काठमाडौं - नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले सरकारले नियोजित र प्रायोजित विवरणहरू सार्वजनिक गरेर राजनीतिक चरित्रहत्या गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।
अनुसन्धानको मूल उद्देश्य सत्य तथ्य पत्ता लगाउनु हुनुपर्नेमा सरकार भने प्रतिपक्षलाई खुइल्याउने र सत्तानिकटमाथिका प्रश्न ओझेलमा पार्ने दिशामा अघि बढेको उनको भनाइ छ।
कांग्रेस महामन्त्री गगन थापाको नाम जोडिएको विषयलाई लिएर सार्वजनिक भएको अडियोको वैधानिकतामाथि प्रश्न उठाउँदै नेता राणाले भने,’इनम सापकोटाको ‘बयान’ भनिएको अडियो कहाँ, कहिले र कसले रेकर्ड गर्यो? जनआस्थामार्फत सार्वजनिक भएको उक्त सामग्रीको मूल स्रोत र आधिकारिकता के हो?’
अनुसन्धानका संवेदनशील विवरण आफूले सार्वजनिक नगरेको भन्दै प्रहरीले पन्छिन खोजेको र अर्कोतिर बरामद गरिएको मोबाइल प्रधानमन्त्रीका सल्लाहकारको नियन्त्रणमा पुगेर संवाद मेटाइएको गम्भीर आरोप लागेको भन्दै उनले यी प्रश्नहरू अनुत्तरित राखेर सरकारले सुशासनको दाबी गर्न नमिल्ने स्पष्ट पारे।
‘सरकारको दिशा ठीक छैन’ ,राणाले भने, ‘प्रतिपक्षसँग जोडिएका आरोपलाई बढावा दिने र सत्तानिकट व्यक्तिहरूमाथि उठेका प्रश्नलाई दबाउने प्रयास स्वीकार्य हुँदैन।’
उनले सबै प्रकारका आरोपहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न, सम्बन्धित प्रमाणहरू सुरक्षित राख्न र सत्यतथ्य यथाशीघ्र सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेका छन्।

