Harsamaya
विधान अनुसार अघी बढ्ने विशेष महाधिवेशन पक्षधरलाई खड्काको आश्वासन
नेपाली काँग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्का ।

काठमाडौं - नेपाली काँग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेको समूहका नेताहरूले छलफल गरेका छन् । छलफलमा सहभागी भएका काँग्रेस नेता मनोजमणी आचार्यका अनुसार शनिबार दिउँसो हस्ताक्षर अभियान चलाइरहेका सात जना नेताहरूसँग दुई घण्टा बढी छलफल भएको हो ।

आचार्यका अनुसार छलफलमा कार्यवाहक सभापति खड्काले हस्ताक्षर अभियानबारे आफूले केन्द्रीय कार्यसमिति र पदाधिकारी बैठकमा जानकारी गराएको भन्दै विधान सम्वंत महाधिवेशनमा जाने बताएका थिए । “५४ प्रतिशत साथीहरूको हस्ताक्षर बुझाएपश्चात् पहिलो पटक उहाँले बोलाउनुभयो । हामीले हस्ताक्षर सङ्कलन गर्नुको कारण बारे हामीले स्पष्ट जानकारी गरायौँ‚” आचार्यले भने‚ “उहाँले पनि गम्भीर रूपमा लिएको छु विधान संवत् अघि बढ्छु भन्नुभयो ।”

पार्टी कार्यालयमा भएको छलफलमा २३ र २४ भदौको घटना पश्चात् परिवर्तन भएको परिस्थितिमा नीति नेतृत्व र विधान लगायत विषयमा अघि बढ्न तत्काल महाधिवेशन आवश्यक भएको हस्ताक्षरकर्ताहरूले बताएका थिए । जसमा खड्काले आफू किसुनजीको अनुयायी भएको भन्दै भनेका थिए‚ “पार्टीको विधानको व्यवस्थामा रहेर म काम गर्छु भन्नुभयो । म किसुनजीको अनुयायी पनि हुँ भन्दै लामो इतिहास सुनाएर यस्तो बताउनुभएको छ।” छलफलमा हस्ताक्षर अभियान चलाइरहेका नेताहरू गुरुराज घिमिरे, देवराज चालिसे, रमेश धमला, नारायण भट्टराई, जनकराज गिरी, सुवास पोखरेल, मनोजमणी आचार्य सहभागी थिए।

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update