काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सलाई पराजित गर्दै कर्णाली याक्सले जित निकालेपछि कप्तान सोमपाल कामीले टोलीको प्रदर्शनप्रति खुसी व्यक्त गरेका छन्। उनले यो जित टोलीका लागि महत्वपूर्ण रहेको बताउँदै आगामी खेलमा पनि जितको लय कायम राख्ने विश्वास व्यक्त गरे।
खेलपछि आयोजित पोस्टम्याच प्रेस मिटमा कप्तान सोमपालले आफ्नो व्यक्तिगत प्रदर्शनभन्दा पनि टोलीले प्राप्त गरेको दुई अंक महत्वपूर्ण रहेको बताए।
‘कर्णाली याक्सले एकदमै राम्रो खेल्यो र एकदमै खुसी छौँ। मेरो इनिङभन्दा पनि यो दुई अंक हाम्रो लागि एकदमै महत्वपूर्ण थियो। आई होप, यो जितको लय हामीले निरन्तर कायम राख्नेछौँ,’ उनले भने।
सोमपालले १८० रनको लक्ष्य पछ्याउन सकिने विश्वास आफूलाई सुरुदेखि नै रहेको बताए। खेलअघि पावरप्ले जित्ने योजना बनाएको भए पनि सुरुवातमा विकेट गुमाउन पुगेको उनले सुनाए।
‘मलाई एकदमै विश्वास थियो, किनकि विकेट राम्रो खेलिरहेको थियो। मलाई लाग्छ १८० रन ठीक थियो। हामीले छ–सात रन मात्रै बढी खाएका थियौँ। यो चेज गर्न सकिने स्कोर हो भन्ने लागिरहेको थियो। पावरप्ले जित्नुपर्छ भन्ने हाम्रो योजना थियो। तर सुरुवातमै विकेट गुमाउन पुग्यौँ,’ उनले भने।
पवनसँगको साझेदारीपछि गुलशन झासँग खेल्दा आफूलाई जितको विश्वास अझ बढेको सोमपालले बताए। विशेषगरी गुलशनको क्षमताबारे आफू जानकार रहेकाले अन्तिम चरणमा पनि खेल जित्न सकिनेमा विश्वस्त रहेको उनको भनाइ थियो।
‘म मात्रै होइन, मेरो टिमका खेलाडी र स्टाफ सबैलाई यो खेल जित्छौँ भन्ने विश्वास थियो। गुलशनसँग म पाँच वर्षदेखि रुममेट छु। हामी एकअर्कालाई राम्रोसँग बुझ्छौँ। मलाई थाहा थियो गुलशन कस्तो खेलाडी हो। छ ओभरमा १७–१८ रन चाहिएको अवस्थामा पनि हामी जित्न सक्छौँ भन्ने विश्वास थियो,’ उनले भने।
गुलशन झालाई नेपालको उत्कृष्ट टी–२० खेलाडीमध्ये एक भएको उल्लेख गर्दै सोमपालले उनलाई सबैले साथ र विश्वास दिनुपर्ने बताए।
‘टी–२० मा हरेक दिन यस्तो इनिङ खेल्न सकिँदैन। तर उसले यस्तो इनिङ खेल्दा सबैले उसलाई बुस्ट गर्नुपर्छ। मलाई खुसी लाग्छ, मैले उसलाई हुर्किएको र राम्रो खेलाडी बनेको देखेको छु। भविष्यमा ऊ नेपाली क्रिकेटको ठूलो नाम बन्नेछ भन्ने आशा छ,’ उनले भने।
उनले मैदानमा हरेक बल र हरेक क्षणको आनन्द लिने गरेको पनि सुनाए। आफूलाई क्रिकेट खेल्न मन पर्ने भएकाले दबाबभन्दा पनि खेलको मज्जा लिने गरेको उनको भनाइ थियो।
‘म क्रिकेट खेल्न मन पराएर नै खेल्छु। क्रिकेट खेल्दा डराएर खेलेँ भने मज्जा आउँदैन। त्यसैले हरेक बल र हरेक क्षण इन्जोय गर्छु। हरेक बाउन्ड्री सेलिब्रेट गर्न चाहन्छु। म आफूलाई माया गर्छु,’ उनले भने।
विराटनगर किङ्सविरुद्धको खेलमा दुवै टोलीले राम्रो क्रिकेट खेलेको उल्लेख गर्दै सोमपालले कर्णालीले निर्णायक दुई ओभरमा राम्रो प्रदर्शन गरेकाले जित सम्भव भएको बताए।
‘हामीले गत वर्ष धेरै गल्ती गरेका थियौँ र हार्न पुगेका थियौँ। यो पटक राम्रो खेल्यौँ र जित्न सफल भयौँ। दुवै टिमले राम्रो क्रिकेट खेलेका हुन्। मलाई लाग्छ, हामीले दुई ओभर राम्रो खेल्यौँ। त्यही कारण खेल जित्न सफल भयौँ,’ उनले भने।

