काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीको सचिवालय अनुसार बैठक आइतबार (भोलि) दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ।
देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
प्रधानमन्त्री कार्कीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान
प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीको सचिवालय अनुसार बैठक आइतबार (भोलि) दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ। बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिकमतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनल, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहनेछ।
माओवादीले ६ वटा पार्टीहरूसँग एकता गर्दै
नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहित ६ वटा पार्टीहरूसँग एकताको प्रक्रिया चाँडै गरिने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् । शनिबार बसेको सचिवालय बैठकले एकता प्रक्रियालाई चाँडै टुङ्ग्याउने निर्णय गरेको उनले बताए । पार्टी कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘ हाम्रो आजको बैठकको एजेन्डा पार्टी एकता थियो । पार्टी एकतामा वैचारिक, राजनैतिक, सैद्धान्तिक, नीतिगत कुराहरू करिब टुङ्गे लगाइसकेको छौँ । आज खास गरी प्राविधिक र सांगठानिक विषयमा छलफल केन्द्रित भएको छ ।
विधान अनुसार अघी बढ्ने विशेष महाधिवेशन पक्षधरलाई खड्काको आश्वासन
नेपाली काँग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेको समूहका नेताहरूले छलफल गरेका छन् । छलफलमा सहभागी भएका काँग्रेस नेता मनोजमणी आचार्यका अनुसार शनिबार दिउँसो हस्ताक्षर अभियान चलाइरहेका सात जना नेताहरूसँग दुई घण्टा बढी छलफल भएको हो ।
आचार्यका अनुसार छलफलमा कार्यवाहक सभापति खड्काले हस्ताक्षर अभियानबारे आफूले केन्द्रीय कार्यसमिति र पदाधिकारी बैठकमा जानकारी गराएको भन्दै विधान सम्वंत महाधिवेशनमा जाने बताएका थिए । “५४ प्रतिशत साथीहरूको हस्ताक्षर बुझाएपश्चात् पहिलो पटक उहाँले बोलाउनुभयो ।
गोल्डेन हत्या प्रकरणः ‘खुनी दरिन्दे’ समूहका चार जना पुर्पक्षका लागि थुनामा, दुई धरौटीमा रिहा
दसैंको महाअष्टमीका दिन वीरगञ्जमा भएको रगताम्य झडपमा २० वर्षीय शिवम साह कानु उर्फ ‘गोल्डेन’को हत्या प्रकरणमा संलग्न चार जनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ भने दुई जना धरौटीमा रिहा भएका छन् ।
पर्सा जिल्ला अदालतको शुक्रबारको आदेश अनुसार वीरगञ्ज महानगरपालिका – २४ रामगढवाका १९ बर्षीय गौतम पटेल, २० बर्षीय शुभ शंकर चौरसिया र २२ बर्षीय अमिरी पटेललाई वीरगञ्ज कारागार चलान गरिएको छ । त्यस्तै, एक १७ वर्षीय किशोरलाई बाल सुधार गृह पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सेबोनमा नेतृत्व विवाद चर्कियो, अध्यक्षलाई कार्यालय प्रवेशमा रोक
नेपाल धितोपत्र बोर्ड (सेबोन) मा कर्मचारीहरूको आन्दोलन ४० दिनभन्दा बढी समयदेखि निरन्तर जारी रहेसँगै पूँजीबजार नियामक निकाय नै अक्षम बन्ने अवस्था देखिएको छ । आन्दोलन उग्र बन्दै गर्दा सेबोनमा नेतृत्व विवाद झनै चर्किएको छ ।
अर्थ मन्त्रालयको निर्देशनविरुद्ध आन्दोलित कर्मचारीहरूले आइतबारदेखि बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठसहित सञ्चालकहरूलाई कार्यालय प्रवेशमा रोक लगाउने चेतावनी दिएपछि तनाव थपिएको हो ।
गत असोज २ गते अर्थ मन्त्रालयले सेबोनको कर्मचारी कल्याण तथा सुरक्षा कोष अवैध रहेको निष्कर्ष निकाल्दै कोष खारेज गर्न र वितरण भएको रकम असुल्न निर्देशन दिएको थियो ।
नेपाल अमेरिकासँग ४ विकेटले पराजित
दुबईमा जारी आइसिसी क्रिकेट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको छ । शनिबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ रोजेको नेपालले अमेरिका सामु २७२ रनको लक्ष्य दिएको थियो ।
नेपालले दिएको २७२ रनको लक्ष्य पच्छाएको अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाउँदै रन पुरा गरेको हो । अमेरिकाका लागि साई तेजा मुकामल्ला र मिलिन्द कुमारले अर्धशतकीय खेल खेले ।
नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने नन्दन याद, करण केसी र गुल्सन झाले समान एक– एक विकेट लिए । टस हारेर पहिले ब्याटिङ रोजेको नेपालका लागि अलराउण्डर दीपेन्द्रसिंह ऐरीले ७५ रनको अर्धशतकीय इनिङ खेले ।
यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस



