सिन्धुपाल्चोक - नेपाली कांग्रेस सिन्धुपाल्चोकका जिल्ला प्रवक्ता नवराज भट्टराई इन्द्रावती गाउँपालिका–१० बाट क्षेत्रीय प्रतिनिधि बन्नबाट वञ्चित भएका छन्।
शनिबार सम्पन्न वडा अधिवेशनमा पेशागत विज्ञतर्फको क्षेत्रीय प्रतिनिधि कोटामा भट्टराई र बद्री भट्टराईको उम्मेदवारी परेको थियो। अन्य पदमा सर्वसम्मत नेतृत्व चयन भए पनि उक्त कोटामा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो।
निर्वाचन अधिकृत रामशरण भट्टराईका अनुसार दुवै उम्मेदवारलाई आइतबार बिहान १० बजेसम्म उपस्थित हुन भनिएको थियो। निर्धारित समयमा दुवै जना उपस्थित भए निर्वाचन गरिने र एक जना मात्रै उपस्थित भए सोहीअनुसार प्रक्रिया अघि बढाइने बताइएको थियो।
जिल्ला प्रवक्ता नवराज भट्टराईले भने आफूलाई क्षेत्रीय प्रतिनिधि बन्नबाट रोक्न सबै पक्ष लागेको आरोप लगाउँदै निर्वाचन प्रक्रियामा सहभागी नहुने बताएका छन्।
यस्तै, खस आर्य कोटामा समेत सहमति जुट्न नसकेपछि वडा–१० का निवर्तमान सभापति छविरमण आचार्यले पनि निर्वाचनमा सहभागी नहुने बताएका छन्। यससँगै आचार्य पनि क्षेत्रीय प्रतिनिधि बन्नबाट वञ्चित हुने भएका छन्।

