-1760498195.jpg)
भ्रमहरू टुटे, आवाजहरू हराए,
आँधी शान्त भयो, मनले मौन सिक्यो ।
पहिलेजस्तो रङ्गीन सपना अब छैनन्,
तर एक किसिमको शान्ति जन्मिएको छ,
न शब्दको, न अपेक्षाको,
बस आत्माको स्थिरता जस्तो ।
एक समय थियो,
आँखा हर सपना पछ्याउँथ्यो,
आशाका पातहरूमा
हर्षका बिन्दुहरू खोजी हुन्थ्यो ।
तर ती सबै बिन्दु
धुलो बनेर उडे,
बाँकी रह्यो केवल अनुभव
असली सुन्दरता त भित्रै रहेछ।
अब मेरा आँखाहरू
सपना खोज्दैनन्,
तिनीहरू भोग्छन् जीवन,
जस्तो छ त्यस्तै, बिना गुनासो।
न हिजोको मोह, न भोलिको भय,
बस आजको न्यानोपनमा
आफूलाई भेट्ने यात्रा चलिरहेछ।
भ्रमहरू टुटेपछि
जीवन त अझ सुन्दर भएको छ,
देखिरहेछु
सुख र दुःख दुवै शिक्षक हुन्।
एकले सिकाउँछ मूल्य,
अर्काले अर्थ।
आज म
तिम्रो मुस्कानसॅंग
धेरै बुझिसकेँ,
हर एक बिन्दु
नयाँ भेटको पूर्वाधार रहेछ ।