Harsamaya
 भारतीय विदेश सचिव मिश्री काठमाडौंमा
भारतीय विदेश सचिव विक्रम मिस्री ।

काठमाडौं - भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आइपुगेका छन्। दुई दिने भ्रमणका क्रममा उनी बुधबार बिहान काठमाडौं ओर्लेका छन् ।

सचिव मिश्रीलाई भारतीय राजदूत सुधाकर दलेलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । सचिव मिश्री चार महिनाअघि नै नेपाल आउन चाहेका थिए । तर प्रधानमन्त्री बालेन्द्र शाह बालेनले भेट नदिने भएपछि भ्रमण स्थगित भएको थियो ।

पछिल्लो समय प्रधानमन्त्री बालेनले भारतसँग सम्बन्ध सुधार गर्न खोजेका छन् । रास्वपा सभापति रवि लामिछानेलाई नयाँ दिल्लीले न्यानो स्वागत गरेपछि झस्केका बालेनले आफ्ना प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनलाई गोप्य रूपमा भारत पठाएका थिए ।

बेनले भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुखलाई नयाँ दिल्लीस्थित एक होटलमा भेटेर दुई देशबीच सम्बन्ध बढाउन प्रस्ताव गरेपछि सचिव मिश्रीको नेपाल भ्रमण तय भएको थियो । सोहीअनुसार मिश्री बालेनको सम्भावित भारत भ्रमणको तयारीका सिलसिलामा बुधबार नेपाल आइपुगेका हुन् । उनले प्रधानमन्त्री बालेनलाई भेटेर भारत भ्रमणको औपचारिक निमन्त्रणा दिने बुझिएको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १८, २०८३  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update