बुटवल - कार्यक्रममा बोल्दा बोल्दै ढलेका नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको ‘अतः यो कारणले’ नै अन्तिम शब्द बन्न पुगेको छ ।
उद्योगमा नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित धर्ना कार्यक्रममा बोल्दाबोल्दै ढलेका उनको निधन भइसकेको छ ।
अचानक ढलेका गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पुर्याउँदा मृत्यु भइसकेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्र प्रसाद आचार्यले पुष्टि गरेका छन् । अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।
कार्यक्रममा बोल्दै उनी केही आक्रोशित बनेका थिए । सोही क्रममा उनी भुइँमा ढलेका थिए । उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गर्दा आक्रोशित बनेका थिए । सोही क्रममा उनको बोली लरबरिएको थियो । सो क्रममा उनले ‘अतः यो कारणले’ भन्ने शब्द प्रयोग गरेका थिए ।
प्राधिकरणले ट्रंकलाइन प्रयोग गरेको भन्दै बुटवल–भैरहवा कोरिडोरका १० उद्योगमा लाइन काटेको विरोधमा उद्योगीका संस्था र मजदुरले संयुक्तरूपमा आयोजना गरेको विरोध प्रदर्शनमा गौतम मजदुरहरूको तर्फबाट वक्ताका रुपमा प्रतिनिधित्व गरेका थिए ।
६२ वर्षीय गौतमका दुई छोरा र श्रीमती छन् । ६५ वर्षीय गौतम हृदयघातका भएर ढलेका थिए । बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन् ।

