Harsamaya
चाडपर्वको सुरक्षा व्यवस्थाबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्री शाहले लिए ब्रिफिङ
प्रधानमन्त्री वालेन्द्र शाह ।

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन् ।

प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति–सुरक्षा व्यवस्थापनबारे जानकारी लिएका हुन् ।

ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले देशको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच आपसी समन्वय, सूचना आदानप्रदान तथा सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

उनले नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन र अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री शाहले चाडपर्वका समयमा शान्ति–सुरक्षा व्यवस्थालाई थप चुस्तदुरुस्त बनाउन तथा नागरिकलाई सुरक्षित वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायलाई सचेत गराएका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update