Harsamaya
 जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहिद घोषणा
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल ।

काठमाडौं - सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहिद घोषणा गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरुलाई राज्यको तर्फबाट शहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । 

गृह मन्त्रालय लगायत सरोकारवाला निकायबाट गरिएको अध्ययनपछि अहिले ४५ जनालाई शहिद घोषणा गरिएको भन्दै प्रवक्ता खरेलले थपको सन्दर्भमा अझै अध्ययन जारी रहेको बताए । 

मन्त्रिपरिषद्ले बेपता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप कोष नियमावली २०८२ स्वीकृत गरेको छ भने विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको इलामका प्रभावित स्थानीय तहहरुलाई सहयोग उपलव्ध गराउन आवश्यक पर्ने रकम ५ करोड ३० लाख बिपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए । 

बैठकले बैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधीवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय गरेको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update