Harsamaya
अमेरिका र इजरायललाई इरानी सर्वोच्च नेताको चेतावनी : ‘अर्को युद्धको कल्पना नगर्नू’
इरानका सर्वोच्च नेता मोजतबा खामेनी

तेहरान - इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई पुनः युद्धमा नफर्कन चेतावनी दिएका छन्। सम्भावित सैन्य आक्रमणको धम्कीप्रति प्रतिक्रिया दिँदै उनले इरानमाथि फेरि आक्रमण भए त्यसको जवाफ दिने अधिकार इरानी सेना र जनतामा रहेको बताएका हुन्।

सर्वोच्च नेता खामेनीको आधिकारिक वेबसाइटमा शनिबार प्रकाशित लिखित वक्तव्यमा शत्रु पक्षले पुनः सैन्य वा आतङ्कवादी आक्रमण गरे त्यसलाई रोक्ने समय र अवस्था इरानले नै निर्धारण गर्ने उल्लेख छ।

खामेनीले उच्च सैन्य कमाण्डरहरूसँगको बैठकपछि यस्तो धारणा सार्वजनिक गरेका हुन्। बैठकमा सशस्त्र बलका प्रमुख अली अब्दोल्लाही, सेना प्रमुख अमिर हातमी र क्रान्तिकारी गार्डका कमाण्डर अहमद वाहिदी सहभागी थिए। सर्वोच्च नेता बनेपछि खामेनी र उच्च सैन्य कमाण्डरहरूबीच भएको यो पहिलो सार्वजनिक जानकारीमा आएको बैठक हो।

वक्तव्यअनुसार खामेनीले सैन्य कमाण्डरहरूलाई कुनै पनि स्तर वा प्रकृतिको धम्कीको तत्काल, प्रभावकारी र भौगोलिक सीमाविहीन जवाफ दिन निर्देशन दिएका छन्। उनले अमेरिकी र इजरायली पक्षका भौतिक तथा अभौतिक सम्पत्तिलाई समेत लक्ष्य सूचीमा अद्यावधिक गर्न आदेश दिएको उल्लेख छ।

खामेनीको चेतावनीसँगै मध्यपूर्वमा पुनः युद्ध चर्किन नदिन कूटनीतिक प्रयाससमेत भइरहेका छन्। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि युद्ध सुरु भएको थियो। त्यसको जवाफमा इरानले क्षेत्रका विभिन्न देशमा आक्रमण गरेको थियो।

यसैबीच, शुक्रबार कतारको एक प्रतिनिधिमण्डल तेहरान पुगेर इरानी अधिकारीहरूसँग वार्ता गरेको छ। इरानले अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पत्र प्राप्त गरेको पनि जनाएको छ। तर इरानी सञ्चारमाध्यमका अनुसार तेहरानले उक्त पत्रको जवाफ भने दिइसकेको छैन।

यसअघि मध्यपूर्वी युद्धको सुरुवातमा फेब्रुअरीमा भएको अमेरिका–इजरायली आक्रमणमा इरानका तत्कालीन सर्वोच्च नेता अयातुल्ला अली खामेनी मारिएका थिए। उनी मोजतबा खामेनीका पिता हुन्।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update