भक्तपुर - भक्तपुरको मध्यपुर ठिमीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने ५१ वर्षीया गीता तिमल्सिना रहेकी छन् ।
उनी काठमाडौंको शंकरापुर नगरपालिकाको पशु सेवा शाखामा कार्यरत कर्मचारी रहेको खुलेको छ ।
प्रहरीका अनुसार २०८३ कार्तिक १९ गते बिहान ७ः३० बजे मध्यपुर ठिमी नगरपालिका–१ मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्प अगाडि दुर्घटना भएको हो ।
आँखा अस्पतालबाट बाटो क्रस गरी लोकन्थलीतर्फ आउँदै गरेको बा.प्र.०२-००१ ब ३०१८ नम्बरको मोटरसाइकल र जडीबुटीबाट लोकन्थलीतर्फ आउँदै गरेको गण्डकी प्रदेश ०४-००१ ख ००४५ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएकी तिमल्सिनालाई उपचारका लागि भक्तपुर इन्टरनेसनल अस्पताल, कौशलटार लगिएको थियो । उपचारकै क्रममा बिहान ७ः५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मृतकको शव पोस्टमार्टमका लागि दिउँसो १२ बजे केएमसी अस्पताल, दुवाकोट लगिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन र ट्रक चालक पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–८ का ३० वर्षीय राजकुमार महत्तोलाई प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

