Harsamaya
कात्तिक ११ : दिनभरका घटनाक्रम एक नजरमा
ग्राफिक्स: हर समय/Har Samaya

काठमाडौं -  नेपालमा पश्चिमी वायु र अरब सागरबाट विकसित प्रणालीका कारण पश्चिम नेपाल प्रभावित भइरहेका बेला पुनः बङ्गालको खाडीबाट मन्था चक्रवातको असर देखिन लागेपछि आज विपद् प्राधिकरणले नागरिकका लागि सात बुँदे अनुरोध जारी गरेको छ । 

उक्त चक्रवातका कारण कोशी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशमा वर्षा र हिमपात गराउने जल तथा मौसम विज्ञान विभागबाट आज विशेष बुलेटिन जारी भएलगत्तै साँझ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नागरिकहरूमा सचेतनाका लागि सात बुँदे अनुरोध सार्वजनिक गरेको हो । प्राधिकरणकी प्रवक्ता शान्ति महतले उक्त प्रणालीको असर रहुञ्जेल सकेसम्म यात्रा नगर्न र तातो भएर बस्न तथा आवश्यक मौसमी सूचनाबारे जानकारी लिएर कार्य गर्न अनुरोध गरिन् । 

देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

‘मोन्था’का कारण २६ जिल्लामा बाढीको सम्भावना उच्च

बंगालको खाडीमा विकसित चक्रवात 'मोन्था'का कारण नेपालमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मोन्थाको प्रभावले बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म नेपालका वाग्मती, मधेस र कोसी प्रदेशको मौसम प्रभावित हुने विभागले जनाएको छ ।

विज्ञप्ती जारी गर्दै वर्षाका कारण देशका विभिन्न नदीमा पानीको बहाव उल्लेखनीय बढेर सतर्कता तह आसपास पुग्न सक्ने विभागको पूर्वानुमान छ । विभागले यस अवधिमा वाग्मती, कमला, कोसी र कन्काई र यिनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढेर सतर्कता तह आसपास पुग्न सक्ने देखिएको छ । साथै, कोसी, वाग्मती र मधेस प्रदेशका महाभारत, चुरे भई बहने ससाना नदीनालाहरूमा आकस्मिक बहाव हुन सक्ने विभागले जनाएको छ ।

घुमघामको याममा मौसमको चुनौती

मुख्य पर्यटकीययाम चलिरहेका बेला हाल देशभर अचानक मौसममा बदली आएको छ । उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र वर्षा भइरहेको छ । गण्डकी प्रदेशका मुस्ताङ, मनाङ, कास्की, म्याग्दी, गोरखालगायत जिल्लामा पनि प्रतिकूल मौसमका कारण पर्यटकीय गतिविधि प्रभावित बनेको छ ।

घुमघामको याममा पर्यटकलाई मौसमले चुनौती दिएको हो । सुरक्षित स्थानमा रहेका पर्यटक हिमपातमा रमाइरहेका भए पनि हिमाली भेगको पदयात्रामा निस्केका पर्यटकलाई भने गन्तव्यसम्म पुग्न सास्ती भएको छ । कतिपय ठाउँमा सुरक्षाकर्मी र स्थानीयवासीले हिउँ पन्छाउँदै पर्यटकलाई सुरक्षित स्थानमा पुर्‍याइरहेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविरमा पर्यटकको सहजीकरणका लागि जनपद र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । 

सरकार, राजनीतिक दल र जेनजीबीच छलफल हुँदै
निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच छलफल गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपराह्न ४:०० बजे सरकारले त्रिपक्षीय बैठक बोलाएको छ । बैठकमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच छलफल हुनेछ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन संयुक्त बैठक आयोजना गरिएको बताए । उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी दिए ।

विप्लव नेतृत्वको ‘कम्युनिस्ट पार्टी नेपाल’ले दियो दर्ताका लागि निवेदन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल’ ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । आज दिउँसो आयोगमा पुगेर उनी नेतृत्वको पार्टिले दल दर्ताका लागि निवेदन दिएको हो । प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा आयोग पुगेका नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राख्न प्रस्ताव गरेका छन् । सोही क्रममा प्रकाण्डले निर्वाचन आयोगमा पार्टीलाई दर्ता गर्ने प्रक्रिया जसरी सुरु भयो यसले आगामी दिनमा देशको अगाडि भएका विद्यमान समस्या समाधान र परिवर्तनमा विशेष स्थान राख्ने बताए ।

पर्यवेक्षण गर्न इच्छुकसँग निवेदन आह्वान 

निर्वाचन आयोगले सूचना जारी गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि इच्छुकलाई निवेदन दिन आह्वान गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट निवेदन दिन इच्छुक संस्थाहरूलाई १५ दिनभित्र निवेदन दिन आह्वान गरिएको हो । पर्यवेक्षण अनुमतिको लागि राष्ट्रिय संस्थाहरूले निवेदन दिँदा काठमाडौं उपत्यकाको हकमा निर्वाचन आयोगमा दिन सकिने आयोगले जानकारी दिएको छ ।

६२ अंकले बढ्यो सेयर बजार
साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४ विन्दुमा पुगेको छ । मंगलबार ३१४ कम्पनीका ९२ लाख ४३ हजार कित्ता सेयर ४७ हजार ९४ पटकको कारोबारमार्फत ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँ बराबरको किनबेच भएको छ । 

यसअघि आईतबार कुल २ अर्ब ६६ करोड १३ लाख रुपैयाँ बराबरको ५५ लाख ९६ हजार ७७ कित्ता सेयर कारोबार भएको थियो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ११.९७ अंक, फ्लोट इन्डेक्स ४.८६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.३४ अंकले बढेका छन् । आइतबार सामान्य अंक मात्र बढेको नेप्से यस दिन भने उच्च अंकले वृद्धि भएको हो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  २२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update