काठमाडौं - नेपाली काँग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले आगामी वैशाख २५ गतेदेखि २८ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने निर्णय गरेका छन्। आज बसेको बैठकबाट संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको यस्तो निर्णय आएको हो।
पार्टीमा केन्द्रीय कार्यसम्पादन समितिमा महाधिवेशनको मितिबारे विवाद भइरहेको बेला संस्थापन पक्ष केन्द्रीय सदस्यहरूको यस्तो निर्णय आएको हो। कार्यसम्पादन समितिमा संस्थापन इतर समूहले आगामी मङ्सिर मसान्तभित्र महाधिवेशन गर्नुपर्ने र संस्थापनले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् ।
यस्ता छन् ७ प्रस्ताव
१ . घोषणा भएको फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनमा भाग लिनका लागि सम्पूर्ण पार्टी तहलाई सक्रिय रहन आह्वान गर्ने ।
२. पुस १५ भित्र क्रियाशील सदस्य नवीकरण गरी नयाँ वितरण गरिसक्नुपर्ने। सम्पूर्ण तहमा घरदैलो अभियान सञ्चालन गर्दै निर्वाचनको लागि जागरण अभियान सञ्चालन गर्दै सङ्गठनलाई तयार पार्ने। साथै प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिकको उम्मेदवारी सिफारिस गर्ने र राष्ट्रिय सभाको उम्मेदवार पनि सिफारिस गर्ने।
३. प्रतिनिधि सभाको निर्वाचनपछि पार्टीको १५ औँ केन्द्रीय महाधिवेशन २५, २६, २७ र २८ गते वैशाखमा गर्ने ।
४. समानुपातिक र राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरू पार्टीका वर्तमान र पूर्वपदाधिकारीहरू बाहेक हालसम्म कुनै अवसर नपाएकाहरू मध्ये बाट बनाइनुपर्ने पर्ने।
५ .केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समितिमा अवसर नपाएका युवाहरू मध्येबाट उचित प्रतिनिधित्व गराउने
६. क्रियाशील सदस्यता छानबिन समिति तुरुन्त बनाउने ।
७. विधान संशोधन समिति बनाउने।

