काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलदेव तिमल्सिनाले प्रहरी महानिरीक्षकलाई कार्यकाल पूरा नहुँदै हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै तिमल्सिनाले प्रहरी संगठन कुनै सरकारको निजी सम्पत्ति नभई राज्यको स्थायी संस्था भएको उल्लेख गर्दै प्रहरी नेतृत्व परिवर्तन गर्ने निर्णयले विधिको शासन, संस्थागत मर्यादा र प्रहरीको व्यावसायिक स्वतन्त्रतामाथि प्रश्न उठाएको बताएका छन् ।
उनले प्रहरी संगठनलाई राजनीतिक स्वार्थ, प्रतिशोध र सत्ता अनुकूलताको बन्दी बनाउन खोज्नु स्वीकार्य नहुने बताएका छन् ।
राज्यका सुरक्षा निकायलाई राजनीतिक प्रयोगशाला बनाउने सरकारको निर्णयको कानुनी आधार र औचित्यमाथि समेत उनले प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै तिमल्सिनाले सत्ता अस्थायी भए पनि राज्य स्थायी रहने उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘सत्ता अस्थायी हो, राज्य स्थायी हो ! विधिभन्दा माथि सरकार छैन !!’

