पर्सा - जेनजी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भदौ २४ गते व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा आगजनी तथा लुटपाटमा संलग्नलाई फौजदारी कानुन अनुसार कारबाही गर्नुपर्ने बताएका छन् ।
आयोगद्वारा आज यहाँस्थित जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफलमा अध्यक्ष कार्कीले हातहतियार लुटपाट गर्ने र कारागारबाट भागेका कैदीबन्दीलाई कारबाही गर्न भने सरकारले अध्यादेशमार्फत कानुन बनाउनुपर्नेमा जोड दिए ।
‘सरकारी हातहतियार लुटेका लुटेरालाई विद्यमान कानुनले कारबाही गर्न केही अप्ठेरो रहेछ,’ उनले भने, ‘त्यसैले आयोगले उनीहरुलाई आवश्यक कानुनी कारबाही गर्न अध्यादेशमार्फत कानुन ल्याउन अनुरोध गरेका छौं ।’अध्यक्ष कार्कीले आयोगले कार्यादेश अनुसार निर्धारित समयमै कार्यसम्पादन गर्ने स्पष्ट पारे ।
आयोगको टोलीले अहिले जिल्ला–जिल्लामा पुगेर क्षति भएका संरचनाको स्थलगत अनुगमन तथा छलफल गरिरहेको जानकारी उनले दिए ।
उनले भदौ २३ गतेको घटनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको भूमिकाका विषयमा पनि आवश्यक कागजात माग्ने र अनुसन्धान भइरहेको बताए ।

