Harsamaya

काठमाडौं - पछिल्लो समय नेपालमा धनतेरस मनाउने प्रचलन बढ्दै गएको छ। विशेषगरी सुनचाँदी, भाँडाकुँडा, विद्युतीय उपकरण तथा अन्य महँगा सामग्री खरिद गर्ने पर्वका रूपमा धनतेरसको चर्चा हुन थालेको छ । तर धनतेरसको वास्तविक धार्मिक तथा सांस्कृतिक महत्त्व के हो ? यो नेपाली मौलिक संस्कृति हो वा बाह्य संस्कृतिको प्रभाव ? धनतेरसका दिन अनिवार्य रूपमा सामान खरिद गर्नैपर्ने धार्मिक मान्यता छ कि छैन ? यस्ता प्रश्नमा पछिल्लो समय सामाजिक सञ्जालमा समेत बहस भइरहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराई भने धनतेरसलाई केवल किनमेल र महँगा वस्तु खरिद गर्ने पर्वका रूपमा मात्र बुझ्न नहुने बताउँछन्। उनका अनुसार धनतेरसको सम्बन्ध धनत्रयोदशी अर्थात् त्रयोदशी तिथिसँग जोडिएको छ । यसको धार्मिक तथा सांस्कृतिक पक्षलाई बुझेर आफ्नै परम्परा र सामर्थ्यअनुसार पर्व मनाउनुपर्छ।

डा. भट्टराईका अनुसार धनतेरस शब्दको अर्थ नै धनत्रयोदशी हो। नेपाली भाषामा त्रयोदशी तिथिलाई आधार मानेर यसको नामकरण गरिएको हो। धनतेरस मनाउने परम्परा पनि तिथिसँग सम्बन्धित रहेको उनले बताए।

यमदीपदान गर्दा सन्ध्याकाललाई महत्त्व दिएजस्तै धनतेरस मनाउँदा पनि सन्ध्याकालमा त्रयोदशी तिथि परेको दिनलाई विशेष महत्त्व दिने धार्मिक परम्परा रहेको उनको भनाइ छ। त्यसैले धनतेरसलाई महँगा वस्तु खरिद गर्ने अवसरका रूपमा मात्र नभई यसको तिथिगत र धार्मिक महत्त्वका आधारमा बुझ्नुपर्ने उनले बताए।

धनतेरस नेपाली मौलिक संस्कृति हो वा बाह्य संस्कृतिको प्रभाव भन्ने बहसका सम्बन्धमा डा. भट्टराईले संस्कृतिलाई कुनै एउटा समुदाय वा देशको सीमाभित्र मात्र सीमित गरेर हेर्न नहुने धारणा राखे। उनका अनुसार संस्कृति साझा विषय हो। समाजमा विभिन्न समुदायको बसोबास र अन्तरघुलन बढ्दै जाँदा एकअर्काका संस्कृति तथा परम्परा पनि अपनाउने क्रम चलिरहन्छ।

पछिल्लो एक–डेढ दशकयता नेपालमा धनतेरसको चर्चा र अभ्यास बढ्दै गएको देखिए पनि यसलाई आयातित संस्कृति भनेर मात्र व्याख्या गर्न नमिल्ने उनको तर्क छ। फरक–फरक संस्कृति मान्ने समुदाय एउटै समाजमा बसोबास गर्दा सांस्कृतिक आदानप्रदान र समिश्रण हुनु स्वाभाविक प्रक्रिया भएको उनले बताए।

‘कुनै पनि संस्कृति एउटा समुदाय वा देशमा मात्र सीमित हुँदैन। समाजमा विभिन्न संस्कृति मान्ने समुदाय सँगै बसोबास गर्न थालेपछि संस्कृतिको पनि आदानप्रदान र मिश्रण हुन्छ,’ उनको भनाइ छ।

नेपालमा धनतेरस मनाउने समुदायको बसोबास रहेकाले यसलाई पञ्चाङ्गमा पनि समावेश गरिएको उनले स्पष्ट पारे। नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति साझा संस्था भएकाले नेपाली समाजमा प्रचलनमा रहेका धार्मिक तथा सांस्कृतिक चाडपर्वलाई सकेसम्म पञ्चाङ्गमा उल्लेख गर्ने अभ्यास रहेको उनले बताए।

धनतेरस पनि त्रयोदशी तिथिसँग जोडिएको र यमपञ्चककै अवधिमा पर्ने भएकाले पञ्चाङ्गमा उल्लेख गरिएको उनको भनाइ छ। पञ्चाङ्गमा यसको उल्लेख पहिलेदेखि नै हुँदै आएको बताउँदै उनले समुदायअनुसार पर्व मनाउने परम्परा र मान्यता फरक हुन सक्ने उल्लेख गरे।

धनतेरसको शास्त्रीय आधार र धार्मिक पक्षका विषयमा थप अध्ययन तथा अनुसन्धान आवश्यक रहेको पनि डा. भट्टराईले बताए। उनका अनुसार यस पर्वलाई सबै समुदायका लागि एउटै शास्त्रीय मान्यता भएको पर्वका रूपमा बुझ्नुभन्दा आ–आफ्नो परम्परा र प्रचलनअनुसार मनाइने पर्वका रूपमा बुझ्नु उपयुक्त हुन्छ।

Dr.-Purushottam-Bhattarai-1-1793892750.jpg
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराई । ग्राफिक्स : हर समय/Har Samaya

पछिल्लो समय धनतेरसलाई लिएर सामाजिक सञ्जालमा मौलिकता र बाह्य संस्कृतिको प्रभावबारे बहस भइरहँदा पर्व मनाउने क्रममा देखिन थालेको देखावटी प्रवृत्तिप्रति पनि उनले ध्यानाकर्षण गराएका छन्। विभिन्न चाडपर्व मनाउने क्रममा मौलिक परम्पराभन्दा खर्चिलो र प्रदर्शनमुखी व्यवहार बढ्दै जानु उचित नभएको उनको आशय छ।

विशेषगरी धनतेरसका दिन सुनचाँदी, भाँडाकुँडा वा अन्य महँगा सामान खरिद गर्नैपर्छ भन्ने धारणा सही नभएको उनले बताए। धनतेरसमा यही वस्तु किन्नुपर्छ वा यति नै रकम खर्च गर्नुपर्छ भन्ने कुनै निश्चित शास्त्रीय व्यवस्था आफूलाई जानकारी नभएको उनको भनाइ छ।

‘धनतेरसमा अनिवार्य रूपमा कुनै निश्चित वस्तु खरिद गर्नैपर्छ वा सामान सञ्चय गर्नैपर्छ भन्ने विषयमा यसको मूल धार्मिक तथा सांस्कृतिक पक्षलाई हेर्नुपर्छ। यस दिन यही वस्तु किन्नुपर्छ वा यति नै खर्च गर्नुपर्छ भन्ने कुनै निश्चित शास्त्रीय व्यवस्था रहेको देखिँदैन,’ उनले भने।

उनका अनुसार धनतेरसको मूल पक्ष धनत्रयोदशीसँग जोडिएकाले यसलाई अनावश्यक खर्च र देखावटी खरिदसँग जोडेर हेर्नु हुँदैन। आफ्नो धार्मिक आस्था, पारिवारिक परम्परा र आर्थिक सामर्थ्यअनुसार पर्व मनाउन सकिने उनको धारणा छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update