Harsamaya
बिपी राजमार्ग मर्मतका लागि जापानद्वारा दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान
फाइल तस्बिर/har samaya

काठमाडौं - जापान सरकारले बिपी राजमार्ग पुनर्निर्माण र मर्मतका लागि रु दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान गरेको छ ।

आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा आज नेपाल सरकार र जापान सरकारबीच अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको मन्त्रालयले जनाएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा मन्त्रालयका सचिव घनश्याम उपाध्याय र  नेपालका लागि जापानका राजदूत तोरु मायदाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

महोत्तरीको बर्दिवासदेखि काभ्रेको धुलिखेलसम्म १५९ किलोमिटर लम्बाइको बिपी राजमार्ग  राजधानी काठमाडौँबाट पूर्वी तराई जोड्ने नेपालको एक महत्वपूर्ण राष्ट्रिय राजमार्ग हो । उक्त राजमार्ग जापान सरकारकै अनुदान सहयोगमा निर्माण गरिएको थियो ।

गत वर्षको बाढीपहिरोका कारण सो राजमार्गका विभिन्न खण्डमा गम्भीर क्षति पुगेको थियो । विशेषगरी रोशी नदी आसपासका केही भागमा पूर्ण रुपमा क्षति भएको थियो । क्षतिग्रस्त खण्डको पुनर्निर्माण र मर्मतसम्भारका लागि जापान सरकारबाट सहयोग प्राप्त भएको मन्त्रालयको भनाइ छ ।

सोही समारोहमा अनुदान सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनिराम शर्मा र जापानका तर्फबाट जापान अन्तरराष्ट्रिय सहयोग एजेन्सी (जाइका) नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीबीच हस्ताक्षर भयो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  २०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update