Harsamaya
हिमपहिरोमा परेर तीन जनाको मृत्युु, आठ बेपत्ता
सांकेतिक तस्वीर : हर समय/harsamaya

दोलखा- गौरीशंकर गाउँपालिका–९ स्थित गौरीशंकर तथा रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत आरोहणका लागि गएका विदेशीसहित स्वदेशी पथप्रदर्शक रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिकै आज बिहान हिमपहिरोमा परेका छन् ।

हिमपहिरोमा परेर एक विदेशीसहित दुई नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । आरोहणका लागि गएका १५ विदेशीसहित स्वदेशी पथप्रदर्शकको समूह आज बिहान ९ बजेतिर यलुङरी नजिकै हिमपहिरोमा परेको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । उनीहरूको अवस्था अझै एकिन हुनसकेको छैन ।

आज बिहानैदेखि उद्धारका लागि प्रशासनलाई आग्रह गरे पनि उद्धारमा ढिलाइ भएको वडाध्यक्ष निमगेली शेर्पाले बताए । हेलिकप्टर उडानका लागि रोल्वालिङ क्षेत्र प्रतिबन्धित भएकाले प्रशासनले अनुमतिमा ढिलाइ गर्दा थप समस्या भएको शेर्पाको भनाइ छ । हिमपहिरोमा परेकाको खोजीको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

सम्पर्कविहीनहरुको खोजी र उद्धारका लागि हेलिकोप्टर त्यसतर्फ पठाएपनि प्रतिकूल मौसमका कारण घटनास्थलमा पुग्न नसकेको प्रहरीले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ गइरहेको पनि प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update