
मोरङ बेलबारीमा जन्मिएका सोमनाथ खनाल पढाइका सिलसिलामा काठमाडौं आए । २००७ देखि २००९ सम्म कीर्तिपुरबाट अंग्रेजीमा स्नातकोतर गरे । पढ्दै गर्दा उनी गुरुकुलमा नाटक हेर्न जान्थे । गुरुकुलमा हेरेको नाटकको प्रभावले उनी थिएटरमा काम गर्न थाले । अहिले उनी मण्डला थिएटरको सहसंस्थापक हुन् । १३ जना संस्थापकमध्ये उनी पनि एक हुन् । उनी विशेषतः नाट्य शिक्षामा काम गर्छन् । उनलाई नाट्य शिक्षामा बढी रुचि छ ।
खनाललाई नाटक बनाउन, खेल्ने मन पर्छ । सुरुमा उनले अभिनयबाट नै आफ्नो यात्रा सुरु गरे । पछि निर्देशन गर्न थाले । नाटक लेख्न थाले । लेखनको काम सुरुबाटै गर्थे तर थिएटरका लागि लेख्ने काम चाहिँ अभिनय गरिसकेपछि लेख्नु पनि पर्छ भन्ने हिसाबले लेख्न थाले । अब हामी उनका अनुभव, संघर्ष र दृष्टिकोणमा डुबुल्की मार्दैछौं । प्रस्तुत छ, विशेष अन्तर्वार्ता ।
पढ्नुअघि तपाईंलाई रंगमञ्चमा कतिको लगाव थियो ?
रंगमञ्च भने शब्द धेरै पछि सुनेको । बाल्यकाल देखि नै नाटकहरू मन पर्थ्यो । सडक नाटकहरू गर्थेउ । गाउँका सिनियर आर्टिस्टसँग बालकलाकारको रूपमा काम गरे । तर थिएटर यस्तो हुन्छ भन्ने थाहा थिएन । गाउँमा स्टेज बनाएर पनि गरेको हो । पहिला गाउँघरमा खटिया जोडेर स्टेज बनाउने, पर्दा तन्दा लगाउने गरिन्थ्यो । नेपालमा २०५८/०५९ तिर द्वन्द्व उत्कर्षमा पुगे पश्चात त्यस्ता क्रियाकलापहरू बन्द भए । त्यो सँगसँगै मेरो पनि नाटक छुटेको थियो । म सानै थिए तर त्यति बेला पनि लेखन र निर्देशन गर्थे । छोटो/छोटो सडक नाटकहरू, आउटर फर्मपेन्सहरू गर्थे । यतिमात्र हैन पत्रकारिता पनि गर्थे । त्यहाँबाट काठमाडौंको जनआस्थामा रिपोर्टिङ गर्थेँ । त्यो भन्दा पहिला मैले त्यहाँको २/३ वटा स्थानीय पत्रिकामा पनि काम गरिसकेको थिएँ ।
काठमाडौं आउँदा मलाई पत्रकार नै बन्छु जस्तो लाग्थ्यो । मैले स्नातकसम्म त्यही पढेँ । घरमा मास्टर्स पनि त्यहीँ पढ भन्दै थिए । मलाई त्यही बस्यो भने केही थाहा पाउँदिन भन्ने भयो । घरमा कन्भिन्स गरे र पढ्न काठमाडौं आए । अहिले त्यहाँ पनि धेरै कुरा पाइन्छ। तर, त्यो बेला त्यहाँको संसार नै बेग्लै थियो । म त कुवा मै रैछु जस्तो महसुस हुन्थ्यो । यहाँ आएपछि पत्रकारिता पनि हेरे, बुझे । मैले पत्रकारितामा पनि कोसिस गरे । तर, म अलि महत्वाकांक्षी थिए। सानोतिनो गर्नु थिएन। कोसिस गर्दा नभए पश्चात् मैले के गरौं भनेर सोचिरहेको थिएँ । नाटकहरू हेर्ने गर्दा नाटकमा रुचि थियो । तर, करियर बनाउँछु भन्ने थिएन ।
मास्टर्स सकेलगतै हाम्रो मण्डलाको दया सर (दयाहाङ राई) र राजन सरले बोलाउनु भयो । आउन काम गरौं भन्नुभयो । पहिला मण्डला झोलामा थियो । हामीले मिलेर मण्डला सुरु गर्यौ । काम गर्दै जाँदा विकास हुँदै गयो । केही समयपश्चात् मेरो यहीँ नै करियर रहेछ भन्ने लाग्यो ।
तपाईंले मञ्चन गर्नु भएको नाटक वा अरू कसैको नाटक, कसले तपाईंलाई बढी प्रेरणा दियो ?
म सम्झन्छु अहिले पनि । मलाई नाटकतर्फ डोर्याउने नाटक गुरुकुलका नाटकहरू हुन् । गुरुकुलमा ‘घनचक्कर’ भन्ने नाटक मैले पहिलो चोटि थिएटरमा हेरेको । थिएटर, रंगमञ्च भन्ने शब्द पनि थाहा थिएन । ‘ब्लक बक्स’ हुन्छ भन्ने नि थाहा थिएन । त्यो हेरे पश्चात् ओहो मलाई त यस्तो पनि गर्न मन लाग्छ भन्ने महसुस भयो । यो मेरो पहिलो नाटक थियो । यसले राम्रो र गहिरो छाप छोड्यो । ‘ताराबाजी लै लै’ भन्ने नाटक, ‘खरीको घेरो’ आदि हेरे । जति नाटक हेरे त्यसले मलाई यो क्षेत्रमा केही गर्नुपर्छ भन्ने महसुस गरायो। अहिले सम्झनु पर्दा म त्यही नाटक सम्झन्छु । त्यति बेला दर्शक भएर हेर्दा त्यसले जुन प्रेरणा दियो काम गर्दै जाँदा फरक खालको विश्लेषण हुँदोरैछ।
जुनसुकै काम गर्दा संघर्ष हुन्छ, तपाईंले कस्ता किसिममा संघर्षहरू भोग्नु भयो ?
संघर्ष त हुन्छ आफ्नो खालको । तर मैले भन्ने खालको संघर्ष चाहिँ छैन । मैले आफैसँगको संघर्ष गरे। यो गरौं कि नगरौं ? अथवा के गरौं ? मलाई खास गर्न मन लागेको के हो ? भन्ने कुरामा धेरै संघर्ष गरे । सुरुवातमा मलाई ‘एक्टर’ बन्न मन थियो । तर ‘एक्टिङ’ गर्दै गर्दा मेरो रुचि एक्टिङमा भन्दा धेरै मेकिङ्गमा रहेछ भन्ने महसुस गरे । यो कुरामा आफूलाई ‘कन्भिन्स’ गर्न संघर्ष गर्नुपर्यो । तर म लेख भन्दैमा लेख्न सक्दिन । ‘डाइरेक्सन’ नै गर भन्दा पनि गर्न सक्दिन । म त्यस्तो धेरै ‘प्रोफेसनल’ पनि हैन । आफैंलाई भित्रबाट यो गर्न पर्छ भन्ने लागे पछि गर्ने हो। प्रोफेसनल भने पछि जे आएपनि गर्ने भन्ने हुन्छ। त्यो कुरासँग मेरो आफ्नै संघर्ष थियो । अझै पनि छ । मलाई आफूलाई चित नबुझेसम्म केही काम गर्न मन लाग्दैन । त्यसैले धेरै काम गर्न सकिदों रहेनछ । अलिकति हिजो भन्दा आज ‘पर्फेक्ट’ गर्ने कोसिसमा छु । नाटकमा पैसा छैन भन्ने कुरा पहिला थाहा थियो । पैसा छैन भन्ने पनि यतिकै भास्य बनेको हो । तर, म यही काम गरेर बाँचेकै छु । नाटक गरेर जुन हिसाबको ‘लाइफ स्टाइल’ बाँच्छु भनेर मैले सोचेको थिए त्यही अनुरूप बाँचेको छु । मेरो व्यक्तिगत जीवनमा त्यति धेरै ठूलो सपनाहरू छैन । त्यही भएर सजिलो भएको होला । एउटा आर्टमा आएपश्चात् नाम कमाउ भन्ने त हुन्छ । तर, नाम कमाउनु भनेको पनि के हो त ? भन्ने कुराको बिस्तारै परिभाषा फेरिदैं जाँदो रहेछ ।
तपाईंका लागि सफलताको अर्थ के हो ? व्यक्तिगत र पेशागत जीवनमा ।
सफलतालाई मापन गर्ने केही आधारहरू हुन्छ । प्रोफेसनल लाइफमा ‘माइल स्टोन’ हुन्छ । व्यक्तिगत जीवनमा पनि त्यसै गरी ‘माइल स्टोन’ बनाउन सकिन्छ । मैले केही गर्छु भनेपछि केही पाउँछु भन्ने आशा हुन्छ । जुन अन्त्यमा आयो कि आएन भन्ने कुरा नै सफलता वा असफलता हो। अर्को कुरा सफलता भन्दा बढी सिकाइ नै हुन्छ । त्यो सिकाइले जीवनमा अर्को बाटो बनाउँछ । म त्यति धेरै ठूलो मापदण्ड त बनाउँदिन । तर, आफ्नो लागि सामान्य हिसाबले चल्ने । आफूलाई मन लागेको काम गर्ने । त्यही चीज भए सफल भए जस्तो लाग्छ । सधैँ सफल भइँदैन त्यसमा मेहनत गर्नुपर्छ । मेहनत गर्दै जाँदा एउटा बिन्दुमा पुगिन्छ तर, त्यसलाई पनि सफल भन्न मिल्दैन । सफलता भनेको सायद एउटा बिन्दु हुन्छ होला । हामी त्यही ‘प्रोसेस’मा बाँचिरहेका छौं । यो यात्रा हो !
‘मञ्जिरा’ नाटक लेख्ने प्रेरणा कहाँबाट आयो ? यो कस्तो खालको नाटक हो?
एक जना साथी सन्देश घिमिरे हुनुहुन्छ । उहाँले म कुनै विदेशी नाटकको अनुवाद गर्छु नाटक गरौं भनिरहनु भएको थियो। एक/दुई वटा नाटकहरूको कुरा भएको थियो । तर खास आइडिया आइरहेको थिएन । एक दिन उनले डेथ एण्ड मेइडेन भन्ने एरिएल डोर्फम्यान का चिल्लीको नाटक पढ्न दिए । मलाई मन पर्यो । त्यो नाटकको विषयवस्तु द्वन्द्वको बेलामा हुने यौन हिंसाको थियो । म पनि अलिअलि द्वन्द्वको विषयमा काम गरिरहेको हुनाले त्यो कथाले छोयो । त्यो नाटकलाई अनुवाद गरेर गर्ने की भनेर छलफल भयो । तर, नेपालमा यस्तो घटना धेरै मिल्छ। थुप्रै कहानी छन् । हाम्रै सन्दर्भमा भएको कुरा हामी दुवै जना भएर लेखौं न भनेर थाल्यौं । यही कारणले मञ्जिरा जन्मियो। अब शीर्षकको कुरा गर्दा मैले सोचेको राख्दा राष्ट्रियताको कुरा आउला । विवादित होला भन्ने लाग्यो। हाम्रो प्लेको मुख्य भूमिकाको नाम के राखौं भन्दा मञ्जिरा राखौं भनेर सहकर्मीहरूले सिफारिस गरे । सोही अनुसार मञ्जिरा चयन भयो । यसले पश्चिम भेगका थारु समुदायलाई पनि प्रतिनिधित्व गर्छ । हाम्रो पात्र पनि त्यस्तै हुन्छ भन्ने भयो । मञ्जिरा भनेको बाजा पनि हो । हामी यता तिर ‘टिन्चु’ भन्छौ । त्यो बाजाको ‘रिफ्रेन्स’ ल्याउँदा त्यो बाजा रोकिएपछि त्यसको धुन रोकिन्छ .. त्यही कारण ‘मञ्जिरा द म्युटेड मेलोडी’ भन्ने चयन भयो ।
तपाईंको निर्देशनमा यो नाटक अन्य नाटकहरूभन्दा कसरी फरक छ? विशेष प्रयोगहरू वा दृष्टिकोण के-के छन् ?
फरक त सबै नाटक फरक हुन्छ । ‘कन्सेप्ट’ देखि सबै चीज फरक हुन्छ । नाटकीय तत्वहरू, भाषाहरू र आइडिया सबै फरक हुन्छ । अहिलेसम्म नभएको भन्न त सक्दिन तर हामीले काम गरिरहेको भन्दा फरक हो । मेरो शैलीबाट हेर्ने हो भने मैले जस्तो खालको काम गरिरहेको थिएँ त्यसमा अझै फरक हो । मैले यसपालि आफूलाई परीक्षण गरेको छु । मेरो आधार चाहिँ ‘टेक्स्ट’ हो । डिजाइन भन्दा पनि म टेक्स्टमा काम गर्न रुचाउँछु । टेक्स्टको आधारमा नाटक डिजाइन गर्छु । किन गर्ने त मैले नाटक ? पहिला गरी रहेकै चीज गर्ने हो भने के मज्जा भयो र ? त्यसैले यस पटक मैले डिजाइन, कोरियोग्राफी, मुभमेन्ट्सहरू कोसिस गरेको छु । मैले नयाँ गर्नु छ र दर्शकलाई पनि केही नयाँ दिनु छ भनेर फरक गरेको हो ।
यो सामाजिक/राजनैतिक विषयवस्तुमा आधारित छ । कन्सेप्टमा अहिले रेगुलर भइरहेको ‘जनरा’मा ‘सस्पेन्स थ्रिलर’ जनरामा निर्माण गरिएको छ । मान्छेलाई यसको कथाले अब के हुन्छ भनेर बाँधेर राख्छ । एकदमै भावनात्मक अनुभूति हुन्छ । मान्छेले भावनामा डुब्नु भन्दा पनि भावनामा यात्रा गरेर अब के गर्ने त भनेर सोच्नेसम्म होस् भनेर ब्रेक्टियन स्टायल अफ थिएटर शैलीमा निर्माण गरिएको छ । यसमा ब्रेक्टियन शैलीको डिभाइसहरू प्रयोग गरेको छु । त्यो के-के छ भनेर आएर हेर्नु पर्छ ।
नाटकको निर्देशनमा सबभन्दा चुनौतीपूर्ण पक्ष के लाग्यो? कुन क्षणले तपाईंलाई सबैभन्दा गहिरो प्रभाव पार्यो ?
गाह्रो भनेको चाहिँ मलाई समय व्यवस्थापन थियो । समय त लामै थियो तर ३/४ महिना हामीले टेक्स्टमा काम गर्यौ। दुख टेक्स्ट मै भयो । म टेक्स्ट बेसबाट आएको हुनाले मलाई टेक्स्ट एकदमै चित्त बुझ्नुपर्छ।
प्लेमा नयाँ कथाहरू मोड्ने कोसिस गर्यौं। अन्तिम घडी सम्मपनि म टेक्स्टमा काम गरेको गर्यै थिए । अरूमा कम समय दिन पाए । हुन् त सबै कलाकारहरू अनुभवी हुनु हुन्थ्यो । जसले गर्दा निकै सजिलो भयो। उहाँहरूले छिटो बुझ्नु हुन्थ्यो र छिटै ‘पिकअप’ गरेर लानु हुन्थ्यो।
कथाको माग भन्दा पनि प्ले चलाउन चर्चित कलाकार घुसाउनु भएको हो ?
एक हिसाबले हामी कमर्सियल भै सकेपछि प्ले कसरी बेच्ने सोच्नैपर्छ । बजारमा चलेको हल्लालाई म नराम्रो मान्दिन । तर मेरो मनसाय त्यो मात्र होइन । मण्डलाकै कलाकार राख्ने हो भने बाहिरबाट बोलाउनै पर्दैन । हाम्रै कलाकार ३/४ जनालाई ल गरौं भने त हुन्छ । तर कथाको माग थियो कि थिएन ? यो मान्छे यसमा फिट थिएन, मार्केटिंगको लागि मात्र राखेको हो भन्ने खालको तर्क दिनुभयो भने म उहाहरूसँग छलफलका लागि तयार छु । उहाँहरूलाई कहीँ लागेको छ भने म एकदमै सकारात्मक रूपमा लिन्छु ।
तर त्यस्तो होइन कलाकार हो सबै जना । अझ सरोज दाइ जस्तो कलाकारलाई नाटकमा काम गर्न मन भइरहेको हुन्छ । उहाँले बेला-बेला सोमजी नाटक गर्नुपर्यो भन्नुहुन्छ । तर सबै नाटकमा सबै पात्र फिट हुँदैन । उहाले फिल्ममा जति मेहनत गर्दा आर्थिक र अरू हिसाबले पाउनुहुन्छ त्यो नाटकमा पाइँदैन। त्यो कुरा दिन सकिँदैन भने हामीले उहाँलाई ‘इन्गेज’ गरेर राख्न पनि मिल्दैन । तर उहाँसँग लगाव छ । उहाँ फेरि नाटकबाटै जानु भएको हो । नाटकको कलाकार कोही ठूलो कोही सानो भन्ने होइन । सबै बराबर हो । नाटकको कलाकार गएर फिल्ममा काम गर्दा कति सजिलो भएको छ । त्यस्तै फिल्मको कलाकार आएर नाटकमा काम गर्दा पनि सबैलाई फाइदा हुन्छ ।
फिल्म गरेको मान्छेको बानी बिग्रिएको हुन्छ, नाटक गराउन अलि गाह्रो हुन्छ भन्ने भास्य छ । सरोज खनाललाई नाटक गराउन कति गाह्रो भयो ?
एकदमै सजिलो भयो । सरोज दाइ सजिलो हुनुहुन्छ । मैले दाइसँग समय, पैसा अन्य कुरा गर्दा दाइले हरेक कुरामा म नाटक गर्ने हो तपाईंले जे दिन सक्नु हुन्छ दिनुस् भन्नुभयो । उहाँलाई थाहा छ नाटकमा पैसा छैन तर समय बढी दिनुपर्छ । त्यही बढी समय दिनुपर्छ भनेर उहाँ आउनु भएको हो । मैले यसो गर्दा हुन्छ कि, त्यसो गर्दा हुन्छ कि भन्दा कहिले नाइँ भन्नु भएन । तर उहाँले कहिले काहीँ ‘अप्सनस’ चाहिँ दिनु हुन्थ्यो । यो भन्दा यस्तो चाहिँ ठीक हुन्छ की ? त्यो मैले हेर्थे अनि ठीक लागेको गर्थे । उहाँसँग मात्र नभई सबै कलाकारसँग काम गर्न निकै सजिलो भयो। एकजना भन्दा बाहेक सबैजना म भन्दा सिनियर हुनुहुन्छ। अनुप चाहिँ मेरो विद्यार्थी हो । तर यो प्ले गर्दा ऊ सँग पनि मैले धेरै कुरा सिके।
२०८२/८३ को सिजनमा बढेको मूल्यले कतिको असर पर्यो ?
वृद्धि भएको मूल्यले खाशै असर नपर्ला जस्तो लाग्छ । यो नयाँ अभ्यास पनि हो । खास बाहिर तिर यस्तो अभ्यास हुन्छ । नाटक घोषणा गर्दा प्राय मान्छेहरू पछिपछि आउने । पहिलो र दोस्रो शो भन्दा पछिल्लो शो राम्रो हुन्छ भन्ने सोच बोकेका हुन्छन् । जुन कुरा ठीक पनि हो । तर प्राक्टिस मज्जाले पुगोस् भनेर २/३ महिना अघिबाट हामीले रिहर्सल गरेका हुन्छौं । पछि आउने दर्शकको हकमा चाहिँ शो हाउसफुल हुने समस्या हुन्छ । सुरुवाती शो खाली हुँदा शोलाई निरन्तरता दिनपनि उर्जा नपुगेको जस्तो हुन्छ । यो समस्यालाई कसरी हल निकाल्ने भनेर सोच्दा कसैलाई दण्ड भन्दा पनि पुरस्कार दिएको हो । यहाँ मात्र होइन अन्यत्र पनि टिकटको रेट महंगीका कारण ढिलो चाँडो बढ्ने नै थियो । धेरै चोटि कुरा पनि उठेको छ । यो टिकट मात्र बेचेको पैसाले नाटकलाई धान्न निकै कठिन छ । नाटकलाई राष्ट्रको सहयोग आवश्यक पर्छ । तर, राष्ट्रको सहयोग छैन । धेरै दर्शकको चाहना चाहिँ कुनै कलाकारको सम्मानपूर्वक जीवन बाँच्ने आधार होस् भन्नुहुन्छ । जसको लागि टिकट रेट नबढाई सुख छैन । फिल्मको रेटमा खासमा कही पनि नाटक देखाउन सकिँदैन । फिल्मको भन्दा चर्को लागत हुन्छ । मार्केट नै फरक छ। कहिले काहीँ यो फिल्म हलको जस्तो भयो भनेर तर्क आउँछ। तर त्यस्तो तर्कमा धेरै नअल्झिउ । टिकटको रेट बढ्दै गर्दा पनि हामीले जो छिटो आउनु हुन्छ उहाँको लागि पुरस्कार दिएको हो । जसले आधा पैसामा शो हेर्न पाउँछन् । पहिले देखिबाट नै यो संयोग जस्तो भएको छ । हरेक चोटि टिकटको रेट बढाउँदा मेरै नाटक परिरहेको हुन्छ ।
अहिलेसम्म दर्शकबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
प्रिमियरमा पाएको प्रतिक्रिया एकदमै राम्रो थियो । त्यसपछिको शोमा पनि राम्रो प्रतिक्रिया प्राप्त भएको छ । यो नाटकले उठान गरेको विषयवस्तुमा विभिन्न पक्षमा छलफल भइरहेको छ । बहसले मेरो उद्देश्य पूर्ण गरेको छ । मान्छे रुँदै नाटक हेर्नु भन्दा केही चीजसँगै मनन गरेर लानु राम्रो कुरा हो । ‘सोसल न्यारेटिभ्स’ बनाउन यस्ता खालको नाटकले सहयोग गर्छ भन्ने जस्ता प्रतिक्रिया पाएको छु ।
‘मञ्जिरा’ हेर्न आउने इच्छुक दर्शकका लागि तपाईँको सन्देश के छ ? किन यो नाटक सबैले हेर्नैपर्ने हो?
यो एउटा समय पार गरेर गएको छ । त्यो समय विशेष गरी द्वन्द्व नै पार गरेर गएका छौं । नेपालकै सन्दर्भमा भन्नुपर्दा कतिलाई सम्झन पनि मन लाग्दैन होला । कति धेरै मान्छे छन् जसलाई द्वन्द्वका बारेमा थाहा छैन । जुन हाम्रो नयाँ पुस्ता यसबाट वञ्चित छन् । जसले आँखा सामु सबै सहनु भएको छ, तीतो नै भए पनि सम्झनका लागि नेपालमा यस्तो पनि भएको थियो है भन्ने बुझ्न यो आवश्यक छ । यो हेरे पश्चात् यो किन भयो त ? के का कारणले भयो त ? खास कारण के हो ? हाम्रो सोचमा कहाँ समस्या भैरहेको छ त ? भन्ने कुरा नाटकले दिन्छ । नाटक हेरे पश्चात् त्यो कुरा बुझिन्छ । अहिलेको पुस्ता त्यस्तो कुरा भोग्नलाई मेन्टल्ली र साइकोलोजिकल्ली तयार हुन्छन् । अबको हाम्रो समाज चाहिँ अझै शान्त, अझै एकअर्का प्रति भावदायी हुन्छ जस्तो लाग्छ ।
एउटा राम्रो थिएटर निर्देशक बन्न चाहने कलाकारहरूले कुन गुणहरू विकास गर्नुपर्छ ?
अध्ययन, अवलोकन, अनुसन्धान मुख्य कुरा हो। आफूलाई कलात्मक रूपमा पनि अभिव्यक्त गर्नुपर्छ। यो ४ चीज भित्र धेरै कुरा पर्छ । अध्ययन भनेको किताब मात्र होइन । समाजलाई फरक-फरक दृष्टिकोणबाट हेर्ने । आफ्नो ठाउँबाट मात्र होइन अर्काको ठाउँमा पनि उभिएर हेर्ने प्रयास गर्ने । विभिन्न कलात्मक प्रदर्शनीमा सहभागी हुने। अरूको काम पनि हेर्नुपर्छ। जसले हामीलाई प्रेरित गरोस् । मुख्य कुरा त पढ्ने नै हो ।
नेपालमा रंगमञ्चको भविष्य कस्तो देखिरहनु भएको छ ? अझ मण्डलाको भविष्य भनौं न । यसमा नै भविष्य देख्ने युवा पुस्तालाई के भन्न चाहनुहुन्छ ?
भविष्य छ ! मैले अघि भने, सुरुमा हाम्रो चाहना के हो आफूलाई बुझ्नुपर्यो । अनि मात्र कलामा मज्जाले लाग्न सक्छौं । यो क्षेत्रमा आउँदा एकदमै नाम दाम कमाउँछु भनेर आइयो भने कमाउन पनि सकिन्छ । नकमाउन पनि सकिन्छ । जसको लागि पूर्व तयारी हुनुपर्यो । फेरि यसो भन्दै गर्दा महत्वाकांक्षा नै नराख्नु भनेको होइन। महत्वकांक्षा राखेपछि मात्र पाइन्छ ।
भविष्य छ हामी लागि रहेका छौं । हिजो हाम्रो बुवा-काकाहरूको बेला अलि कम थियो होला । दाइहरूको पालामा अलि आयो होला। अहिले हाम्रो पालामा अलि बढी छ । समाज विकास हुँदैछ र यो पनि अघि बढिरहेको छ ।
धेरै जनाले रंगमञ्चमा आउँदा सिनेमामा जाने खुड्किलोको रूपमा लिन खोज्नु भएको हो की जस्तो लाग्छ । सिनेमामा जानु नराम्रो होइन । सिनेमामा पनि जानुपर्छ । तर त्यो एकदमै सजिलो छैन । प्रतिस्पर्धा छ । सानो मार्केट छ । धेरैको लगाव पनि छ । जुन एक किसिमले राम्रो हो । अर्को हिसाबले चुनौतीपूर्ण पनि हो । त्यो चुनौतीलाई म यसरी ह्यान्डल गर्छु भनेर आउनु भयो भने सजिलो हुन्छ । हामीलाई नयाँ पुस्ता चाहिएको छ । अब मैले सोचेको, बुझेकोले मात्र पुग्दैन । हाम्रो समाजको पुस्तान्तरणका लागि काम गर्दै जाँदा, सोच्दा, बुझ्दा म र म जस्ता थाक्छौं होला । त्यसपछि म अलिकति प्रतिगामी पो हुन्छु होला की ? त्यति बेला हामीलाई नै काउन्टर दिन नयाँ पुस्ता चाहिन्छ । आउनुस् स्वागत गर्छु ।
अचेल मञ्चन हुने नाटकको ‘पब्लिसिटि’ निकै कम भएको भान हुन्छ कि हुन्न ?
हो नयाँ तरिकाहरू खोज्न नसकेको । कतिपय आएको नयाँ तरिका स्वीकार गर्न नसकेको जस्तो लाग्छ । कलाकार त हो तर, कलाकार भएपश्चात् लाजशरम त पचाइसक्नु पर्ने हो । तर पनि निश्चित केही चीज हाम्रो नैतिकताले दिँदैन । त्यो नैतिकतामाथि हामीले सोच्ने बेला भएको छ । नाटक बेच्ने चीज हो कि होइन त ? अब यहाँ कस्तो परिस्थिति आउँछ जहाँ आदर्शवादी बन्नु पर्छ । होइन नाटक भनेको व्यापारमात्र होइन तर नाटक गर्नेले पनि बाँच्नु त पर्छ । घरी-घरी नाटकलाई व्यवसायिक प्रोफेसन बनाउन ठीक हो की होइन ? यो प्रश्न सधैँ आइरहेको हुन्छ र आइरहन्छ पनि । बाँच्ने हो भने त व्यवसायिक हुनुपर्यो नि । कि त अरु काम पनि गर्दै गर्नुपर्यो । अब अरू काम गर्दै गर्दा त्यो सोचेको जस्तो पूर्णता नआउन सक्छ । हामीले गरेको काम एउटा दुईटा त राम्रो होला । तर यसले गरेको काम भने पछि एउटा मानक त सधैं कायम राख्ने हुनुपर्यो । त्यसको लागि मेहनत गरेर लाग्नुपर्छ । बाँच्न पनि यसैबाट सिक्नुपर्छ । बाँच्नका लागि अझै नयाँ नयाँ चीजहरूसँग एडजस्ट हुनु पर्छ जुन सकिरहेका छैनौं । मार्केटिङ रणनीतिहरुमा अझै काम गर्नुपर्ने छ। व्यवस्थापनकै पार्टमा पनि अझै काम गर्नु पर्ने छ।
नयाँ सिजनमा दर्शकलाई आकर्षित गर्ने के कस्तो तयारी छ ?
टिकटको सिस्टम परिवर्तन पनि एउटा प्रयास हो । गुणस्तरमा ध्यान दिने। विविध खालको उत्पादनमा ध्यान दिने। अनि पहिला नै योजना बनाएर अलिकति मार्केटिङ गर्ने। दर्शकमाझ कसरी हल्ला पुर्याउन सकिन्छ ? त्यसमा काम गर्ने। विभिन्न संघसंस्था, विद्यालय, आदिसँग समन्वय गरेर जाने जस्ता रणनीति बनेका छन् । हामीले फरक-फरक समुदायको नाटक पस्किने छौं ।
अबको रंगमञ्चमा कस्ता विषयवस्तुले स्थान पाउन सक्छन् ?
त्यो चाहिँ मलाई आइडिया छैन । मलाई गर्न मन लागेको चीज गर्ने हो । गर्दा कसरी धेरै दर्शक माझ पुर्याउन सकिन्छ भनेर कोसिस गर्ने हो ।
सरकारले रंगमञ्चको भविष्य सुनिश्चित गर्न के गर्देओस् जस्तो लाग्छ ?
शिक्षामा काम गर्दियोस् जस्तो लाग्छ । पैसा नै चाहिने भन्ने होइन । वातावरण चाहिँ बनाइदिनुपर्यो । कला, संस्कृतिलाई प्रमोट गर्ने एउटा माध्यम हो थिएटर । मौलिक कला र संस्कृतिको कुरा भइरहेको हुन्छ, जुन थिएटरले जोगाउन सक्छ । बनाउन सक्छ । बचाउन सक्छ । प्रमोट गर्न सक्छ । राज्यमा भएका मान्छेहरूले यो बुझ्नुपर्यो । यहाँ के गरेको छ भन्ने कुरा आउँला । तर, यहाँ गर्नको लागि के वातावरण छ भने कुरा पनि हुन्छ । धेरै देशका अन्तर्राष्ट्रिय फेस्टिबल,नाटक गरिरहँदा नेपाली थिएटरको एउटा मानक छ भन्ने लाग्छ । त्यो बनिसकेको मानक प्राइभेट सेक्टरले गरेको छ । सरकारले गर्दै नगरेको भन्ने होइन । तर अझै सरकारले बहुआयामिक ढंगले हेरेर शिक्षामा लगानी गरे राम्रो हुन्छ ।
नाटकलाई लगानी गर्दै गर्दा धेरै कुरामा आफैं लगानी भैरहेको हुन्छ । यसले रोजगारी सिर्जना गर्छ । कलाकारलाई बाँच्न सहयोग गरिरहेको छ । कतिपय स्थानीय सरकारले बुझेर सडक नाटक गरिरहेका छन् । यो केन्द्रले बुझ्दियो भने सजिलो हुन्छ ।
नेपाली रंगमञ्चमा तपाईंले दिएको योगदानको मूल्यांकन गर्दा, तपाईं आफैँले आफूलाई कति अंक दिनु हुन्छ ?
त्यस्तो नम्बरनै दिने गरी मैले सोचेको छैन । काम गरिरहेको छु । ठ्याकै नम्बर दिने भन्दा पनि आफूलाई मन परेको गर्ने हो । हिजोको दिनमा मैले सुरु गरेको भन्दा माथि चढ्दै छु । कक्षा उक्लिदैं छु ।