Harsamaya
दुर्घटनामा सेनामा कार्यरत सिन्धुपाल्चोकका दिनेशको मृत्यु, तीन घाइते
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

नवलपरासी - नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । 

दुर्घटनामा परी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ घर भई हाल नेपाली सेनाको श्री नयाँ गोरख गण राष्ट्रिय निकुञ्ज कसरा चितवनमा कार्यरत सिपाही २६ वर्षीय दिनेश गिरीको मृत्यु भएको हो ।
  
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तपूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार नारायणगढबाट कावासोतीतर्फ आउँदै गरेको बाप्र ०२–०१६ प ९६१८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको लुप्र ०१–०११ प ९९९१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

ठक्करपछि सडकमा पल्टिएको बाप्र ०२–०१६ प ९६१८ नम्बरको मोटरसाइकलका चालक नेपाली सेनाका सिपाही दिनेश गिरीलाई पछाडिबाट आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिएको  प्रहरी उपरीक्षक खड्काले बताए । 

दुर्घटनामा गम्भीर चोट लागेका गिरीलाई उपचारका लागि देवचुली नगर अस्पताल दुम्कौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा लुप्र ०१–०११ प ९९९१ नम्बरको मोटरसाइकलका चालक रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ का ३४ वर्षीय रोहन पन्थी, सोही मोटरसाइकलमा पछाडि सवार रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ का २५ वर्षीय अमृत आचार्य र बाप्र ०२–०१६ प ९६१८ नम्बरको मोटरसाइकलमा पछाडि सवार रामेछापको मन्थली नगरपालिका–७ का २६ वर्षीय डम्बरबहादुर माझी घाइते भएको प्रहरीले जनाएको छ ।

 घाइते माझी पनि नेपाली सेनाको श्री नयाँ गोरख गण राष्ट्रिय निकुञ्ज कसरा चितवनमा कार्यरत सिपाही रहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, जेठ १४, २०८३  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update