Harsamaya
कात्तिक १६ : दिनभरका घटनाक्रम एक नजरमा
कात्तिक १४ : दिनभरका घटनाक्रम एक नजरमा ग्राफिक्स: हर समय/Har Samaya

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छिन् । पर्यटन मन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आइतबार निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएकी हुन् । 

देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

८ वामपन्थी दलबिच पार्टी एकता सहमति, कार्तिक १९ मा संयुक्त सम्मेलन

नेपालको प्रमुख वामपन्थी ८ दलहरूले  पार्टी एकता सहमति गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरणमार्फत समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्ने उद्देश्यसहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी) बिच १८ बुँदे ‘पार्टी एकता सहमति पत्र’ मा हस्ताक्षर गरिएको छ ।

सहमति अनुसार आगामी १९ गते सहभागी सबै घटक दलका केन्द्रीय समितिहरूको संयुक्त भेलाको रूपमा एकता राष्ट्रिय सम्मेलन आयोजना हुनेछ ।

मुख्यमन्त्रीहरूले भने: निर्वाचनको वातावरणका लागि संघ सरकारसँग सहकार्य गर्न तयार छौँ 

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले निर्वाचनको वातावरण निर्माणका लागि संघ सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री कार्कीले राजनीतिक दलसहित सबै पक्षसँग संवाद र छलफल अघि बढाएकामा सह्राना गर्दै उनीहरूले निर्वाचनका पक्षमा वातावरण बनाउन यी कदम फलदायी बन्ने विश्वास पनि व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका कर्मचारीलाई तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन 

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छिन् । पर्यटन मन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आइतबार निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएकी हुन् । 

कुनै समय गौरव गर्नलायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै निगमभित्रका बेथिति हटाउन कसैको मुख नहेरी कठोर रूपमा लाग्न पनि उनले निर्देश गरिन् । 

राजदूत फिर्ताविरुद्धको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

राजदूत फिर्ताविरुद्धको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । आइतबार न्यायाधीशहरु शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले यस्तो आदेश जारी गरेको हो । निर्णयविरुद्ध सुनील भट्टराईले रिट दायर गरेका थिए । मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

सहमत्तिपछि फोहोरका गाडी जान थाले ल्याण्डफिल्ड साइट

काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा विसर्जन गर्न विगत पाँच दिनदेखि भइरहेको अवरोध हटेको छ । अवरोध हटेपछि सडकमै अलपत्र परेका र काठमाडौंमा फोहोर लोड भएका गाडी ल्याण्डफिल्डसाइटतर्फ जान थालेका छन् । 

ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटका स्थानीयले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको हो ।

मन्त्री घिसिङले प्रभावित बासिन्दासँग विगतमा भएका सहमति एवम् सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । उनले सहमति कार्यान्वयको प्रक्रिया अगाडि बढाउन १५ दिनको समय माग गर्दै फोहोर फाल्न अवरोध नगर्न अनुरोध गरेका थिए ।

लन्डन जाने रेलमा छुरा प्रहारः ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ

पूर्वी इङ्गल्यान्डबाट लन्डनतर्फ गइरहेको रेलमा भएको सामूहिक छुरा प्रहारको घटनापछि बेलायतभर त्रास र अराजकता फैलिएको छ । आइतबार बिहानसम्म अस्पतालमा रहेका १० जनामध्ये नौ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीका अनुसार दुई जना संदिग्धलाई नियन्त्रणमा लिइएको छ र उनीहरूको उद्देश्य पत्ता लगाउने कार्य तीव्र गतिमा भइरहेको छ । आक्रमणको प्रारम्भिक विवरण अझै अस्पष्ट छ ।

शनिबार साँझ करिब साढे सात बजे लामो दूरीको रेल हन्टिङडन सहरमा आपत्कालीन रूपमा रोकिँदा रगतले लतपत यात्रुहरू बाहिर निस्कँदै थिए ।


 

 

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  २२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update