बर्दिया - बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा मिनिबस र भारतीय मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
शनिबार दिउँसो १ बजेर ४० मिनेटको समयमा गुलरियाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा ५ ख ५६०५ नम्बरको मिनि फोर्स बस र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको CHO1CM9437 नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । मोटरसाइकलसँग ठोक्किएपछि मिनिबस पल्टिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक भारतको चण्डीगढ निवासी ३४ वर्षीय हुकुम बहादुर खत्री र मोटरसाइकलमा पछाडि सवार अन्दाजी ५५ देखि ६० वर्षका एक पुरुषको मृत्यु भएको छ । पछाडि सवार पुरुषको नाम, थर र वतन खुल्न सकेको छैन ।
दुवै जनालाई उपचारका लागि बर्दिया जिल्ला अस्पताल गुलरिया लगिएकोमा चिकित्सकले क्रमशः दिउँसो २ बजेर १३ मिनेट र २ बजेर ९ मिनेटमा मृत घोषणा गरेका थिए ।
दुर्घटनामा मिनिबस चालक गुलरिया नगरपालिका–८ निवासी ४० वर्षीय हरि चौधरीसहित १५ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको छ भने अन्य सामान्य घाइते भएका छन् ।
घाइतेहरूमा बर्दियाको मधुवन नगरपालिका, गुलरिया नगरपालिका, बारबर्दिया नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका तथा दाङको तुलसीपुर उपमहानगरपालिकाका स्थानीय रहेका छन् ।
घाइतेमध्ये ललिता चौधरी, सुरज बहादुर राजी र संगम वलीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । मिनिबस चालक हरि चौधरीको पनि नेपालगञ्जस्थित सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ ।
त्यस्तै, सामान्य घाइते भएका अर्धना पाठक, अनन्य पाठक, अञ्जली घिमिरे, लक्ष्मी बि.क. र चार वर्षीय अन्मोल बि.क.लाई दिउँसो ३ बजेर ३५ मिनेटमा डिस्चार्ज गरिएको छ ।
दुर्घटनामा घाइते भएका अन्यको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

