
धादिङको गजुरीमा जन्मिएका सुदीप खतिवडा चितवनको भरतपुरमा हुर्किए । सानै देखि नृत्यमा रुचि भएका उनी कहिलेकाहीँ नृत्य गर्थे । गीतहरू गाउथे । नारायण घाटमा नारायणी कला मन्दिर भन्ने छ त्यहाँ कहिले काहीँ नाटक पनि प्रदर्शन हुन्थ्यो। तर उनको नृत्य विधा भएकाले नाटकमा त्यति भाग लिदैनथेँ । उमेर सँगसँगै उनलाई अभिनयमा पनि रुचि बढ्दै गयो। अभिनयमा अलि रमाइलो हुन्छ भन्ने लाग्यो ।
उनले जीवनमा सजाएको सपना चितवन बसेर पुरा हुने थिएन । उनी सपनाको पछाडि दगुरे । अनि, काठमाडौं हानिए । काठमाडौंमा कोठा लिएर बस्न थालेपछि उनले नजिकको नाटकघर खोजे । उनको कोठा नजिकै थियो मण्डला थिएटर । उनी त्यहाँ आबद्ध भएर अभिनय सिक्न थाले । अहिले उनले १० वर्ष मण्डला थिएटरमा बिताइसकेका छन् । अहिले उनी अभिनय सिक्ने मात्रै होइन सिकाउन पनि थालिसकेका छन् । मण्डला थिएटरको नाट्य सिजन २०८२/८३ मा उनले नाटक निर्देशन गरेका छन् । जुन जेठ २ गतेबाट प्रदर्शन हुँदैछ ।
मण्डलाको नाट्य सिजन २०८२/८३ को पहिलो प्रस्तुति ‘ऋतु राग’ विशेष छ । यसले बालबालिकालाई नाटकको संसारमा डुबाउने मात्र होइन, उनीहरूको मन, मस्तिष्क र स्मृतिमा स्थायी छाप छोड्ने प्रयत्न गर्नेछ। यस अनौठो, रमाइलो र शिक्षाप्रद नाटकका निर्देशक खतिवडा हुन् । जसले बालबालिकाको लागि सिर्जनात्मक रंगमञ्च तयार गर्नुपर्छ भन्ने हुटहुटीका साथ यस नाटकको निर्देशन गरेका छन् । हर समय ले लेखक तथा निर्देशक सुदीप खतिवडासँग एक विशेष भलाकुसारी गरेको छ । जहाँ नाटकको यात्रा, सिर्जना प्रक्रिया र नेपाली रंगमञ्चको भविष्यबारे कुराकानी गरिएको छ।
मण्डला थिएटरको नाट्य सिजन २०८२-८३ अन्तर्गतको पहिलो मञ्चन नाटक : ‘ऋतु राग’ कस्तो नाटक हो ?
बच्चाहरूसँग स्कूलमा नाटकहरू गरिरहेका हुन्थ्यौं । स्कुलकै बच्चाहरू लिएर नै नाटक मञ्चन गर्थेंउ । छोटो समयमा हामीले उहाँहरूलाई धेरै सिकाउन सक्दैनथ्यौं । छोटो समयमा हामीले सिकाएर राम्रो उत्पादन निकाल्न पनि कठिन नै थियो । त्यसैले हामीले सोच्यौं किन बच्चाहरूका लागि नाटक मञ्चन नगर्ने ? बच्चाहरूलाई नाटक कस्तो हुन्छ भनेर किन नचिनाउने ? बच्चाहरूकै लागि नाटक बनाउँदा कस्तो हुन्छ भन्ने मेरो मनमा उत्सुकता पनि थियो। बालबालिकाको नाटक मञ्चन गरिरहनुभएका सिनियर दाइहरूसँग छलफल गर्यौं । धेरैले धेरै सुझाव दिन्थे। मलाईचाहि बच्चाहरूले सिक्ने पनि, सन्देश पनि जाने भनेर ‘प्रकृति’ भन्ने विषय ‘क्लिक’ भयो ।
प्रकृति के सँग रिलेट छ भन्दा ऋतृसँग । ऋतृ ६ किसिमका छन्। जुन हरेक २/२ महिनामा परिवर्तन हुन्छ। अनि यो ‘ऋतु’ हरु कति अर्थपूर्ण छ भन्ने खोज्दै जाँदा झन् धेरै-धेरै देख्न र बुझ्न पाए। अलिअलि स्कूलका पाठ्यक्रमहरूमा पनि समावेश भएका, कथा कवितामा सुनिएका चीजहरू थाहा पाए । बच्चाहरूकै लागि यसमा काम गर्न सकिन्छ भन्ने लाग्यो। अनि यहीँ कथालाई अझै इन्ट्रेस्टिङ गरेर कसरी लाने सोच्दा ऋतु त हो तर खासमा यो के हो त ? के हुन्छ भन्दा वासना भने आयो । वासना भनेको त राग हो । त्यसरी चाही मलाई एउटा ‘ऋतु राग’ भन्ने प्ले बनाउन मन लाग्यो । अनि जन्मियो नाटक । यसमा आर्टिस्टहरू मञ्चमा दिपेश काफ्ले, सागर खाती कामी, प्रशंसा शिवाकोटी, रुजा राउत, उमेश दुलाल, शशांक बस्नेत, सिमोन गिरी र सुजन घिमिरे छन् । यसमा ६ वटा ऋतुमा हामीसँग ५ जना हुनुहुन्छ र एक ऋतुले चाहीँ दोहोरो भूमिका निर्वाह गर्नु हुन्छ । जसले प्रस्तुतिलाई थप चित्ताकर्षक बनाएको छ।
यो नाटकको जर्नी चाही हजुरबा र नातिनीको कथाबाट सुरु हुन्छ । एउटा घरमा उहाँहरु २ जना मात्र हुनु हुन्छ। नातिनी एकदमै उत्सुकता हुन्छ । जसको मिल्ने साथी कोही हुँदैनन्। उसको हजुरबा पनि घरमा एक्लै हुनुहुन्छ। त्यो एक्लो-एक्लो पनमा उनीहरूबीच कुराकानी हुन्छ। हाम्रो साथी चाहीँ यो प्रकृति हो भन्नेबाट सुरु हुन्छ। हजुरबाले चाहीँ नातिनीलाई ऋतुको यात्रामा लिएर जानुहुन्छ।
यो प्ले कहिलेबाट सुरु हुन्छ ?
प्ले जेठ २ गतेबाट सुरु हुन्छ र जेठ १८ गतेसम्म मञ्चन हुनेछ । यो प्ले चाही हरेक दिन बेलुका ६:३० मा सुरु हुन्छ। अतिरिक्त शो भने शनिबार दिउँसो २:३० मा छ। सोमबार शो बन्द हुनेछ। त्यो बाहेक हामीले विद्यार्थीलाई लक्षित गरेर बनाएको भएर स्कूलको बुकिङ उहाँहरूको समय अनुसार फिक्स गर्छौ। धेरै स्कूलमा प्रपोजल लिएर जाँदा , धेरैबाट सकारात्मक कुराहरू आएको छ । काठमाडौंको लगभग ३०/३२ विद्यालयमा जाँदा ७५ प्रतिशतबाट राम्रो प्रतिक्रिया आएको छ । हामी आशावादी छौं ।
एउटा सफल नाटक बनाउन सबैभन्दा महत्वपूर्ण तत्व के लाग्छ ?
पहिलो त कथा नै हो । कथा नबनी त्यसको जर्नी नै शुरु हुँदैन । म नाटक बनाउँछु भनेर मात्रै सोच्छौं । कति किताबहरू पढिराख्छौ नि । त्यो किताबबाट नाटक बनाउन के गाह्रो हो त भन्ने गर्छौं तर फेरि बनाउन त सकिँदैन। त्यसैले पनि सुरुमा लेखन र कथा नै महत्वपूर्ण हुन्छ जस्तो लाग्यो। कथा भए पश्चात् एउटा जोश बढ्दो रैछ । अब म सँग छनि त कथा । यसबाट सिर्जना गर्दै जान्छु भन्न सकिन्छ । सुरुमा म सँग पनि केही थिएन । अलि अलि स्रोतहरूबाट झिकेर खोजेर ६-७ पेजको एउटा प्ले लेखे । अहिले पूर्णतः १ घण्टा १० मिनेटको नाटक बनेको छ ।
यो निर्देशन गर्ने काम कतिको चुनौतीपूर्ण छ ? मण्डला को २०८२/८३ को पहिलो नाटक तपाई को छ, आर्थिक समस्याले कतिको चुनौती थपेको छ ?
मैले अहिले भोगिरहेको अवस्थामा सोध्नु भएको हो भने एकदमै गाह्रो कुरा हो। अब यो त मण्डलाकै प्रोडक्सन भयो । तर आफैँ गर्छु भन्नलाई सजिलो छैन। यो काम कति सन्देशमूलक छ । तर, यति गाह्रो गरेर गर्न त गाह्रो हुन्छ नि। आफ्नो आर्थिक हिसाबले सोच्नु पर्यो । कलाकारहरूलाई कति पेमेन्ट गर्ने ? डेढ देखि २ महिना समय दिनु भएको हुन्छ, सबै पाटोबाट सोच्नु पर्यो । प्ले बनाउँदै गर्दा दर्शक आउँछन् की आउँदैनन् भन्ने अर्को चिन्ता हुन्छ । किन भने अझै पनि दर्शक त्यसरी आउने बानी भएको देशमा हामी छैनौं । बाहिरको तुलनामा हामी कम रेटमा नाटक देखाउँछौं । जुन रेटले अपुग भएर २०८२/८३ को यहीँ सिजनबाट बोर्डबाट रेट पनि बढेको छ । किन नाटक हेर्न जाने भन्ने गलत सन्देश जालाकी भनेर डराइपनि रहेका छौं । केही कुराले पनि साथ नदिएको जस्तो हुँदो रैछ कस्ट्ली सोच्दा । निर्देशकको रूपमा सोच्दा कलाकार व्यवस्थापन, भूमिका र म आफैं नयाँ गर्दा ला! मैले जानिन की ? भएन की? भन्ने एउटा भय हुन्छ । तर, यहीँ नै हो सिकाई भन्ने ।
नेपाली रंगमञ्चको भविष्य कस्तो देख्नुहुन्छ ? नयाँ पुस्ताका लागि तपाईंको सन्देश के छ?
अहिलेसम्म जति पनि अग्रज हुनुहुन्छ हामीले पनि उहाँहरूबाट सिक्यौं । एउटा खालको थिएटरको दुख भोगेर आएकाहरू छौं । ५०० /१००० रुपैयाँ लिएर काम गरेको कलाकार हौं हामी पनि। अहिलेको समयमा नर्मल यति हुनुपर्छ भन्ने एक खालको तोकिएको छ। यस्ता कुराहरूले रंगमंचमा थोरै गाह्रो भने छ । तर मान्छेहरू यहीँ कुरामा आबद्ध भएर म रंगमंच गर्छु भनीराख्न पनि गाह्रो छ ।
अहिलेको समयमा कतिपय साथीहरूले यो मात्र गर्नु हुँदैन एउटा साइडमा केही राख्नु पर्छ भन्ने धेरै सुनिरहेको छु। तर त्यो भन्दा भन्दै पनि काठमाडौंलगायत अन्य ठाउँमा पनि रंगकर्मी र रंगमंच बढेका पनि छन्। यसले केही हद सम्म दुबै पाटोलाइ ब्यालेन्स गरेर लान्छ की भन्नेमा आशावादी छु। तर भोलि को दिनमा सजिलो कुरा भने होइन । भोलि खत्रा भएर जान्छ भनेर देख्न त सकिदैंन । तर नियमित लगन र अठोट भए अवश्य सफलता हात पार्न सकिन्छ। यो एउटा सम्भावना बोकेको विधा पनि हो। म पनि पोजेटिभ भएर यही गर्छु भन्ने अठोट बोकेको छु ।
एउटा राम्रो थिएटर निर्देशक बन्न चाहने कलाकारहरूले कुन गुणहरू विकास गर्नुपर्छ?
म पनि भर्खरै सिक्दै छु। तर अहिले मैले गरी राख्दा आएका चुनौतीहरूलाई हेरेर भन्नु पर्दा त्यो आफ्नो टिमलाइ बाँधेर राख्नु पर्ने क्षमता हुनुपर्छ। काम गर्दै जाँदा कहिले काहीँ कलाकारहरू अल्छी भैदिनु हुन्छ । उहाँहरुलाइ रुझाएर, भोगेका कुरा सुनाएर, बुझाएर, फकाएर रामो पर्फर्मेन्समा जोड दिन सक्नुपर्छ। रंगमंचको निर्देशनको कुरा गर्दा मैले यत्रो समय लगभग दर्जनौं भन्दा माथि नाटक गरे। आफूले देखिन्छ नि निर्देशकले कसरी गराएको हो भनेर। आफूले बटुलेको अनुभव लिएर यहाँसम्म आइपुग्दा म पनि सक्छु की भनेर गरियो ।
तर कोही साथीहरू आउने बित्तिकै म नाटक बनाउँछु, लेख्छु , निर्देशन गर्छु भनेर छोटो समयमा लागिपरेको देख्छु। कतिले गर्नु भएको पनि छ । तर कम्तीमा केही समय चाहीँ लिनुपर्छ होला। म नाटक बनाउन तयार छु की छैन भन्ने कुरा मनन गर्नुपर्छ । आज झन्डै दशक नाटक गर्दा मलाई अझै कति कुरा थाहा छैन रैछ। पहिला एक्सपेरियन्स गर्नु भएको साथीहरूको सल्लाह लिइरहेको छु। यसमा मजाले इमानदार भएर समय बिताउनु भयो भने तपाईंमा निर्देशन गर्ने व्यक्तित्व आफैँ विकास हुन्छ होला ।
‘ऋतु राग’ हेरेपछि बालबालिकाले के पाउँछन्?
सुदीप हाँस्दै भन्छन्, यो नाटक हेरेपश्चात कुनै बालकले उसले वर्षौ नपढेको कुरा चाहीँ याद राख्नसक्छ । जेठ २ बाट लाग्ने यो प्ले रंगमंचबाट विद्यार्थीहरूलाई भनेर पस्किने नाटक मध्ये हरूको एक हो । यस्ता प्ले कमनै निर्माण हुने गर्छन । एउटा मिठो अनुभव र 'लर्न विथ फन' का निम्ती भएपनि एकपटक नाटक हेर्न सुझाव दिन्छु ।