अर्घाखाँची - अर्घाखाँचीको शितगंगा नगरपालिका–२ खाँचीखोलास्थित सन्धिखर्क–गोरुसिंगे सडकखण्डमा ब्रेक फेल भएको बसले मोटरसाइकललाई ठक्कर दिँदै सडकको भित्तामा ठोक्किँदा ३२ जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो १ः२० बजे सुपादेउरालीबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ३७२ नम्बरको बसको ब्रेक फेल भएपछि दुर्घटना भएको हो । अनियन्त्रित बसले सोही दिशातर्फ जाँदै गरेको लु ९१ प २३५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदै सडकको भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बस चालक र मोटरसाइकल चालकसहित ३२ जना घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि ठाडा स्वास्थ्य चौकी पठाइएको थियो ।
घाइतेमध्ये ११ जनालाई थप उपचारका लागि भैरहवा अस्पताल पठाइएको छ भने अन्य घाइतेहरूको ठाडा स्वास्थ्य चौकीमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा पश्चिम नवलपरासीको सुनवल नगरपालिका र रुपन्देहीको देवदह नगरपालिकाका यात्रुहरू रहेका छन् । घाइतेमध्ये ९० वर्षीया भिमकुमारी ठकुरी, ८७ वर्षीय चन्द्रबहादुर ठकुरी, ७३ वर्षीय कर्णबहादुर थापा, ७१ वर्षीया कमला गौतम र १८ महिनाका सुजल कवरसमेत रहेका छन् ।
मोटरसाइकल चालक अर्घाखाँची शितगंगा नगरपालिका–१ सुवर्णखालका २१ वर्षीय शुसिल सिजापती र पछाडि सवार सन्धिखर्क नगरपालिका–७ खाँची गौचरका १२ वर्षीय मनिष गुरुङ पनि घाइते भएका छन् ।
दुर्घटनामा घाइते सबैको उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

