इस्लामाबाद - पाकिस्तान र चीनले कृषि तथा कृषि सम्बन्धित वस्तुको द्विपक्षीय व्यापार सहज बनाउन सुसोत–खुन्जेराब सीमा नाकामा ‘ग्रिन च्यानल’ सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्।
सम्झौतामा बिहीबार पाकिस्तानको संघीय राजस्व बोर्ड (एफबीआर) मा दुवै देशका भन्सार प्रशासनबीच अनलाइन माध्यमबाट हस्ताक्षर भएको हो। पाकिस्तानी टोलीको नेतृत्व भन्सार सञ्चालन विभागका सदस्य सैयद शकिल शाहले गरेका थिए भने चिनियाँ टोलीको नेतृत्व उरुम्ची भन्सारका उपप्रमुख तथा ताश्कुर्गान भन्सारका निर्देशक ली छिङह्वाले गरेका थिए।
आधिकारिक घोषणाअनुसार सम्झौताले सहमति भएका कृषि उत्पादनको सूचीका आधारमा ग्रिन च्यानल स्थापना गर्ने लक्ष्य राखेको छ। यस व्यवस्थाअन्तर्गत योग्य वस्तु बोकेका ढुवानीलाई प्राथमिकताका साथ प्रशोधन तथा जाँच गरिनेछ। यद्यपि, जोखिमका आधारमा गरिने भन्सार नियन्त्रण भने कायम रहनेछ।
सम्झौताले दुवै देशका भन्सार प्रशासनबीच सूचना आदानप्रदान र जोखिमसम्बन्धी पूर्वचेतावनी प्रणालीलाई समेत सुदृढ बनाउने व्यवस्था गरेको छ। यसबाट सीमापार व्यापार व्यवस्थापनमा समन्वय बढ्नुका साथै नाशवान् कृषि उपजको ढुवानीमा हुने ढिलाइ कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पाकिस्तानी प्रतिनिधिमण्डलमा पेशावरका भन्सार प्रमुख, गिलगिट–बाल्टिस्तानका भन्सार अधिकारी तथा वनस्पति संरक्षण विभाग, पाकिस्तान सिंगल विन्डो, वाणिज्य मन्त्रालय र चीनस्थित पाकिस्तानी दूतावासका वाणिज्य प्रतिनिधिसमेत सहभागी थिए।
खुन्जेराब पासले पाकिस्तानको गिलगिट–बाल्टिस्तान क्षेत्रलाई चीनको सिन्जियाङ क्षेत्रसँग जोड्छ। समुद्री सतहबाट करिब १५ हजार ५०० फिट उचाइमा रहेको यो नाका विश्वकै सबैभन्दा अग्लो पक्की अन्तर्राष्ट्रिय सीमा नाकामध्ये एक हो।
सन् १९८५ मा दुई देशबीच भएको सीमा प्रोटोकल सम्झौताअनुसार खुन्जेराब पास अप्रिलदेखि नोभेम्बरसम्म आवागमन तथा व्यापारका लागि खुला रहने गरेको छ। हिउँदमा अत्यधिक हिमपातका कारण यहाँको व्यापार तथा आवागमन प्रभावित हुने गर्छ।
समाचारमा उल्लेख भएअनुसार गत वर्ष पाकिस्तानले खुन्जेराब नाकाबाट चीनबाट हुने आयातमा १५ अर्ब पाकिस्तानी रुपैयाँ राजस्व सङ्कलन गरेको थियो, जुन अघिल्लो अभिलेखभन्दा बढी हो। सोही नाकाबाट चीन र मध्य एसियाली मुलुकतर्फ २ अर्ब ८० करोड पाकिस्तानी रुपैयाँ बराबरका वस्तु निर्यातसमेत गरिएको थियो।
नयाँ सम्झौताले कृषि वस्तुको सीमापार ढुवानीलाई छिटो, व्यवस्थित र प्रभावकारी बनाउनुका साथै पाकिस्तान र चीनबीचको भन्सार सहकार्य तथा व्यापारिक सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

