Harsamaya

काठमाडौं - चीनसँगको तातोपानी नाका सहज रूपमा सञ्चालन हुन नसक्दा फलफूल व्यवसायीहरू ठूलो मारमा परेको नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बताएका छन् ।

उनका अनुसार तातोपानी नाका नियमित रूपमा सञ्चालन हुन नसक्दा फलफूल तथा अन्य खाद्यवस्तु कोराला नाका हुँदै ल्याउनुपर्ने बाध्यता छ । लामो दूरी, सडकको समस्या, हिमपात तथा ढुवानी खर्च बढ्दा सड्ने–गल्ने फलफूलमा व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नुपरेको उनले बताए ।

बानियाँले तातोपानी नाका सहज रूपमा सञ्चालन नहुँदा व्यवसायी मात्र नभई आम उपभोक्ता समेत प्रभावित भएको बताए । उनका अनुसार कोराला नाका हुँदै एउटा गाडी सामान ल्याउँदा करिब चार लाख रुपैयाँसम्म ढुवानी खर्च लाग्ने गरेको छ । तातोपानी नाका हुँदै ल्याउँदा भने त्यही सामान ५० हजारदेखि एकलाख रुपैयाँसम्मको ढुवानी खर्चमा ल्याउन सकिने उनले बताए । 

‘सयौँ कन्टेनर बाढीमा बगेका कारण अहिले कन्टेनरसमेत पाउन कठिन भएको छ,’ उनले भने, ‘सडक, हिमपात र ढुवानीको समस्याले सानो लगानीका व्यवसायीले जोखिम लिएर सामान ल्याउन सक्ने अवस्था छैन ।’

उनका अनुसार गत वर्षको चाडपर्वको तुलनामा यस वर्ष फलफूलको कारोबार करिब ४० प्रतिशतले घटेको छ । गत वर्ष दशैंमा उत्साहजनक व्यापार भएको भए पनि यस वर्ष स्याउ, सुन्तलालगायतका फलफूल घाटा खाएर बिक्री गर्नुपर्ने अवस्था आएको उनले बताए ।

तिहारमा समेत गत वर्षको तुलनामा करिब ६० प्रतिशत मात्रै कारोबार हुने र ४० प्रतिशतसम्म व्यापार घट्न सक्ने अनुमान गरेको उनले बताए । उनले बजारमा उपभोक्ताको क्रयशक्ति कमजोर हुनु र समग्र व्यापार–व्यवसायमा आएको गिरावटले फलफूलको कारोबारमा समेत असर परेको बताए । 

उनले फलफूल व्यवसायीलाई अहिले नाफा कमाउनेभन्दा पनि व्यवसाय जोगाउने चुनौती रहेको बताए । करोडौँ रुपैयाँ लगानी गरेर फलफूल आयात गर्दा बिक्री नभएमा ठूलो नोक्सानी व्यहोर्नुपर्ने जोखिम रहेकाले व्यवसायीले सोचविचार गरेर मात्रै सामान भित्र्याउनुपर्ने अवस्था आएको उनले बताए । 

‘यतिबेला नाफा कमाउनेभन्दा पनि कसरी टिक्ने भन्ने सोच्नुपर्ने अवस्था आएको छ,’ बानियाँले भने, ‘सामानमा सोचेर मात्रै लगानी गर्नुपर्ने अवस्था छ । सडकको अवस्था यस्तै रह्यो भने करोडौँ रुपैयाँ नोक्सान हुनसक्छ ।’

नेपाली उत्पादन महँगो हुँदा आयातित फलफूलसँग प्रतिस्पर्धा कठिन
बानियाँले नेपालमा उत्पादन हुने फलफूलले विदेशी उत्पादनसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको बताए । उनका अनुसार चीनबाट आयात हुने स्याउ प्रतिकिलो करिब २५० रुपैयाँमा थोकमा पाइने भए पनि मुस्ताङको राम्रो गुणस्तरको फुजी स्याउ ३५० रुपैयाँदेखि ४०० रुपैयाँसम्म थोक मूल्य पर्ने गरेको छ ।

यसले गर्दा नेपाली स्याउ उपभोक्तासम्म पुग्दा अझ महँगो हुने र आम उपभोक्ताले सहज रूपमा खरिद गर्न नसक्ने अवस्था रहेको उनले बताए ।

त्यस्तै, चीनबाट आउने ड्रागन फ्रुट करिब ३०० रुपैयाँ थोक मूल्यमा उपलब्ध हुने भए पनि नेपाली ड्रागनफ्रुट ४०० देखि ४५० रुपैयाँसम्ममा बिक्री गर्नुपर्ने अवस्था रहेको उनले बताए । 

उनले भने, ‘हामी कहाँ चुकेका छौँ र राज्य कहाँ चुकेको छ भन्ने विषयमा सोच्नुपर्छ । किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न सके मात्रै नेपाली उत्पादनले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्छ ।’

उनले स्याउ, एभोकाडो, ड्रागनलगायत फलफूलको व्यावसायिक उत्पादन बढाउन राज्यले किसानलाई प्रोत्साहन, प्रविधि र बजारको सुनिश्चितता गर्नुपर्ने बताए । एक वर्षको नाफाभन्दा दीर्घकालीन रूपमा फलफूल खेतीलाई व्यवसायका रूपमा विकास गर्नुपर्ने उनले बताए । 

Amar-Baniya-1793942149.jpg
नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँ ।

भारतबाट आउने फलफूलमा आपूर्ति सहज
उनले भारतबाट आउने फलफूलको आपूर्तिमा भने चीनको तुलनामा उतारचढाव कम हुने गरेको बताए । खुला सीमाका कारण भारतमा मूल्य बढे नेपालमा पनि मूल्य बढ्ने र भारतमा घटे नेपालमा पनि घट्ने गरेको उनले बताए ।

भारतमा अहिले अनारको मूल्य बढेकाले नेपालमा राम्रो गुणस्तरको अनारको थोक मूल्य करिब ३७५ रुपैयाँसम्म पुगेको उनले जानकारी दिए ।

चीनबाट आउने फलफूलमा भने नाकामा लामो समयसम्म सामान रोकिँदा व्यवसायीले ठूलो जोखिम बेहोर्नुपरेको उनले बताए । उनका अनुसार सयवटा गाडी लाइनमा हुँदा दुई–तीनवटा मात्रै छुट्ने अवस्था आउँदा सामान समयमा बजारमा पुग्न नसक्ने र फलफूल बिग्रिने समस्या हुने गरेको छ ।

समयमै सामान आइपुग्ने व्यवसायीले केही लाभ लिन सक्ने भए पनि ढिलो आइपुग्दा कतिपय फलफूल बाटोमै फाल्नुपर्ने वा घाटा खाएर बिक्री गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

तातोपानी नाका तत्काल सहज बनाउन माग
बानियाँले फलफूल मात्रै नभई लसुन, अदुवालगायत नेपालमा पर्याप्त उत्पादन नहुने वस्तुको आयातसमेत सहज बनाउन तातोपानी नाका नियमित सञ्चालन गर्न सरकारसँग माग गरे ।

‘तीन दिन नाका खोल्न सकिएको छ । अब नियमित रूपमा सञ्चालन गर्न पनि सकिन्छ,’ उनले भने, ‘सरकारले चीनसँग आवश्यक पहल गरेर तातोपानी नाका सहज बनाउनुपर्छ ।’

उनका अनुसार नाका सहज भए ढुवानी लागत घट्ने, फलफूल तथा तरकारीको मूल्य नियन्त्रणमा सहयोग पुग्ने र त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले पाउँनेछन् ।

उनले तत्काल आयात सहज बनाउनेसँगै दीर्घकालीन रूपमा नेपाललाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने नीति आवश्यक रहेको बताए ।

‘सधैँ परनिर्भर भएर हुँदैन,’ बानियाँले भने, ‘आफैँले उत्पादन गर्न सक्ने फलफूलको व्यावसायिक खेती बढाउनुपर्छ । किसानलाई प्रोत्साहन र बजारको सुनिश्चितता गर्न सके आपूर्ति अवरुद्ध भएका बेला पनि केही समय स्वदेशी उत्पादनले बजार धान्न सक्छ ।’

उनले व्यवसायीको हितसँगै आम उपभोक्तालाई सुलभ मूल्यमा फलफूल उपलब्ध गराउने गरी सरकारले सडक, नाका, ढुवानी र कृषि उत्पादनको क्षेत्रमा एकसाथ काम गर्नुपर्ने बताए ।

तीन महिनामा आयातको अवस्था
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्म ४ अर्ब ५० करोड रुपैयाँ बराबरकोे ४० हजार मेट्रिक टन केरा, स्याउलगायतका फलफूलको आयत भएका छन् । 

गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ८० करोड रुपैयाँ बराबरको ३८ हजार मेट्रिक टन यस्ता वस्तु आयात भएका थिए । यसअनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा यी वस्तुको आयात मूल्य बढेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update