काठमाडौं - इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दक्षिणपन्थी गठबन्धन विपक्षी गठबन्धनभन्दा पछाडि परेको छ । मंगलबार राति सार्वजनिक तीन प्रमुख टेलिभिजन नेटवर्कका एक्जिट पोलअनुसार पूर्वसैनिक प्रमुख गाडी आइसेनकोट नेतृत्वको विपक्षी गठबन्धनले बढी सिट जित्ने अनुमान गरिएको छ । तर, दुवै गठबन्धनले स्पष्ट बहुमत पाउने देखिएको छैन ।
सार्वजनिक प्रसारण संस्था कान र व्यावसायिक टेलिभिजन च्यानल १३ का एक्जिट पोलले आइसेनकोट नेतृत्वको गठबन्धनले ५३ सिट र नेतान्याहुको गठबन्धनले ५० सिट पाउने अनुमान गरेका छन् । च्यानल १२ को एक्जिट पोलले विपक्षी गठबन्धनलाई ५२ र नेतान्याहुको गठबन्धनलाई ५० सिट दिएको छ ।
१२० सदस्यीय इजरायली संसद् (नेसेट) मा बहुमतका लागि ६१ सिट आवश्यक पर्छ । एक्जिट पोलअनुसार कुनै पनि गठबन्धनले बहुमत नपाउने देखिएकाले सरकार गठनका लागि लामो राजनीतिक वार्ता हुन सक्ने र राजनीतिक अस्थिरता बढ्न सक्ने संकेत देखिएको छ ।
अरब समुदायको बहुलता रहेका संयुक्त सूची (जोइन्ट लिस्ट) र मुस्लिम राआम पार्टीले १७ देखि १८ सिट जित्ने अनुमान गरिएको छ । उनीहरूको समर्थनले सरकार गठनमा निर्णायक भूमिका खेल्न सक्ने देखिएको छ ।
यद्यपि, नेतान्याहु र आइसेनकोट दुवैले अरब पार्टीसँग मिलेर सरकार गठन नगर्ने बताइसकेका छन् । एक्जिट पोल प्रारम्भिक अनुमान मात्र हुन् । निर्वाचनको अन्तिम आधिकारिक नतिजा आगामी केही दिन वा हप्ताभित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ । सीसीटीभी प्लस

