Harsamaya
वैशाख २७: अदालतले न्यायलाई हाँसोको विषय नबनाउन लामिछानेको आग्रहदेखि महसुल नतिर्ने २८१ ग्राहक कालोसूचीमासम्म
ग्राफिक्स : हर समय/Har Samaya

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतले न्यायलाई हाँसोको विषय नबनाउन आग्रह गरेका छन्। रास्वपाको दुई दिने प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले आम नागरिकले सहज र वास्तविक न्याय पाउनुपर्नेमा जोड दिएका हुन् ।प्रधानन्यायाधीश सिफारिस प्रक्रियाबारे टिप्पणी गर्दै लामिछानेले परम्पराभन्दा बाहिर गएर गरिएको निर्णयलाई असंवैधानिक भनिएको प्रसंग उठाए ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

राजनीति  : राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न विभाग तथा प्रदेश तहमा नयाँ जिम्मेवारी बाँडफाँट गरेको छ । आइतबार वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले शिक्षा, स्टार्ट–अप तथा र्‍यापिड एक्सन टिम (आरएटी) लगायतका विभागमा नयाँ पदाधिकारी मनोनयन गर्ने निर्णय गरेको हो । यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले कम्युनिस्ट आन्दोलनभित्र एकता र पुनर्गठनको आवश्यकता औँल्याएका छन् । स्वर्गीय नेता निर्मल लामाको २६औँ स्मृति सभामा बोल्दै उनले हजारौँ तथा लाखौँ कार्यकर्ताहरू कम्युनिस्टहरूबीच एकता होस् भन्ने पक्षमा रहेको उल्लेख गरे । यता, श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवम् सुनसरी क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य हर्कराज राई (साम्पाङ) ले जनतालाई घरबार विहीन नबनाउने पक्षमा सदैव आफू रहेको बताएका छन् । नेपालमा भएको अव्यवस्थित वसोवासी, सुकुम्बासीको समस्यालाई समाधान गर्नुपर्छ भन्ने पक्षमा आफू सधैँ लागेको उनले स्पष्ट पारेका छन् ।

समाचार : नेपाल विद्युत प्राधिकरण अन्तर्गत भरतपुर वितरण केन्द्रले विद्युत महसुल लामो समयसम्म नतिर्ने २८१ ग्राहकलाई कालोसूचीमा राखेको छ । कार्यालयका अनुसार पटक–पटक सूचना जारी गर्दा समेत बक्यौता रकम भुक्तानी नगरेपछि ती ग्राहकलाई कालोसूचीमा राखिएको हो । यस्तै, काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ६५ ओटा मोटरसाइकल सम्बन्धित धनीले फिर्ता पाएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार एक कार्यक्रममा खोजतलासपछि फेला परेका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । यता, प्रदर्शनरत नेपाली चलचित्र लालीबजार बन्द गर्नुपर्ने माग गर्दै आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागीहरूले ‘लालीबजार फिल्मलाई बन्द गर’, ‘वादी जातिको सम्मान कायम गर’, ‘चलचित्र विकास बोर्ड मुर्दावाद’ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।

अपराध : धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु भएको छ । आज धरान उपमहानगरपालिका-१९ मा स्थानीय युवाहरूबीच भएको सामान्य विवादका क्रममा छुरा प्रहार हुँदा धरान उपमहानगरपालिका-१० का २८ वर्षीय जीवन भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यस्तै, प्रहरीले मुलुकका विभिन्न स्थानमा जाँचका क्रममा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङ, कास्की र ललितपुरमा जाँच गर्दा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको हो । यता, सगरमाथा आधार शिविरमा सरकारी निकायको कमजोर उपस्थितिले अनाधिकृत गतिविधि बढेको पाइएको छ । आरोहणका लागि पुगेका स्वदेशी तथा विदेशीहरुले राष्ट्रियता र सार्वभौकितामा समेत असर पर्ने किसिमका गतिविधि गर्ने गरेको आरोहण दलका सदस्यहरुले बताउने गरेका छन् ।

खेलकुद : नेपाल भलिबल संघले आगामी काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ को ट्रफी अनावरण गरेको छ । संघले आइतबार पत्रकार भेटघाट कार्यक्रममार्फत प्रतियोगिताको तयारी, सहभागिता र व्यवस्थापनबारे जानकारी गराएको हो ।

विश्व : विश्व बजारमा इन्धनको संकट चुलिरहेका बेला मे महिनाको सुरुमा यमनको राजधानी एडेनमा चिनियाँ विद्युतीय सवारी साधन बीवाइडीले आधिकारिक प्रवेश पाएको छ । यमनमा पहिलो शोरूम र चार्जिङ पूर्वाधारको सुरुवातसँगै बीवाइडीको प्रवेशले सौर्य ऊर्जासँग परिचित जनसंख्याको लागि व्यवहारिक विकल्प बन्नसक्ने अपेक्षा गरिएको छ । यता, इरानले आइतबार वाशिङ्गटनको पछिल्लो शान्ति प्रस्तावको जवाफ दिएको छ । शनिबार राति इरानी ड्रोनले खाडी क्षेत्रका धेरै लक्ष्यहरूमा आक्रमण गर्ने चेतावनीबिच अमेरिकाको इरानसँगको युद्धमा शान्तिका लागि पठाएको प्रस्तावको जवाफ पठाएको हो । यस्तै, मध्यपूर्वमा जारी संकटकाबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोल, डिजेल र ग्यासको सकेसम्म कम प्रयोग गर्न जनतालाई अपिल गरेका छन् । यसले विदेशी विनिमयको बचत गर्नुका साथै विश्व युद्धजस्तो अवस्थाको प्रभाव पनि कम हुने उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३  २२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update