 
                                                            काठमाडौं - आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई)सँग पराजित भएको छ । बिहीबार दुबईमा सम्पन्न खेलमा नेपाल यूएईसँग पाँच विकेटले हारेको हो । नेपालले दिएको २३४ रनको लक्ष्य यूएईले ४३.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।
यूएईको जितमा ओपनर ब्याट्सम्यान आर्यांश शर्माले सर्वाधिक ९८ रनको महत्त्वपूर्ण पारी खेले । कुल ९८ बलको सामना गरेका शर्मा शतक बनाउनबाट दुई रनबाट चुके । उनलाई नेपालका स्पिनर सन्दीप लामिछानेले आउट गरेका थिए । त्यसअघि, अर्का ओपनर अलिशान शराफुले २६ बलमा आक्रामक ४५ रन जोडेर टोलीलाई राम्रो सुरुवात दिएका थिए । उनलाई करण केसीले आउट गरेका थिए ।
मध्यक्रममा राहुल चोपडा १५ रन बनाएर आउट भए । मुहम्मद वसिमले ४६ बलमा २६ रनको योगदान दिए । यस्तै, ध्रुव पराशरले १९ बलमा १६ रन र जाहिद अलीले १९ बलमा ११ रन जोडेका थिए । नेपालको बलिङतर्फ सन्दीप लामिछानेले १० ओभरको स्पेलमा ३४ रन खर्चेर दुई महत्त्वपूर्ण विकेट लिएका थिए । लामिछानेबाहेक करण केसी र दीपेन्द्र सिंह ऐरीले समान एक-एक विकेट हात पारे ।
त्यसअघि, नेपालले कप्तान रोहितकुमार पौडेलको शतकको सहयोगमा घरेलु टिमलाई २३४ रनको लक्ष्य दिएको थियो । टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३३ रनको योगफल खडा गरेको थियो । नेपालका कप्तान रोहितले सम्हालिएर खेल्दै सर्वाधिक १०९ रन बनाए । एउटा एन्डबाट लगातार विकेट जाँदा अर्को एन्डमा अडिएका रोहितले १३० बलमा पाँच चौका र एक छक्का प्रहार गरे ।
रोहितबाहेक, ओपनर आसिफ सेखले ४८ बलमा चार चौकासहित ३५ रन बनाए । आरिफ सेखले ४२ बलमा दुई चौकासहित २७ रन थपे । आरिफ र रोहितले ६१–३ को स्थितिबाट चौथो विकेटका निम्ति ७० रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए । यस्तै, दीपेन्द्रसिंह ऐरीले २३ रन जोडे । १३१–४ को स्थितिबाट रोहितले दीपेन्द्रसँग पनि ५४ रनको अर्धशतकीय साझेदारी गरेका थिए । करण केसीले आठ बलमा एक चौका र एक छक्कासहित रन थपे ।
नेपालका अरू ब्याटर भने दोहोरो अंकसम्म पुग्न सकेनन् । अलराउन्डर गुल्सन झा ‘गोल्डेन डक’ भए । यूएईका जाहिद अलीले समान तीन विकेट लिए । जुनैद सिद्दिकीले तीन विकेट लिए । मोहम्मद रोहिद र हैदर अलीले समान एक–एक विकेट हात पारे ।


 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    -1761640064.jpg)