Harsamaya
गाजामा इजरायली आक्रमण : बालबालिका सहित कम्तीमा ६० जनाको मृत्यु
इजरायली हवाई आक्रमणपछि गाजाको अवस्था ।

एजेन्सी - गाजामा रातभर इजरायली हवाई आक्रमणमा कम्तीमा ६० जना नागरिकको ज्यान गएको छ । मारिनेमा बालबालिका र महिलाहरू पनि रहेका छन् । 

स्थानीय अस्पतालका अधिकारीहरूले बुधबार जानकारी दिँदै यो घटनालाई यस महिनाको सुरुदेखि लागू भएको नाजुक युद्धविरामका लागि सबैभन्दा गम्भीर चुनौती भएको बताएका छन् ।

यो घटनापछि गाजामा पुनः तनाव चर्किएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै गाजामा ‘शक्तिशाली आक्रमण’ गर्न सेनालाई निर्देशन दिएका थिए ।  उक्त निर्देशनपछि रातभर गाजाका विभिन्न क्षेत्रमा तीव्र बमबारी गरिएको थियो । प्रतिक्रियामा हमासले अर्को बन्धकको शव हस्तान्तरणमा ढिलाइ गर्ने चेतावनी दिएको छ ।

इजरायली पक्षका एक अधिकारीका अनुसार दक्षिणी गाजामा इजरायली सेनामाथि गोली प्रहार भएको घटनापछि नेतान्याहुले आक्रमणको आदेश दिएका हुन् । सो आक्रमण सोमबार हमासले एउटा बन्धकको ‘आंशिक अवशेष’ हस्तान्तरण गरेपछि भएको जनाइएको छ । इजरायलले ती अवशेष युद्धको सुरुआती चरणमा अपहरणमा परेका आफ्ना नागरिकका भएको दाबी गरेको छ ।

संयुक्त राज्य अमेरिकाले स्थिति नियन्त्रणमा ल्याउन कूटनीतिक पहल थालेको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update