Harsamaya
‘हत्या’ले मान्छेलाई ‘डेप्थ’मा पुगेर हेर्न सहयोग गर्छ : सुदीप तिमल्सिना
ग्राफिक्स: हर समय/Har Samaya

विदेश अहिलेका प्राय नेपाली युवाको सपना हो । उनीहरूको उद्देश्य नै विदेश जाने हुन्छ । चाँहे विदेशमा सुख होस् या दुख । तर, सुदीप तिमल्सिना यस्ता व्यक्ति हुन् जो विदेशी सपना त्यागेर नेपाल फर्किए । उनी अमेरिका त पुगे तर खुशी हुन् सकेनन् । जीवन बाँच्न सकेनन् । त्यसैले उनी खुशी खुशी जीवन जिउन फर्किए आफ्नो घर । 

उनी सात वर्षदेखि अभिनय र निर्देशनमा व्यस्त छन् । अभिनयबाट आफ्नो क्यारिएर सुरु गरेका उनी अहिले निर्देशनमा आफ्नो भविष्य कोर्दै छन् । उनले भारतको मुम्बई फिल्म सिटी भित्रको ‘ह्विस्लिङ वुड्स इन्टरनेशनल’बाट २ वर्षको अभिनयको कक्षा लिए । 

खारिएर ४ वर्षअघि फर्किएका उनी अहिले नेपालका नाम चलेका फरक-फरक संस्थाहरूमा अभिनय सिकाउँछन् । ओस्कार इन्टरनेशनल कलेज, नेपाल फिल्म क्याम्पस र मण्डला थिएटरमा उनी अभिनय सिकाउँछन् । मण्डलासँग तिमल्सिना तीन वर्षदेखि आबद्ध छन् । उनले ओस्कार कलेजमा तीन वटा नाटकहरू निर्देशन गरे भने मण्डलामा ‘हत्या’ को निर्देशन गरेका छन्।

रंगमञ्‍चमा प्रवेश कसरी भयो ? सानैदेखिको उद्देश्य थियो कि समयअनुसार आइ पुग्नुभयो ?
सोख भनौं या रहर मलाई पहिले देखि थियो । तर, म यसैलाई नै जिन्दगी बनाउँछु भन्ने थिएन । हाम्रो संस्कृतिमा ओखो! हिरो बन्न पाए हुन्थ्यो, हिरोइन बन्न पाए हुन्थ्यो भन्ने कुरालाई त्यति ‘सिरियस्लि’ लिइँदैन थियो । नाच्ने, गीत गाउने , नाटक, फिल्म हेर्ने सोख पहिले देखि नै थियो ।  केही समय म भित्र भएको रूचिलाई मैले ‘प्यासन्स’ नै बनाएर अगाडि बढे । ब्याचलर सकेर म अमेरिका गएको थिएँ । काम पनि गरिरहेको थिएँ । तर, त्यो काम गर्दा रमाइलो भइरहेको थिएन ।  यहीँ नै गरेर जिन्दगीभर बस्न सकिन्छ जस्तो लागेन । मैले खोजेको बाटो अर्कै हो कि भन्ने मलाई त्यतिबेला महसुस भयो,अनि नेपाल आए । 

रंगमञ्‍चमा पैसा छैन भन्ने थाहा हुँदाहुँदै तपाईं अमेरिका पुगेर किन नेपाल फर्कनुभयो ?
यो भनेको त ‘प्यासन’ हो । आफूलाई के गर्दा खुशी मिल्छ ? के गर्दा रमाइलो लाग्छ ? त्यो सबै भन्दा महत्वपूर्ण हो  ।पैसा पनि महत्त्वपूर्ण छ, छैन भन्दिन । तर, आफूले गरेको कामलाई कति ‘इन्जोए’ गरेको छ ? त्यसले आफूलाई कतिको खुशी दिन्छ ? कतिको आनन्द दिन्छ ? त्यो पनि महत्त्वपूर्ण हो । 

हत्या नाटकको मूल विषयवस्तु के हो? यसले दर्शकलाई कस्तो प्रभाव पार्छ ?
हत्या नाटक मनोवैज्ञानिक ‘थ्रिलर’ हो । यसले देखाउन खोजेको अपराधलाई  फरक-फरक सोच भएका फरक-फरक मान्छेहरूले कुन रूपमा लिन्छन् ? अपराध भनेको के हो ? कसैको नजरमा त्यो ठीक होला, कसैको नजरमा त्यो बेठीक होला । यो मान्छेको सोच अनि मनोविज्ञानलाई भित्री रूपमा हेरेर, केलाएर एउटा निष्कर्ष निकाल्न खोजिएको छ । यसले कस्तो प्रभाव पारेको छ भन्ने चाहिँ मैले पनि दर्शकको मुखबाट सुन्नुछ । यो नाटकले मान्छेलाई ‘डेप्थ’मा पुगेर हेर्न सहयोग गर्छ । प्रायः मान्छेले मान्छेलाई हेर्ने नजर सतही मात्र हुन्छ । त्योबाट अलिकति हटेर, अलिकति भित्र छिरेर मान्छेको सोचलाई, मान्छेको परिकल्पनालाई, मान्छेको मनोविज्ञानलाई गहिराइमा गएर हेर्न प्रोत्साहित गर्छ ।

तपाईंले प्याट्रिक ह्यामिल्टन को  ‘Rope’ जस्तो मनोवैज्ञानिक थ्रिलरलाई नेपाली भाषामा रूपान्तरण गर्नुभयो र निर्देशन गर्नुभयो, यो नाटक चयन गर्ने प्रेरणा के थियो?
यो नाटक मलाई आफैँलाई रमाइलो लागेको हो। म कलेजमा विद्यार्थी  हुँदा यो नाटकसँग सम्बन्धित ‘चेन वर्क’हरू गरेको थिएँ । मलाई यसको विषयवस्तु एकदमै राम्रो लाग्यो । मैले यो नाटक निर्देशन गरे भने देखाउन खोजेको, दर्शाउन खोजेको कुराहरू सजिलैसँग ‘अडियन्स’सँग ‘कम्युनिकेट’ गर्न सक्छु भन्ने महसुस भयो। त्यो कारणले मैले यो नाटक चयन गरे । अर्को कारण विगतमा मैले जति नाटकहरू निर्देशन गरे त्यो ‘सोसियल ड्रामा’सँग सम्बन्धित थियो । हुन् त यो पनि ‘सोसियल ड्रामा’ सँग नै सम्बन्धित छ । तर, त्योबाट अलिकति फरक भएर केही नयाँ कोसिस गरौं जस्तो लाग्यो । त्यही भएर मैले यो चयन गरे । 

‘वेस्टर्न’ नाटकलाई कतिको नेपाली शैलीमा ढाल्नु भएको छ ? कि सबै विदेशी कथामै आधारित हो ?
हामीले कोसिस गरेका छौं । पुरै ‘वेस्टर्न’ भनेर ठ्याकै त्यहीँ नै ‘लाइफस्टाइल’लाई कपी गर्न खोजेको होइन । नेपाली ‘लाइफस्टाइल’मा यसलाई कसरी ढाल्न सकिन्छ, कसरी राख्न सकिन्छ त्यो कोसिस गरिएको छ । 

नाटकमा अपराध मात्र होइन, अपराध पछाडि रहेको मनोविज्ञान केन्द्रमा छ। तपाईंहरूले यसलाई दृश्यमा कसरी उतार्नुभएको छ ?
हामीले यो चीजलाई कलाकारहरूबीच हुने संवादमा मात्र नभईकन पात्रको बुझाई, उसको परिवेश, त्यो परिवेशमा बसेर उसले आफूलाई गर्ने प्रस्तुतिमा देखाउन खोजेका छौं । नाटकमा हेर्दा २ जना कलाकारको संवादमै कतिपय चीजहरू भैरहेको हुन्छ । यो चाहिँ संवादमा मात्र नभई त्यो भित्र लुकेको कुराहरू जस्तै ‘सव-टेक्स्ट’ भित्र छिरेर त्यसलाई आफ्नो तरिकाले परिकल्पना गरेर नाटक बनाउँदा कलाकारहरूलाई यसो गर्नुपर्छ वा त्यसो गर्नुपर्छ भन्दा पनि यो नाटक ‘ओभरअल’ पढिसकेपछि तिम्रो बुझाई के छ ? तिमीलाई के लाग्छ ? तिमीले यसलाई कुन रूपमा प्रस्तुत गर्न सक्छौ जस्तो लाग्छ। कलाकारलाई ‘फ्रिडम’ दिएर उसको परिकल्पनालाई अझ प्रोत्साहन दिएर त्यो कुराहरू देखाउन खोजेका छौं । 

प्लेमा कति जना कलाकारहरू हुनु हुन्छ ? कस्ता पृष्ठभूमिका कलाकारहरू छन् ?
आठ जना हुनुहुन्छ । एक जना नाम चलेको कलाकार हुनुहुन्छ ‘मिस ग्रान्ड इन्टरनेशनल’ । अर्को एक जना निर्देशक हुनुहुन्छ ।  एभरेस्ट फिल्म एकेडेमीमा निर्देशन पढाई राख्नु भएको छ । उहाँहरू बाहेक सबै जना विद्यार्थी नै हुन् । उहाँहरुको आ-आफ्नो व्यक्तिगत पेशाहरू छन् । 

नाम चलेको, काम गरेका कलाकार र विद्यार्थीसँग काम गर्दा कस्तो अनुभव रह्यो ? कतिको सजिलो, गाह्रो भयो ?
अप्ठ्यारोहरु त् यस्तो, म शिक्षक हो। मेरो काम भनेको त थाहा नभएको कुरा बुझाउने हो। अप्ठ्यारोहरू आउनु स्वभाविक हो । तर, पनि ‘डेठिकेटेड’ विद्यार्थीहरू भैसके पछि आफूले बुझाउन खोजेको कुरा बुझाउन बढी सजिलो भैदिन्छ । 

यो नाटकको लागि कति समय अभ्यास गर्नुभयो ? कहिलेबाट यो नाटक चल्ने हो ?
यो नाटकको लागि लगभग २० दिन रिहर्सल गरियो । तर, त्यो भन्दा अगाडि नै मैले कक्षाहरू लिइरहेको थिएँ । किनकी उनीहरूलाई नाटक गराउने भनेर सिधैँ नाटकमा ‘जम्प’ गराउनु अघि नाटकको लागि चाहिने फरक-फरक चीजहरूको अभ्यास गराउनुपर्ने हुन्छ । नाटक असारको ५ गते देखि सुरु हुँदैछ । असारको १५ गतेसम्म चल्छ । दिउँसो ४ बजेबाट सुरु हुन्छ । शनिबार हाम्रो २ वटा शो हुन्छ १२ बजे र ४ बजे भने सोमबार बिदा हुनेछ ।

‘हत्या’ दर्शकहरूले किन हेर्नुपर्छ ? दर्शकका लागि तपाईँको सन्देश के छ ?
यो एउटा नयाँ ‘टेष्ट’ हो । जुन किसिमको नाटक देख्दै आइरहेका हुन्छौं त्यो भन्दा अलिकति पृथक् छ । यसले  ‘एक्स्पोलर’ गर्न खोजेको ‘टपिक्स’ अलि फरक छ। हामी अपराधको कुरा गरिरहेको छौं । अपराधलाई कुन मान्छेले कसरी हेर्छ ? मान्छेको सोच, मानसिकता जस्ता चीजहरू बाहिर देखिँदैन । त्यो चीजहरूलाई ‘एक्स्पोलर’ गर्न खोजेको छ। सायद त्यो कारणले गर्दा यो नाटक बढी चाख लाग्दो हुन्छ जस्तो लाग्छ । 

हत्यालाई नेपाली रंगमञ्‍चको सन्दर्भमा नयाँ प्रयोग वा धारको रूपमा लिन सकिन्छ? किन?
सायद सकिन्छ । मान्छेको सोच, मानसिकता र मान्छेले हेर्ने दृष्टिकोणलाई समाजसँग ‘कनेक्ट’ गरेर त्यहाँको सिकाइ बुझाइले कसरी फरक पारिराखेको हुन्छ त्यो कुराहरू हेर्न खोजिरहेको हो। त्यो गर्दागर्दै पनि केही ‘इलमेन्ट्स’हरू यस्तो छ, जुन किसिमको सिकाई बुझाइ उसले सिक्न सक्छ । अपराध भनेपछि केही चीज अपराधीबाटै सिकेको होला । अथवा, त्यो कुरा अपराधीबाट नसिकी उसले सुनेको कुराहरूलाई गलत व्याख्या गरेको हो कि। यो किसिमको ‘प्ले’ हरू  धेरै भएको पनि छैन होला। रंगमञ्‍चको दुनियाँमा हेर्ने हो भने सायद एक किसिमको पृथक् खालको अनुभव पनि हुन सक्छ । 

निर्देशनको क्रममा सबैभन्दा ठूलो चुनौती के रह्यो? नेपाली सन्दर्भमा यस्ता गहिरा विषयहरूलाई दृश्यमा उतार्न कति कठिन भयो?
मेरो चुनौती भनेको विद्यार्थी भाइबहिनीहरू छन्, जोसँग म डिल गरिरहेको छु । यो नाटक ‘रिहर्सल’ सुरु भैसकेपछि भन्दा अगाडिको चीजहरू जस्तै, उनीहरूलाई बुझ्ने , उनीहरूलाई बुझेर के मा ‘पुस’ गर्नुपर्यो हो, कुन किसिमका कमी कमजोरीहरू आदि । यो दुई महिनाको क्लास हो । लामो समयसम्म विद्यार्थीहरूसँग ‘कनेक्सन’ भैसकेको हुन्छ । तर, झट्ट एक वा २ महिनामा आएर त्यो ग्रुपमा भिजेर गर्दा कमीकमजोरीहरू पत्ता लगाउन केही समय लागेको थियो ।
कठिन भन्ने त् आफ्नो ‘भिजन’को कुरा हो । धेरै जसो ‘टिमवर्क’मा ‘डिपेन्ड’ हुन्छ । आफूमा भएको सोचलाई अरू मार्फत उतार्न सबै भन्दा पहिला राम्रो ‘अन्डरस्ट्याण्डिङ’ हुनुपर्छ । ‘अन्डरस्ट्याण्डिङ’ राम्रो भैसकेपछि बाँकी चीजहरू सिकाउनेले सिकाउने हो, सिक्नेले सिक्दै जाने हो । 

एउटा राम्रो थिएटर निर्देशक बन्न चाहने कलाकारहरूले कुन गुणहरू विकास गर्नुपर्छ ?
‘फोकस’, ‘प्यासेन्स’, ‘कन्सर्नट्रेसन’ र सबै भन्दा ठूलो कुरा ‘कमिटमेन्ट’ हो । अभिनय, निर्देशन चाहे सिनेमाटोग्राफी होस् या अरू कुनै विधा, फिल्म क्षेत्रको सबै भन्दा मुख्य चीज भनेको ‘प्यास्सन’ हो । तपाई कतिको लगाब दिएर लाग्न सक्नु हुन्छ । यो क्षेत्रमा ‘सक्सेस’ एक दिन, दुई दिन, एक महिना, दुई महिनामा आउँदैन । सफलता हासिल गर्नको लागि समय लाग्छ । अनि यो यात्रालाई सफलताको यात्रा मात्र नभई एउटा ‘लर्निङ प्रोसेस’को रूपमा लिनुपर्छ। आज एउटा कुरा सिकियो । भोलि अर्को कुरा सिकियो दुई महिना, १ वर्ष, २ वर्ष ‘एभ्री टाइम वी वेयर लर्निङ समथिङ’। यसलाई सिक्ने ‘प्रोसेस’को रूपमा लिएर ‘इन्जोए’ गर्दै गयो भने सायद जो नयाँ कलाकारहरू आउनु हुन्छ उहाँहरूलाई सजिलो हुन्छ । 

सरकारले रंगमञ्‍चको भविष्य सुनिश्चित गर्न के गर्देओस् जस्तो लाग्छ ? 
अलिकति योजनाहरू राम्रो भए हुने जस्तो लाग्छ । कतिपय विद्यार्थी भाइबहिनीहरू मैले भेटेको हुन्छु जसमा इच्छा चाहना हुन्छ तर उनीहरूमा दुविधा छ । हाम्रो ‘इन्ड्रस्ट्री’ संगठित छैन । ‘कास्टिक’ गर्न खोजिरहेको हुन्छ । उनीहरू ‘अडिसन’मा जान खोजी रहेका हुन्छन् तर, कहाँ जाने ? के गर्ने ? त्यो ‘अर्गनाइज’ रूपमा भइरहेको हुँदैन । कतिपयको सोच सबै चिनेको मान्छे राख्छन् भन्ने पनि छ । सरकारले यसलाई अलिकति व्यवस्थिति गर्दियोस् । फिल्म बनाउने भनेको मनोरञ्जनका लागि मात्रै होइन् यसले कलालाई जोगाइरहेको छ । हाम्रो सांस्कृतिक पहिचानलाई बचाईरहेको छ । स्कूल ‘लेबल’ देखि नै यस्ता पाठ्यक्रमहरू राखेर नाटकमा, फिल्म दुनियाँमा छिर्न खोज्नेहरूलाई ‘ट्यालेन्ट’को भरमा छानेर उनीहरूलाई प्रोत्साहन दिने काम गर्नु पर्छ ।

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update