म्याड्रिड - मध्य स्पेनमा दुई रेल आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। बुधबार बिहान टोलेडो प्रान्तमा भएको दुर्घटनामा रेलका दुई डिब्बा लिकबाट बाहिरिएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार, रोकिराखिएको रेलको पछाडिको भागमा अर्को रेल ठोक्किँदा दुर्घटना भएको हो। सुरुमा १० जनाको मृत्यु भएको बताइए पनि पछि मृतकको सङ्ख्या बढेर कम्तीमा ३० पुगेको समाचार सार्वजनिक भएको छ।
दुर्घटना उर्दा र लस येबेनेस सहरबीच खेतबारीले घेरिएको क्षेत्रमा भएको हो। ठक्करका कारण एउटा रेलको डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने घटनास्थलमा धातुका टुक्रा र अन्य सामग्री छरिएका छन्। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।
स्पेनकी स्वास्थ्य मन्त्री मोनिका गार्सियाका अनुसार, उद्धारकर्मीहरू सबैभन्दा बढी क्षति पुगेका दुई डिब्बामा फसेका यात्रुको उद्धार र शव निकाल्न केन्द्रित छन्। घाइतेहरूलाई आसपासका विभिन्न अस्पतालमा पठाइएको छ।
दुर्घटनापछि म्याड्रिड, सिउदाद रियल र आन्डालुसियाबीचको रेल सेवा स्थगित गरिएको छ। उद्धार कार्यमा आपत्कालीन सेवा, दमकल, प्रहरी तथा सैन्य आपत्कालीन टोली परिचालन गरिएको छ।
दुर्घटनामा सरकारी रेल कम्पनी रेनफे र निजी रेल कम्पनी इरियोका रेल संलग्न रहेको बताइएको छ। क्षेत्रीय अधिकारीका अनुसार, म्याड्रिडबाट सेभिलतर्फ गइरहेका रेलबीच दुर्घटना भएको थियो। रेनफेको रेलमा ३९७ र इरियोको रेलमा १४७ यात्रु सवार थिए।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले दुर्घटनापछि आफ्नो पूर्वनिर्धारित कार्यक्रम रद्द गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले उद्धार तथा उपचारमा आपत्कालीन सेवाहरू खटिएको उल्लेख गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
स्पेन उच्च गतिको रेल सञ्जाल भएको देशमध्ये एक हो। पछिल्ला दशकमा रेलमार्ग विस्तारमा ठूलो लगानी गरेको स्पेनमा यसअघि पनि घातक रेल दुर्घटना भएका छन्। सन् २०१३ मा भएको रेल दुर्घटनामा ८० जनाको मृत्यु भएको थियो।

