Harsamaya
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, अयोध्यादेखि जनकपुरसम्म रेल सञ्चालनका लागि परीक्षण
प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेश सचिव विक्रम मिस्री ।

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार भएको भेटमा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्य र प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणबारे छलफल भएको हो।

भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै गएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारतले तत्काल राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार टोली खटाएर गरेको सहयोगप्रति आभार व्यक्त गरे। उनले विपद्का बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत सहयोगको प्रतिबद्धता जनाएकामा पनि धन्यवाद दिए।

प्रधानमन्त्री शाहले नेपालको खेलकुद क्षेत्रको विकासका लागि भारतसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा समेत चासो राखेका थिए।

भेटमा भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई लिएर तयारी तीव्र पारिएको जानकारी गराए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउँदै प्रधानमन्त्री शाहको भारत भ्रमण सफल बनाउन भारतले आवश्यक तयारी गरिरहेको बताए।

मिस्रीले ऊर्जा, जलस्रोत, व्यापार–पारवहन र उड्डयनसम्बन्धी नेपाल–भारत द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको पनि जानकारी गराए।

यसैगरी, भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको उनले बताए। उक्त मार्गमा बिहीबार नै रेल परीक्षणसमेत गरिएको जानकारी मिस्रीले प्रधानमन्त्री शाहलाई गराएका थिए।

प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३  २१:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update