तेहरान - इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड र ब्यानर राजधानी तेहरानका विभिन्न स्थानमा राखेको छ ।
तेहरानको व्यस्त एन्गेलाब स्क्वायरमा राखिएको होर्डिङ बोर्डमा ‘हामी ट्रम्पलाई मार्नेछौँ’ भन्ने सन्देश लेखिएको छ । त्यसमा ट्रम्पलाई जेलभित्र टाउको निहुराएर बसेको अवस्थामा चित्रण गरिएको छ ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलको आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि तेहरानमा ट्रम्पविरुद्धका प्रचार सामग्री सार्वजनिक हुँदै आएका छन् ।
यसैबीच, अमेरिका र इरानलाई वार्तामा ल्याउने कूटनीतिक प्रयास भइरहेका छन् । ट्रम्पले इरानसँग सम्झौता हुन सक्ने बताएका बेला अमेरिकामा मध्यावधि निर्वाचन हुँदैछ ।
तेहरानको ताज्रिस स्क्वायरमा आयोजित प्रदर्शनीमा ट्रम्पका रगतले लतपतिएको अनुहार, बमले छोपिएको चित्र तथा जेलको संरचनामार्फत अमेरिकाविरोधी सन्देश प्रस्तुत गरिएको छ । इरानले यस्ता प्रचार सामग्रीमार्फत अमेरिका र इजरायलप्रति आफ्नो विरोध व्यक्त गर्दै आएको छ ।

