसहित खसेर दुई जनाको मृत्यु भएको छ । पानी ट्याङ्की राख्ने छत ढलान गर्ने क्रममा छतसहित चार तला माथिबाट खस्दा मलङ्गवा नगरपालिका–२ का ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ का ४० वर्षीय राजकिशोर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
अपराध : वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै ४४ लाख ४८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–२ का ३७ वर्षीय सागर गौतम, दाङ घोराही उपमहानगरपालिका–१० का ३२ वर्षीय शम्भु गौतम तथा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ का ३७ वर्षीय सनम गुरुङ रहेका छन् । यस्तै, एकहप्ता अगाडि बेपता भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुलाकी ३६ वर्षीया अनितादेवी रायको आज शव गाडिएको अवस्थामा फेला परेको छ ।
सप्तरी प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार गत सातादेखि बेपत्ता भएकी रायको शव सोही गाउँपालिका–५ स्थित कोशी नदी किनारमा सडेको अवस्थामा फेला परेको हो । यता, अनलाइन जुवा सट्टेबाजी खेलाएर विभिन्न बैंकमा खाता खोली ठगीमा संलग्न भएको आरोपमा सुर्खेत प्रहरीले एक शिक्षकसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त ठगीमा संलग्न पञ्चपुरी नगरपालिका–९ सुर्खेतमा शिक्षक पेसा गरी बस्ने ३९ वर्षीय महेन्द्रकुमार बोहोरा, व्यापारी ४२ वर्षीय यामलाल विक र होटल व्यवसायी ४६ वर्षीय डम्बर विकलाई आज पक्राउ गरेको हो । यस्तै, अदालत र प्रहरी प्रशासनमा विचाराधीन रहेका मुद्दा मिलाइदिन्छु भन्दै सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गर्ने एक ‘विचौलिया’ व्यापारीलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका–६ निवासी पोल्ट्री दाना व्यवसायी राकेश साह रहेका छन् ।
विश्व : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण गर्न लागेका हुन् । यता, भारतले मध्यपूर्व युद्धको कारण ऊर्जा आपूर्तिको दबाब कम गर्ने उद्देश्यले कोइला ग्यास विस्तार गर्न लगभग चार अर्ब डलरको योजना बुधबार अनुमोदन गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिपरिषद्ले कोइला र ‘लिग्नाइट’लाई सिन्थेटिक ग्यासमा रूपान्तरण गर्ने ३.९२ अर्ब डलरको योजनालाई स्वीकृति दिएको छ । यस्तै, क्षिणी लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणमा परी १३ जनाको मृत्यु हुनुका साथै खन्य १४ जना घाइते भएको जनाइएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले नबातियाह सहरमा इजरायली हवाई आक्रमणमा परी मृत्युहुनेहरुको सङ्ख्या पाँच जना पुगेको जनाएको छ ।

