मङ्गलबारको हिमपातपछि हिमाली जिल्ला मुस्ताङमा निरन्तर वर्षा भइरहेको छ । जिल्लाको पाँचैवटै स्थानीय तहमा बुधबार बिहानदेखि निरन्तर वर्षा भइरहेको छ । यसअघि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकासहित मुक्तिनाथ क्षेत्रलगायत स्थानमा भारी हिमपात भएको थियो । तर, तल्लो मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिका उच्चलेकमा हिमपात भए पनि बस्तीमा हिमपात भएको थिएन । यो वर्ष यहाँ कात्तिकमा नै हिमपात भएको छ । देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
बिपी राजमार्ग मर्मतका लागि जापानद्वारा दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान
जापान सरकारले बिपी राजमार्ग पुनर्निर्माण र मर्मतका लागि रु दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान गरेको छ । आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा आज नेपाल सरकार र जापान सरकारबीच अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको मन्त्रालयले जनाएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत तोरु मायदाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । महोत्तरीको बर्दिवासदेखि काभ्रेको धुलिखेलसम्म १५९ किलोमिटर लम्बाइको बिपी राजमार्ग राजधानी काठमाडौँबाट पूर्वी तराई जोड्ने नेपालको एक महत्वपूर्ण राष्ट्रिय राजमार्ग हो । उक्त राजमार्ग जापान सरकारकै अनुदान सहयोगमा निर्माण गरिएको थियो ।
नेपाल यूएईसँग पाँच विकेटले पराजित
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई)सँग पराजित भएको छ । बिहीबार दुबईमा सम्पन्न खेलमा नेपाल यूएईसँग पाँच विकेटले हारेको हो । नेपालले दिएको २३४ रनको लक्ष्य यूएईले ४३.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । यूएईको जितमा ओपनर ब्याट्सम्यान आर्यांश शर्माले सर्वाधिक ९८ रनको महत्त्वपूर्ण पारी खेले ।
त्यसअघि, नेपालले कप्तान रोहितकुमार पौडेलको शतकको सहयोगमा घरेलु टिमलाई २३४ रनको लक्ष्य दिएको थियो । टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३३ रनको योगफल खडा गरेको थियो । नेपालका कप्तान रोहितले सम्हालिएर खेल्दै सर्वाधिक १०९ रन बनाए ।
विशेष महाधिवशेन माग्नेले पार्टी फुटाउने, अरू साथीहरू पार्टी जुटाउने कसरी?
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशनको पक्षधरहरूले पार्टी फुटाउन लागेको भन्दै गलत प्रचार गरिएकोमा नेताहरूले आपत्ति जनाएका छन् । बैठकमा बोल्दै लुम्बिनी प्रदेश अध्यक्ष अम्मर सिह पुन मगरले विधानलाई आफू अनुकूल व्यख्या गर्ने कसैलाई अधिकार नभएको बताए । यस्तै बैठकमा बोल्दै वाग्मती प्रदेश अध्यक्ष इन्द्र बानियाँले भने, विन विन सिचुएशनमा जानुपर्ने बताए । पार्टीको १५ औं महाधिवेशनको बारेमा दुवै पक्षले जित महसुस गर्नेगरि निर्णय गर्नुपर्ने भन्दै उनले पार्टीको महाधिवशेको मिति तय गर्दा व्यवहारिक पक्षमा समेत ध्यान दिनुपर्ने धारणा राखे ।
गृहमन्त्रीलाई हटाउने निर्णय नभएको प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण
प्रधानमन्त्रीको कार्यालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने निर्णय नभएको स्पष्ट पारेको छ । पछिल्ला दिनहरूमा गृहमन्त्री अर्याललाई हटाउने विषयमा विभिन्न समाचार माध्यम तथा सामाजिक सञ्जालमार्फत फैलिएको सूचनाले प्रधानमन्त्रीको ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयले स्पष्टिकरण जारी गरेको छ । बुधबार जारी विज्ञप्तिमा कसैलाई मन्त्री बनाउने वा हटाउने पूर्ण अधिकार प्रधानमन्त्रीलाई रहँदै आएको र कसैको दवाब वा प्रभावमा आधारित भएर यस्तो निर्णय हुने सवाल नै नउठ्ने उल्लेख गरिएको छ ।
निर्जीवन बिमा कम्पनीले लिए करिव दुई अर्ब पेस्की
जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बिमा कम्पनीले निर्जीवन बिमा कम्पनीहरूलाई एक अर्ब ९९ करोड २२ लाख रुपैयाँ अग्रिम भुक्तानी (पेस्की) उपलब्ध गराएको छ । नेपाल पुनर्बिमा कम्पनीमा परेका कुल दुई हजार ८६८ वटा पुनर्बिमा दाबीको १६ अर्ब पाँच करोड १३ लाख रुपैयाँ पुनर्बिमा दाबी रकम रहेको उल्लेख छ । निर्जीवन बिमा कम्पनीहरूमा २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ कुल बिमा दाबी परेको छ । यो कुल दाबीमध्ये नेपाल पुनर्बिमा कम्पनीमा मात्र १६ अर्ब पाँच करोड १३ लाख रुपैयाँ दाबी परेको नेपाल बिमा प्राधिकरणले जनाएको छ ।
भाषण गर्दागर्दै ढले गौतम
कार्यक्रममा बोल्दा बोल्दै ढलेका नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको ‘अतः यो कारणले’ नै अन्तिम शब्द बन्न पुगेको छ । उद्योगमा नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित धर्ना कार्यक्रममा बोल्दाबोल्दै ढलेका उनको निधन भइसकेको छ । अचानक ढलेका गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पुर्याउँदा मृत्यु भइसकेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्र प्रसाद आचार्यले पुष्टि गरेका छन् । अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।

