Harsamaya

काठमाडौं - यस वर्षको तिहार आजदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पञ्चाङ्गमा प्रकाशित गरेको पर्वतालिकाअनुसार तिहार आजबाट सुरु भएर २५ गतेसम्म तिहार ६ दिन मनाइनेछ।

समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईका अनुसार कात्तिक २० गते शुक्रबार यमदीपदान र धनत्रयोदशी अर्थात् धनतेरस परेको छ। कात्तिक २१ गते शनिबार काकतिहार तथा धन्वन्तरी जयन्ती मनाइनेछ। त्यसैगरी, २२ गते आइतबार नरक चतुर्दशी र लक्ष्मीपूजा, २३ गते सोमबार गाईपूजा, २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ। सोही दिन नेपाल संवत् ११४७ को प्रारम्भ पनि हुनेछ। कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका मनाइनेछ।

अध्यक्ष भट्टराईले तिहारका पर्वहरूको मिति निर्धारण गर्दा पञ्चाङ्ग गणनासँगै धर्मशास्त्र, संस्कृति, तन्त्रशास्त्रलगायत विभिन्न क्षेत्रका विज्ञहरूको सुझाव र परामर्शलाई आधार बनाइने बताए। उनका अनुसार तिथिको अवस्था र पर्वसँग सम्बन्धित कर्म गर्नुपर्ने समयलाई ध्यान दिएर हरेक वर्ष पर्वहरूको मिति तय गरिन्छ।

यस वर्ष यमपञ्चक पाँच दिनको भनिए पनि पर्वतालिकामा ६ दिन देखिनुको कारण यमदीपदानको समय निर्धारणसँग सम्बन्धित रहेको उनले स्पष्ट पारे। यमपञ्चक मूलतः कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मका पाँच तिथिसँग सम्बन्धित भए पनि यमदीपदानका लागि त्रयोदशीको निशाकाल अर्थात् सन्ध्याकालमा त्रयोदशी हुनुपर्ने धार्मिक मान्यता छ।

कात्तिक २१ गते कागतिहारका दिन त्रयोदशी बिहान ११ बजेर १० मिनेटमै समाप्त हुने भएकाले त्यस दिन साँझ त्रयोदशी नरहने र यमदीपदान गर्न नमिल्ने अवस्था रहेको भट्टराईले बताए। त्यसैले यस वर्ष यमदीपदान कात्तिक २० गते नै राखिएको हो। यसै कारण सामान्य गणनामा यमपञ्चक पाँच दिनको भए पनि पर्व मनाउने दिनको तालिका ६ दिन देखिएको उनको भनाइ छ।

अध्यक्ष डा. पुरुषोत्तम भट्टराईका अनुसार कात्तिक २२ गते बिहान नरक चतुर्दशीका अवसरमा शरीरमा तेल लगाएर स्नान गर्ने तथा कुकुरको पूजा गर्ने परम्परा छ। सोही दिन सायंकालमा औँसी तिथि पर्ने भएकाले लक्ष्मीपूजा पनि त्यही दिन मनाइनेछ।

लक्ष्मीपूजाको समय निर्धारणमा सन्ध्याकालीन र मध्यरात्रिकालीन औँसी दुवैलाई आधार मान्ने परम्परा रहेको भट्टराईले बताए। उनका अनुसार दुवै मान्यताअनुसार यस वर्ष लक्ष्मीपूजा कात्तिक २२ गते नै परेको हो।

त्यसको भोलिपल्ट कात्तिक २३ गते सोमबार गाईपूजा हुनेछ। कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा र हलितिहार मनाइनेछ। हलितिहारमा गोरुको पूजा गर्नुका साथै परम्परागत रूपमा खेतबारी जोत्न गोरुको प्रयोग गर्ने र खेतीपातीमा संलग्न हुनेहरूलाई सम्मान गर्ने चलन रहेको भट्टराईले बताए।

कात्तिक २४ गते नै नेवार समुदायको विशेष पर्व म्हपूजा मनाइनेछ। सोही दिन नेपाल संवत् ११४७ को प्रारम्भ पनि हुनेछ। त्यसको भोलिपल्ट कात्तिक २५ गते बुधबार यमद्वितीयाका अवसरमा भाइटीका मनाइनेछ। नेवार समुदायमा भाइटीकालाई किजापूजा भन्ने गरिन्छ। यसरी म्हपूजा र नयाँ वर्षको सुरुवात एउटै दिन तथा भाइटीका भोलिपल्ट परेको छ।

उनले सामाजिक सञ्जालमा यमपञ्चक पाँच दिनको भनिए पनि यस वर्ष किन ६ दिन देखियो भन्ने जिज्ञासा उठेको उल्लेख गर्दै तिथि र कर्मकालको अवस्थालाई बुझ्नुपर्ने बताए। ‘यमपञ्चक तिथिप्रधान पर्व हो। त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मका तिथिमा गरिने कृत्य नै यमपञ्चक हो। तर, कुनै कर्मका लागि निश्चित काल प्रधान हुने भएकाले यस वर्ष यमदीपदान अघिल्लो दिन परेको हो,’ उनले स्पष्ट पारे।

Dr.-Purushottam-Bhattarai-1-1793892750.jpg
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराई । ग्राफिक्स : हर समय/Har Samaya

भाइटीकाको साइत बिहान ११:०७ बजे
यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेट रहेको समितिका अध्यक्ष भट्टराईले जानकारी दिए। समितिको बैठकमा विद्वान्हरूबीच छलफल गरी उपलब्ध समयमध्ये उक्त समयलाई उपयुक्त ठहर गरिएको उनले बताए।

यद्यपि, भाइटीका लगाउनका लागि साइतकै समयमा उपस्थित हुन नसक्नेहरूले दिनभरि टीका लगाउन सक्ने उनको भनाइ छ। दाजुभाइ तथा दिदीबहिनी विभिन्न स्थानबाट जम्मा हुनुपर्ने र पारिवारिक तथा व्यावहारिक कारणले निर्धारित समयमा टीका लगाउन सम्भव नहुन सक्ने भएकाले यसलाई अन्यथा लिन नहुने उनले बताए।

‘सक्ने र समय मिल्नेले बिहान ११ बजेर ७ मिनेटको साइतमा टीका लगाउन सक्नुहुन्छ। तर, ठ्याक्कै त्यही समयमा सम्भव भएन भने पनि अन्यथा मान्नुपर्दैन। यमद्वितीयाको दिनभरि नै टीका लगाउन सकिन्छ। हाम्रो परम्परा पनि यही हो,’ भट्टराईले भने।

दाजुभाइ पश्चिम, दिदीबहिनी पूर्व फर्किनुपर्ने
भाइटीकामा दाजुभाइ र दिदीबहिनी कुन दिशातर्फ फर्किएर टीका लगाउने भन्ने विषयमा पनि समितिले ज्योतिषीय मान्यताअनुसार दिशा स्पष्ट पारेको छ।

अध्यक्ष भट्टराईका अनुसार शुभकार्य गर्दा चन्द्रमालाई सम्मुख वा दायाँ पार्ने ज्योतिषीय मान्यता छ। यस वर्ष भाइटीकाका दिन चन्द्रमा वृश्चिक राशिमा रहने र वृश्चिक राशिको चन्द्रमा उत्तर दिशामा हुने भएकाले दाजुभाइ पश्चिम फर्किनुपर्ने हुन्छ।

दाजुभाइ पश्चिम फर्किँदा चन्द्रमा दायाँ पर्ने भएकाले दिदीबहिनी भने पूर्व फर्किएर टीका लगाउनुपर्ने उनले बताए। यसरी दिशा मिलाएर टीका लगाउँदा ज्योतिषीय मान्यताअनुसार शुभ हुने उनको भनाइ छ।

यस वर्षको तिहारमा यमदीपदान, धनतेरसदेखि भाइटीकासम्मका पर्वहरू तिथिको अवस्था र धार्मिक परम्पराअनुसार क्रमशः मनाइनेछन्। समितिले सार्वजनिक गरेको तालिकाअनुसार कात्तिक २५ गते भाइटीका सम्पन्न भएसँगै यस वर्षको यमपञ्चक पनि पूरा हुनेछ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update