Harsamaya
कात्तिक १४ : दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्स: हर समय/Har Samaya

काठमाडौं - जेनजी विद्रोहले प्रधानमन्त्री बनाएकी प्रधानमन्त्री सुशीला कार्कीले ठूला तीन दलका शीर्ष नेतासँग भेट्ने इच्छा नभएको बताएकी छन् । सम्पादकहरूसँग शुक्रबार साँझ भेट्दै उनले युवा विद्रोहले तीन नेताको विकल्प खोजेको भन्दै आफूले युवाहरूको भावना सम्मान गर्ने बताइन् ।

देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने
नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ । बुधबारदेखि सुरु भएको बैठकमा बहुमत केन्द्रीय सदस्यले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका हुन् । अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँगको एकता प्रस्तावलाई बैठकमा बहुमत सदस्यले ताली बजाएर अनुमोदन गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

झलनाथ खनालले अर्को पार्टी गठन गर्ने 
अध्यक्ष माधवकुमार नेपालले माओवादी सहितका पार्टीहरूसँग एकता गर्ने निर्णय लिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले अर्को पार्टी गठन गर्ने भएका छन् । आज सकिएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले पार्टी एकताको प्रक्रिया नरोकिने निर्णय सुनाएका थिए । खनालले भने भिन्न मत समेत राख्न पाएनन् । उनले पार्टी पुनर्गठनक लागि आफूहरूले शनिबार नेताहरूसँग छलफल गर्ने त्यसपछि पार्टीको कानुनी प्रकियाबारे बझ्ने जानकारी दिए । 

‘विगतका गल्तीलाई सुधारेर अगाडि बढ्न रास्वपाले सहजकर्ताको भूमिका खेल्छ’
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले विगतका गल्तीलाई सुधार गरेर अगाडि बढ्न रास्वपाले सहजकर्ताको भूमिका खेल्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘जेनजी आन्दोलनका उपलब्धि अगाडिको बाटो र निकास’ विषय बृहत राजनीतिक संवादमा उनले विगतमा भएका गल्तीलाई सच्चाएर अगाडि बढ्नुपर्ने भन्दै त्यसको लागि रास्वपाले सहजकर्ता र संयोजकको भूमिका खेल्न तयार रहेको बताए । 

बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयले फोहोर फाल्न नदिने
बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रका स्थानीयले यसअघि भएको सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने बताएका छन् । शुक्रबार सहरी विकास मन्त्रालयमा भएको छलफलका क्रममा उनीहरुले आफूहरुसँग पटक–पटक सहमति गरेपनि कार्यान्वयन नभएको भन्दै फोहर फाल्न नदिने जनाएका छन् । उनीहरुले सहमति कार्यान्वयनका लागि काठमाडौं महानगरका प्रमुख, उपप्रमुख, शहरी बिकास मन्त्रीका साथै अर्थ मन्त्रालयको प्रतिनिधिसंग वार्ता गर्ने जनाएका छन् । स्थानीयको अडानका कारण छलफल बिना निष्कर्ष सकिएको छ ।छलफलमा शहरी बिकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले छलफलबाट समस्याको समाधान गर्ने भन्दै फोहरका गाडीलाई अवरोध नगर्न आग्रह गरेका थिए । २०७९ जेठ २६ गते भएको १८ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै सो क्षेत्रका स्थानीयले उपत्यकाबाट फोहोर बोकेर गएका गाडीहरु रोकेका छन् ।

एन्ड्रूको राजकुमार उपाधि खोसियो
बेलायतका राजकुमार एन्ड्रूले आफ्नो ‘राजकुमार’ उपाधि खोसिएको छ। बकिङ्गम प्यालेसले बिहीवार बेलुका एक विज्ञप्ति जारी गर्दै राजा चाल्र्सका भाइ अब एन्ड्रू माउन्टब्याटन विन्ड्जर नामले मात्रै चिनिने जनाएको छ। एक नाबालिगलाई यौन व्यवसायमा लगाउन खोजेको आरोपमा दोषी ठहर भएका जेफ्री एप्स्टीनसँग घनिष्ठता भएको देखिएपछि छानबिनमा परेका उहाँले राजकीय आवास ‘रोयल लज’ पनि छाड्नुपर्ने भएको छ। उनको निजी जीवनबारे अनेकौँ प्रश्न उठेपछि एन्ड्रूले ‘ड्यूक अफ योर्क’सहितका अन्य राजकीय उपाधिहरू यसअघि नै परित्याग गरेका थिए । 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  २२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update