Harsamaya
‘मोन्था’का कारण २६ जिल्लामा बाढीको सम्भावना उच्च
फाइल तस्बिर/हर समय

काठमाडौं - बंगालको खाडीमा विकसित चक्रवात 'मोन्था'का कारण नेपालमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मोन्थाको प्रभावले बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म नेपालका वाग्मती, मधेस र कोसी प्रदेशको मौसम प्रभावित हुने विभागले जनाएको छ ।

विज्ञप्ती जारी गर्दै वर्षाका कारण देशका विभिन्न नदीमा पानीको बहाव उल्लेखनीय बढेर सतर्कता तह आसपास पुग्न सक्ने विभागको पूर्वानुमान छ ।

"बंगालको खाडीमा विकसित चक्रवात 'मोन्था' आज मिति २०८२/०७/११ गते मंगलबार राति भारतको आन्द्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको र तत्पश्चात् बिस्तारै कमजोर हुँदै उत्तरउत्तर पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रूपमा नेपालको मध्य भूभागनजिक आई पूर्वतर्फ सर्दै मिति २०८२/०७/१३ गते बिहीबार दिउँसोदेखि मिति २०८२/०७/१५ गते शनिबार बिहानसम्म नेपालको वाग्मती, मधेस र कोसी प्रदेशको मौसम प्रभावित हुने देखिन्छ," विज्ञप्तिमार्फत विभागले भनेको छ ।

विभागले यस अवधिमा वाग्मती, कमला, कोसी र कन्काई र यिनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढेर सतर्कता तह आसपास पुग्न सक्ने देखिएको छ । साथै, कोसी, वाग्मती र मधेस प्रदेशका महाभारत, चुरे भई बहने ससाना नदीनालाहरूमा आकस्मिक बहाव हुन सक्ने विभागले जनाएको छ ।

विभागले तीन प्रदेशका २६ जिल्ला भई बहने स-साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहने औँल्याएको छ । "विशेषगरी, वाग्मती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोसी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने ससाना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको छ," विभागको विज्ञप्तिमा छ ।

उक्त प्रणालीको प्रभावले मधेस र कोसीका धेरै तथा वाग्मतीका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । "मधेस र कोसी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । साथै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ," विभागले भनेको छ ।

विभागका अनुसार, कोसी र वाग्मतीका उच्च पहाडी तथा हिमाली भूभागका केही र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम हिमपातको पनि सम्भावना छ । "साथै, कोसी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावनासमेत रहेको छ," विभागले भनेको छ ।

montha-1761660241.jpg
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update