Harsamaya
गोरखा र सुर्खेतका सडक अवरुद्ध, केही ठाउँमा एकतर्फी सञ्चालन
सांकेतिक तस्वीर: हर समय/Har Samaya ।

काठमाडौं - बाढीपहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार गोरखाका दुई स्थानमा सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ भने सुर्खेतमा कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ।

गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ४ तथा गण्डकी गाउँपालिका–१ जोड्ने सडकखण्डमा रहेको फलामे पुल अवरुद्ध भएको छ। सो स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, आरुघाट गाउँपालिका–१ नयाँपुलस्थित गोरखा–आरुघाट सडकखण्डमा साना सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।

यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका–७ ओइलिसे क्षेत्रमा पहिरोका कारण कर्णाली राजमार्ग प्रभावित भएको छ। उक्त सडकखण्डमा एकतर्फी रूपमा सवारी आवागमन भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले सडकको अवस्थालाई ध्यानमा राख्दै यात्रा गर्न तथा सम्बन्धित निकायबाट प्राप्त सूचनाअनुसार आवागमन गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक ८, २०८३  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update