सिरहा - सिरहामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुवै पुरुषको मृत्यु भएको हो ।
जिल्ला सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडकखण्डमा बिहीबार बिहान दुर्घटना भएको हो ।
प्रहरीका अनुसार २०८३ कार्तिक १९ गते बिहान करिब १० बजे चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना.१ घ.५५३ नम्बरको ट्रक र सिरहाबाट चौहर्वातर्फ आउँदै गरेको स.९ प.७६५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकलमा सवार नामथर र वतन नखुलेका दुई पुरुष गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएकोमा चिकित्सकले बिहान १०ः२५ बजे दुवैलाई मृत घोषणा गरेका हुन् ।
दुर्घटनापछि ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ । फरार चालकको खोजी भइरहेको छ भने दुवै सवारीसाधन प्रहरी कार्यालयमा ल्याउने प्रक्रिया अघि बढाइएको छ ।
मृतकको पहिचान खुलाउने तथा आफन्तको खोजी गर्ने कार्यसमेत भइरहेको प्रहरीले जनाएको छ ।

