‘जेनजी’ आन्दोलनमा भएको लुटपाट, तोडफोड र आगजनीका छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
कार्की नेतृत्वको जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
‘जेनजी’ आन्दोलनमा भएको लुटपाट, तोडफोड र आगजनीका छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
अधिवक्ता विपीन ढकालले जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष कार्कीले नियुक्त हुनुअघि नै कसलाई कस्तो कारबाही गर्ने भन्ने धारणा राखेको र आयोगमा नियुक्तिपछि पूर्वधारणाअनुसार कार्यान्वयन थालेको भन्दै आयोगको वैधानिकतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए ।
कात्तिक ११ मा दायर गरेको रिटमा कात्तिक १२ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको इजलासले अन्तरिम आदेश छलफलका लागि सोमबारको पेसी तोकेको थियो ।
प्रधानमन्त्री कार्कीसँग संघीय संसदका पदाधिकारीहरूको भेटवार्ता
प्रधानमन्त्री सुशीला कार्कीसँग संघीय संसदका पदाधिकारीहरूबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले दिएको जानकारी अनुसार संघीय संसदका दुवै सदनका पदाधिकारीहरूले भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा कार्कीसँग उनीहरूको समसामयिक विषयमा छलफल भएको हो ।
१५औँ महाधिवेशन वैशाख २५-२८ गतेसम्म गर्नुपर्ने संस्थापन पक्षको प्रस्ताव
नेपाली काँग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले आगामी वैशाख २५ गतेदेखि २८ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने निर्णय गरेका छन्। आज बसेको बैठकबाट संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको यस्तो निर्णय आएको हो।
पार्टीमा केन्द्रीय कार्यसम्पादन समितिमा महाधिवेशनको मितिबारे विवाद भइरहेको बेला संस्थापन पक्ष केन्द्रीय सदस्यहरूको यस्तो निर्णय आएको हो।
जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहिद घोषणा
सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहिद घोषणा गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरुलाई राज्यको तर्फबाट शहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
हिमपहिरोमा परेर तीन जनाको मृत्युु, आठ बेपत्ता
गौरीशंकर गाउँपालिका–९ स्थित गौरीशंकर तथा रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत आरोहणका लागि गएका विदेशीसहित स्वदेशी पथप्रदर्शक रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिकै आज बिहान हिमपहिरोमा परेका छन् ।
हिमपहिरोमा परेर एक विदेशीसहित दुई नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । आरोहणका लागि गएका १५ विदेशीसहित स्वदेशी पथप्रदर्शकको समूह आज बिहान ९ बजेतिर यलुङरी नजिकै हिमपहिरोमा परेको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । उनीहरूको अवस्था अझै एकिन हुनसकेको छैन ।
युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना छैन : राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना नरहेको बताएका छन् । फ्लोरिडाको पाम बिचबाट वासिङ्टन फर्कँदै गर्दा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले युक्रेनलाई मिसाइल दिने योजना नरहेको बताएका हुन् ।
उनले युक्रेनलाई तोमहक मिसाइल दिँदा रुससँगको युद्ध थप चर्किन सक्ने बताए । अक्टोबर २२ मा ट्रम्प र नाटोका महासचिव माक रुट्टबीच व्हाइट हाउसमा भएको भेटमा तोमहक क्षेप्यास्त्रबारे छलफल भएको थियो ।
यो मिसाइल करिब १,००० माइल (१६०० किलोमिटर) टाढासम्म प्रहार गर्न सक्छ । यसको गति करिब ५५० माइल प्रतिघण्टा हुन्छ, जुन आवाजको गतिभन्दा करिब ७० प्रतिशत हो ।
यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस
 



