काठमाडौं - नेपालस्थित चिनियाँ राजदूतावासले केही नेपाली सञ्चारमाध्यमका पत्रकारलाई एक चिनियाँ नागरिकले केही नेपाली नेताविरुद्ध नकारात्मक समाचार बनाउन घुस दिन खोजेको भन्ने सामाजिक सञ्जालमा फैलिएको हल्लाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
दूतावासका प्रवक्ताले जारी गरेको वक्तव्यमा उक्त आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै चीनविरुद्ध जानाजानी दुष्प्रचार गरिएको बताएका छन्। ‘चीनले सधैं अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तलाई पालना गर्दै आएको छ,’ वक्तव्यमा भनिएको छ।
दूतावासले चीनले नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको संरक्षणमा निरन्तर समर्थन गर्दै आएको तथा नेपालको राजनीतिक स्थायित्व, आर्थिक विकास र जनजीविकाको सुधारमा सहयोग गरिरहेको उल्लेख गरेको छ।
साथै, उक्त विषयमा नेपालका सम्बन्धित निकायले गम्भीर, गहिरो र निष्पक्ष अनुसन्धान गर्नुपर्ने तथा संलग्न व्यक्ति र योजनाकारलाई नेपाली कानुनअनुसार कडा कारबाही गर्नुपर्ने माग पनि गरिएको छ।
दूतावासले नेपालसँग कानून कार्यान्वयन तथा सुरक्षा सहकार्य अझ सुदृढ गर्न चीन तयार रहेको उल्लेख गर्दै ‘हल्लाको अन्त्य विवेक र सत्यले गर्नुपर्छ’ भन्ने धारणा व्यक्त गरेको छ।
साथै, नेपाली जनता सत्य र असत्य छुट्याउन सक्षम रहेको र चीन–नेपालबीचको परम्परागत मित्रता तथा सहकार्यलाई अझ मजबुत बनाउन सहकार्य जारी रहने विश्वास पनि व्यक्त गरिएको छ।
केहि समयअघि जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई एक चाइनिजले फोन गरेर निवर्तमान गृहमन्त्री सुधन गुरुङकाबारे नकारात्मक समाचार लेख्न फोन सम्वाद गरेको कुरा बाहिर आएको थियो ।

