Harsamaya
कात्तिक १२ : दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्स: हर समय/Har Samaya

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन विरुद्धको दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको १६ वटा रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

प्रतिनिधिसभा विघटन विरुद्धको दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार 

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन विरुद्धको दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको १६ वटा रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयलाई ७ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश समेत दिएको छ । 

यस्तै सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने सरकारको निर्णयलाई हालका लागि यथास्थितिमा राख्न आदेश दिएको छ । न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै खारेजी निर्णयको कार्यान्वयन नगर्न आदेश दिएको हो ।

राष्ट्रियसभा सदस्य पदको चुनाव माघ ११ गते गर्ने 

सरकारले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि आगामी माघ ११ गते चुनाव गर्ने निर्णय गरेको छ ।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए । उनले भने, ‘राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिको लागि माग ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय भएको छ ।’त्यस्तै, उनले छापाखाना र प्रकाशन सम्बन्धी दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएको पनि जानकारी दिए ।

संस्थापन समूहमा छलफलः संसदीय निर्वाचन पश्चात् मात्र पार्टीको नियमित महाधिवेशन   

नेपाली काँग्रेसको संस्थापन धारले २१ फागुनको संसदीय निर्वाचन पश्चात् मात्र पार्टीको १५ औँ महाधिवेशन गर्न सकिने निष्कर्ष निकालेको छ। पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा आज  बसेको संस्थापन समूहको बैठकमा उक्त निष्कर्ष निकालेको हो । 

बैठकमा केही केन्द्रीय नेताहरूले चुनाव अघिनै महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए । जसका लागि बिहीबार अर्थात् भोलीबाट हुने केन्द्रीय समिति बैठकमा सोही अनुसार कार्य तालिका ल्याउनुपर्ने ती नेताहरूको धारणा थियो । तर‚ शीर्ष नेताहरू विमलेन्द्र निधि‚ कृष्ण सिटौला लगायतले भने चुनाव पश्चात् महाधिवेशन गर्नुपर्ने र सोही अनुसार केन्द्रीय समितिमा तालिका ल्याउनुपर्ने धारणा राखेका थिए।

आयोग अध्यक्ष कार्कीले भने - आगजनी र लुटपाटमा संलग्नलाई फौजदारी कानुनअनुसार कारबाही गर्नुपर्छ

जेनजी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भदौ २४ गते व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा आगजनी तथा लुटपाटमा संलग्नलाई फौजदारी कानुन अनुसार कारबाही गर्नुपर्ने बताएका छन् । 

आयोगद्वारा आज यहाँस्थित जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफलमा अध्यक्ष कार्कीले हातहतियार लुटपाट गर्ने र कारागारबाट भागेका कैदीबन्दीलाई कारबाही गर्न भने सरकारले अध्यादेशमार्फत कानुन बनाउनुपर्नेमा जोड दिए ।

बिहीबारदेखि रातीको समयमा मेची राजमार्ग बन्द हुने

जिल्ला प्रशासन इलामले बिहीबारदेखि रातीको समयमा मेची राजमार्ग बन्द गर्ने निर्णय गरेको छ । चक्रावात मोन्थालाई कारण देखाउँदै प्रशासनले राजमार्ग बन्द गर्ने सूचना जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले बुधबार विज्ञप्ति जारी गर्दै बङ्गालको खाडीमा विकसित चक्र वात 'मोन्था' का कारण कार्तिक १३ गते बिहीबार साँझ ७ बजेबाट बिहान ६ बजेसम्म राजमार्ग बन्द गरिने जानकारी दिए ।

गाजामा इजरायली आक्रमण : बालबालिका सहित कम्तीमा ६० जनाको मृत्यु

गाजामा रातभर इजरायली हवाई आक्रमणमा कम्तीमा ६० जना नागरिकको ज्यान गएको छ । मारिनेमा बालबालिका र महिलाहरू पनि रहेका छन् । स्थानीय अस्पतालका अधिकारीहरूले बुधबार जानकारी दिँदै यो घटनालाई यस महिनाको सुरुदेखि लागू भएको नाजुक युद्धविरामका लागि सबैभन्दा गम्भीर चुनौती भएको बताएका छन् ।

यो घटनापछि गाजामा पुनः तनाव चर्किएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै गाजामा ‘शक्तिशाली आक्रमण’ गर्न सेनालाई निर्देशन दिएका थिए । 

 

 

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  २२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update